जेन–जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । तर उम्मेदवारको सूची हेर्दा भने पाका उमेरकै उम्मेदवारको बाहुल्य देखिएको छ ।
What you should know
काठमाडौँ — मतदाताहरूको आकर्षण ‘मिड करिअर लिडरसिप’ प्रति बढी देखिएको छ । ३५–४५ वर्ष उमेर समूहका उम्मेदवारप्रति ६० प्रतिशतभन्दा बढी मतदाताले रुचि देखाएका छन् । ६० वर्षभन्दा माथिका उम्मेदवार मतदाताको रोजाइमा अत्यन्तै कम छन् । १.७ प्रतिशत मतदाताले मात्रै ६० वर्षभन्दा माथिको उम्मेदवारप्रति आफ्नो रुचि प्रकट गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा भएको मत सर्वेक्षणले यस्तो तथ्यांक देखाएको हो ।
त्यस्तै, ३५ वर्षभन्दा कम उमेरका उम्मेदवारप्रति पनि मतदाताको रुचि उत्साहजनक छैन । ११.२ प्रतिशत मतदाताले उक्त उमेर समूहका उम्मेदवारप्रति रुचि देखाएको पाइएको छ । आसन्न निर्वाचनका लागि देशभरबाट ३४ सय ६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । भदौमा भएको जेन–जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । तर उम्मेदवारको सूची हेर्दा भने पाका उमेरकै उम्मेदवारको बाहुल्य देखिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आममतदातामा उत्साह देखिएको छ । एक महिना लगाएर गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा ८४ प्रतिशत मतदाताले मतदान गर्ने चाहना व्यक्त गरेका छन् ।
सर्वेक्षणका लागि ४५ जिल्लाका १ सय २ पालिकाका १ सय १६ वडालाई छनोट गरिएको थियो । त्यहाँका २९ सय ५ जनासँग अन्तर्वार्ता गरेर उनीहरूले दिएको उत्तरका आधारमा सर्वेक्षण रिपोर्ट तयार गरिएको छ । १७ पुसदेखि १७ माघ एक महिनाको अवधि चलेको सर्वेक्षणमा १९ समूहमा ३८ गणक परिचालन गरिएको थियो । अन्तर्वार्ताका लागि १८ देखि ७० वर्षका नेपाली नागरिकलाई छनोट गरिएको थियो ।
मतदान गर्ने निश्चित र चाहना भएका उत्तरदाताको संख्या ८३.६ प्रतिशत छ । ६.४ प्रतिशतले सर्वेक्षण अवधिमा निर्णय गरिनसकेको बताएका छन् । त्यस्तै ६.४ प्रतिशतले मात्र मतदान नगर्ने नै बताए भने ३.२ प्रतिशतले मतदान नगर्ने सम्भावना रहेको बताएका छन् । ०.४ प्रतिशतले भने उत्तर दिन चाहेनन् ।
सर्वेक्षणमा सहभागी उमेर पुगेका १४.६ प्रतिशतले मतदाता परिचयपत्र नै नभएको जवाफ दिएका छन् । १८–२० वर्ष उमेर समूहका उत्तरदातामध्ये ६४ प्रतिशतसँग मतदाता परिचयपत्र छैन ।
२१–२९ वर्ष उमेर समूहका २९ प्रतिशतले मतदाता परिचयपत्र नभएको बताएका छन् । यसरी हेर्दा यस पटक मतदानका लागि योग्य भए पनि सरकार र निर्वाचन आयोगको पूर्वतयारी तथा राजनीतिक दलहरूको पहल कम भएकाले ठूलो संख्यामा युवा मतदाता छुटेका छन् । सर्वेक्षणमा सहभागी पुरुषभन्दा दोब्बर महिलासँग मतदाता परिचयपत्र छैन ।
८.३ प्रतिशत पुरुष र २०.७ प्रतिशत महिला उत्तरदाताले आफू मतदाता सूचीमा नरहेको बताए । मताधिकार उपयोग गर्ने अवस्थामा पनि महिलाभन्दा पुरुष नै बढी छन् ।
५०.६ प्रतिशत महिला उत्तरदाताले ‘अवश्य पनि’ मतदान गर्ने बताउँदा यस्ता पुरुषको प्रतिशत ६७.८ छ । यसपालि मतदान गर्ने तयारीमा रहेका १६.४ प्रतिशत उत्तरदाताका लागि यो निर्वाचन पहिलो हो । ७० प्रतिशत मतदाताले भने दुई पटक मतदान गरिसकेका छन् । त्यस्तै ४७.५ प्रतिशतले तीन वा सोभन्दा बढी पटक मतदान गरेको जनाएका छन् ।
