कान्तिपुर र सेयरकास्ट इनिसिएटिभको सहकार्यमा १०२ पालिकाका ११६ वडामा १८ देखि ७० वर्षका नागरिकसँग वैज्ञानिक विधिबाट अन्तर्वार्ता लिएर सर्वेक्षण गरिएको हो ।
What you should know
काठमाडौँ — नेपालको समसामयिक सामाजिक, आर्थिक र राजनीतिक विषयमा नागरिकको धारणा’ सम्बन्धी सर्वेक्षणमा देशभरिबाट करिब २९०५ जनासँग प्रत्यक्ष भेटघाट गरी अन्तर्वार्ता गरिएको छ ।
सर्वेक्षणमा सहभागी उत्तरदाताको छनोट गर्दा सात वटै प्रदेशको घरपरिवार संख्याको अनुपातका आधारमा उत्तरदाताको संख्या (स्याम्पल) वितरण गरिएको छ । विगत ६ महिनादेखि एउटै घरमा एकाघरपरिवारका सदस्यका रूपमा बसोबास गर्दै आएका र एउटै भान्सामा खाना खाने सदस्यहरूलाई घरपरिवारका रूपमा गणना गरिएको छ ।
अन्तर्वार्तामा सहभागी हुने घरपरिवार र उत्तरदाताको संख्या वितरण गर्दा गाउँपालिका, नगरपालिका र महानगरपालिकामा बसोबास गर्ने कुल घरपरिवार संख्याको अनुपातका आधारमा वितरण गरिएको छ । सर्वेक्षणका लागि जिल्ला र पालिकाको छनोट पीपीएस (प्रोब्याबिलिटी प्रोपर्सन टु साइज) विधिका आधारमा गरिएको छ ।
सर्वेक्षणका लागि ४५ जिल्लाका १०२ पालिकाहरूबाट ११६ वटा वडाहरू छनोटमा परेका छन् । घरपरिवारको छनोट गर्दा छनोटमा परेको वडामा पुगेपछि कुनै एउटा चोकलाई ‘र्यान्डम्ली’ छनोट गरी सो चोकबाट दायाँतर्फ पर्ने घरहरूलाई छनोट गरिएको छ । छनोटमा परेको टोलबाट गाउँपालिकामा ९० घरपरिवार, नगरपालिकामा १२० घरपरिवार र महानगरपालिकामा १५० घरपरिवारको सूची तयार पारिएको थियो । सूचीमा परेका घरपरिवारमध्ये कुन घरमा अन्तर्वार्ता गर्ने भन्ने निर्क्योल गर्नका लागि छनोटमा परेका वडामा सूचीमा परेका कुल घरपरिवारलाई २५ ले भाग गर्दा आउने संख्या जति हुन्छ, त्यति घरपरिवारको अन्तरालमा पर्ने २५ घरपरिवारमा मात्र अन्तर्वार्ता गरिएको छ ।
अन्तर्वार्ताका लागि छनोटमा परेका घरपरिवारमा कम्तीमा ६ महिना बसोबास गरेका १८ देखि ७० वर्षका नेपाली नागरिक जसले गणकले भनेको कुरा सुन्न, बुझ्न र जवाफ फर्काउन सक्छन्, उनीहरूलाई मात्र सम्भावित उत्तरदाताको सूची निर्माण गरिएको छ । घरपरिवारबाट कुन सदस्यसँग कुराकानी गर्ने भन्ने निर्क्योल गर्नका लागि ‘किस ग्रिड’ विधिको प्रयोग गरिएको छ । यो विधिबाट छानिएका सदस्यसँग कुराकानीका लागि पूर्वस्वीकृति लिएर मात्र अन्तर्वार्ता गरिएको छ । घरमा जुन सदस्य भेटियो, उनीसँग वा बाटोमा जो मानिससँग भेट भयो, उहीसँग नै अन्तर्वार्ता गरिएको छैन । अनुसन्धानको वैज्ञानिक विधिबाट छनोटमा परेका सदस्यसँग मात्र अन्तर्वार्ता गरिएको छ ।
सर्वेक्षणका क्रममा स्थलगत अन्तर्वार्ताका लागि पुस १७ देखि माघ १७ सम्म २/२ जनाको १९ वटा समूह बनाई ३८ जना गणकहरू परिचालन गरिएको थियो । सर्वेक्षणको त्रुटिको सम्भावना (मार्जिन अफ इरर) जम्मा +/–५ प्रतिशत रहेको छ । अन्तर्वार्ताका लागि सोधिने प्रश्नहरू र उत्तर ‘ओपन डाटा किट सफ्टवेयर’ को प्रयोग गरी मोबाइल/ट्याब्लेटमा प्रविष्ट गरिएको थियो । तथ्यांकको गुणस्तरीयता सुनिश्चितताका लागि अन्तर्वार्तामा छनोटमा परेका प्रत्येक घरपरिवारको जीपीएस, स्थलगत अवलोकन, स्थलगत प्रशिक्षण तथा पृष्ठपोषण गरिएको छ । साथै करिब १५ प्रतिशत अन्तर्वार्ताको पुनः परीक्षण गरिएको छ भने प्रतिगणक अन्तर्वार्तामा योगदानलाई जम्मा २.६ प्रतिशतमा मात्र सीमित गरिएको छ । प्रदेश र पालिकामा उत्तरदाता छनोट गर्दा २०७८ को जनगणनाको वास्तविक अनुपातका आधारमा गरिएको छ भने लैंगिक छनोटसमेत जनगणनाको अनुपातका आधारमा नै रहेकाले यी भेरिएबलहरू ‘सेल्फ वेटेड’ छन् ।
सर्वेक्षणको तथ्यांक विश्लेषण सेयरकास्ट इनिसिएटिभका मधु आचार्य र भूमिराज चापागाईंले गरेका हुन् । कान्तिपुर र सेयरकास्ट इनिसिएटिभको सहकार्यमा 'राष्ट्रिय जनमत मत सर्वेक्षण-२०८२' गरिएको हो ।
यसरी गरियो सर्वेक्षण
सर्वेक्षणमा ४५ जिल्ला, १०२ पालिका, ११६ वडाका २९ सय ५ जना सहभागी थिए ।
सर्वेक्षणका सीमाहरू
१. उत्तरदाताले अन्तर्वार्ताका क्रममा दिएको जवाफलाई नै अन्तिम जवाफका रूपमा रेकर्ड गरिएको छ ।
२. उत्तरदाताका सामाजिक, आर्थिक तथा राजनीतिक पृष्ठभूमि वा आबद्धताका कारण जवाफमा पक्षधरता उत्पन्न भएको पनि हुन सक्दछ । उत्तरदाताको जवाफको निष्पक्षताको मापनका लागि सर्वेक्षणमा सोधिएका पूरक प्रश्नहरूबाहेक अन्य खालको नियन्त्रण समावेश गरिएको छैन ।
३. उत्तरदाताको व्यक्तिगत, पारिवारिक, सामाजिक तथा आर्थिक अवस्था र तीबीचको सम्बन्धको प्रभावले जवाफलाई प्रभावित गरेको हुन सक्दछ, सर्वेक्षणले कुन–कुन प्रश्नहरूमा कस्तो प्रभाव परेको हुन सक्दछ भनी विश्लेषण गरिएको छैन ।
४. सख्यात्मक अनुसन्धानले कतिपय अवस्थामा मानिसका सामाजिक, व्यवहारजन्य कुराहरू र गुणात्मक पक्षको सही प्रतिनिधित्व नगर्न पनि सक्दछ । नतिजाहरूको कारणको चुरोसम्म पुग्नका लागि अतिरिक्त गुणात्मक अध्ययन जरुरी हुन सक्दछ । यस सर्वेक्षणले गुणात्मक पक्षलाई समेटेको छैन ।
५. पुस–माघ महिनाको सामान्य अवस्थामा सर्वेक्षण गरिएकाले असामान्य वा फरक सामाजिक वा राजनीतिक अवस्थामा आउने वा आउन सक्ने नतिजालाई यस सर्वेक्षणले प्रक्षेपण गर्दैन ।
६. सर्वेक्षणले ४५ जिल्लाका १०२ पालिकाबाट ११६ वडाहरूमा बसोबास गर्ने २९०५ जना उत्तरदाताहरूले दिएको जवाफलाई नै प्रतिनिधिमूलक जवाफका रूपमा ग्रहण गरिएको छ ।
७. यो तथ्यांकले १८ वर्षभन्दा कम र ७० वर्षभन्दा माथि उमेरका साथै विदेशमा बसोबास गर्ने नेपालीहरूको प्रतिनिधित्व गर्दैन ।
