निर्वाचन प्रहरी : सर्वसाधारणका घरपरिवारमा पुग्दै छ ७ अर्ब

४० दिन राष्ट्रको सेवा गरेर ४६ हजार ८२२ रुपैयाँका दरले प्राप्त हुने रकमले १ लाख ४९ हजार ९० परिवारलाई आर्थिक रूपमा पनि भरथेग गर्नेछ ।

माघ २०, २०८२

शिव पुरी, विप्लव महर्जन, मेनुका ढुंगाना, मातृका दाहाल, रामप्रसाद चौहान 

Election Police: Rs. 7 billion reaching households of the general public

What you should know

काठमाडौं, रौतहट, अछाम, बर्दिया र सल्यान — सिन्धुली भिमानकी २२ वर्षीया दिलकुमारी खड्काले प्रहरीमा भर्ती हुन गत वर्ष आवेदन दिए पनि सफल हुन सकिनन् । १२ कक्षा उत्तीर्ण उनी नेपाल प्रहरी वा सशस्त्रमा जुनमा आवेदन खुले पनि फेरि दरखास्त दिने तयारीमा छिन् ।

परिवारमा आमा, ५ दिदीबहिनी र एक भाइमध्ये उनी साहिँली छोरी हुन् । जेठी दिदी सृजना नेपाल प्रहरीमै कार्यरत छिन् । बहिनी पनि प्रहरीमै भर्ती होस् भन्ने सृजना र परिवारको चाहना छ । यतिखेर दिलकुमारी निर्वाचन प्रहरीमा छनोट भएर आधारभूत तालिम लिइरहेकी छन् । अर्को साताबाट पुल्चोक क्षेत्रमा प्रहरीसँगै परिचालन हुने तयारीमा छिन् ।

‘१२ पास गरेकी छु, घरको आर्थिक अवस्था त्यति राम्रो छैन, विदेश जान पनि मन लागेन, प्रहरीमा भर्ना खुलेका बेला सिन्धुली दुधौलीमा दरखास्त दिए पनि सफल हुन सकिनँ, अझै १ वर्षभित्र आवेदन खुल्यो भने प्रतिस्पर्धा गर्ने सोचमा छु,’ जिल्ला प्रहरी परिसर ललितपुरबाट तालिम लिइरहेकी दिलकुमारीले भनिन्, ‘निर्वाचन प्रहरीमा भर्ना खुल्यो, आवेदन दिएकी थिएँ, छनोट पनि भएँ, अब तोकिएको क्षेत्रमा खटिएर इमान्दारीका साथ जिम्मेवारी पूरा गर्छु ।’

कैलालीको हसुरियाका ४४ वर्षीय छोटेलाल चौधरी पूर्वसैनिक हुन् । ७ वर्षअघि सेनाबाट स्वैच्छिक राजीनामा दिएर पेन्सनमा निस्किएका उनी श्रीमती र एक छोरासहित कीर्तिपुर टौदहमा बस्छन् । 

करिब २ दशक सेनामा बिताएका उनी निर्वाचन प्रहरीमा भर्ना भएर कीर्तिपुर क्षेत्रमा खटिने तयारीमा छन् । ‘सेनाबाट पेन्सन पकाएर निस्किए पनि फौजी जीवनशैली कहाँ रिटायर्ड हुँदो रहेछ र,’ आधारभूत तालिममा रहेका उनले भने, ‘देशमै परिवारसँग बसेर आफूले जानेको काम गर्ने सोचमा थिएँ, निर्वाचन प्रहरीमा भर्ना खुल्यो, आवेदन दिएँ, नाम पनि निस्कियो ।’ सरकारले दिलकुमारी र छोटेलालसहित करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गरिसकेको छ । 

Election Police: Rs. 7 billion reaching households of the general public

२५ पुसदेखि ३ माघसम्ममा आवेदन खुलाइएकामा करिब २ लाख जनाको दरखास्त परेको थियो । १८ देखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीमा छनोट भएर आइतबारदेखि आधारभूत तालिममा छन् । नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र  प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० जना निर्वाचन प्रहरी छन् ।

निर्वाचन सुरक्षार्थ सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी १ लाख ९० हजार जनशक्ति परिचालन हुँदै छन् । उनीहरू मातहत रहेर खटिने निर्वाचन प्रहरीलाई सरकारले ४० दिन कार्यअवधि तोकेर प्रहरी जवानको आधारभूत सेवा सुविधा बराबरकै पारिश्रमिक, पोसाक, रासन, खाजा र यातायात खर्च दिइनेछ । 

गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीका लागि प्रतिव्यक्ति प्रतिदिन ८६९.४० रुपैयाँका दरले एक जनाले ४० दिनको एकमुष्ट ३४ हजार ७ सय ७६ रुपैयाँ पाउँछन् । पोसाक र दैनिक रासन भत्ता पनि पाउँछन् । रासन भत्ता हिमाली, पहाडी, तराई र उपत्यकामा जिल्लाअनुसार दररेट फरक छ । सरदरमा ४० दिनको ६ हजारसम्म हुन आउँछ । रासन र पोसाक भत्ता प्रतिव्यक्ति १० हजार रुपैयाँ रहेको छ । मतदान अघि र पछिका ४ दिनलाई प्रतिव्यक्ति ३ सयका दरले एकमुष्ट १२ सय रुपैयाँ पनि उपलब्ध गराइनेछ । खटिएको ठाउँमा जान र फर्कन यातायात खर्च प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ दिइनेछ । 

यस पटक सबैभन्दा बढी मधेशमा २७ हजार ६ सय ७८ जना निर्वाचन प्रहरी खटाइँदै छ । खुला सीमा, उम्मेदवारबीच हुने अस्वस्थ प्रतिस्पर्धा, अन्य सुरक्षा चुनौतीलगायतलाई ध्यानमा राखेर नियमित जनशक्ति र निर्वाचन प्रहरी मधेशमा बढी खटाउन लागिएको हो । त्यसपछिको ठूलो संख्या कोशीमा रहेको छ । कोशीमा २२ हजार ९ सय १ निर्वाचन प्रहरी परिचालन हुनेछन् । यसैगरी लुम्बिनीमा २१ हजार ६ सय ६७, बागमतीमा १५ हजार ८ सय ८, सुदूरपश्चिममा १३ हजार ५ सय २, गण्डकीमा १२ हजार ९ सय ७, कर्णालीमा ९ हजार ६ सय ५४ र उपत्यका (काठमाडौं, ललितपुर तथा भक्तपुर) मा ६ हजार ३ सय ६९ निर्वाचन प्रहरीलाई खटाइने तयारी छ ।

Election Police: Rs. 7 billion reaching households of the general public

समाजशास्त्री गणेश गुरुङ निर्वाचन प्रहरीलाई केवल चुनाव सुरक्षाका लागि भर्ना भएका आवधिक सुरक्षाकर्मीका रूपमा मात्र हेर्न नहुने बताउँछन् । आर्थिक आयआर्जन/रोजगारी, अनुशासित फौज उत्पादन, राष्ट्र सेवा, समाज सेवालगायत धेरै पक्षबाट हेरिनुपर्ने उनको बुझाइ छ । भन्छन्, ‘भोलिका दिनमा सामाजिक अपराध रोकथाम तथा नियन्त्रण र सरकारी संयन्त्र–नागरिक तह सेतुका रूपमा रहेर पनि निर्वाचन प्रहरीलाई सदुपयोग गर्न सकिन्छ ।’

निर्वाचन प्रहरीमा भर्ती र सेवालाई अनेक पक्षबाट मूल्यांकन गरिनुपर्ने गुरुङ ठान्छन् । ‘पहिलो, देशमा बेरोजगार जनशक्तिको एउटा सतही सूचकका रूपमा यो संख्यालाई हेर्न सकिन्छ, दोस्रो छोटै समय भए पनि राज्यबाट प्राप्त रोजगारीको अवसर हो, तेस्रो देशको सेवा गर्ने मौका हो, चौथो समाजमा अनुशासित जनशक्तिको विकास हो र पाँचौं भनेको डेढ लाख जनशक्तिका परिवारले ८/१० अर्ब रुपैयाँ परिचालन गर्ने अवसर पाएको छ,’ उनी भन्छन्, ‘विदेशमा सुरक्षा गार्डका रूपमा काम गर्न जाने अवसर पाउँदा सरकार मातहतको निर्वाचन प्रहरीमा काम गरेको प्रमाणपत्रले ठूलो मान्यता राख्छ ।’

Election Police: Rs. 7 billion reaching households of the general public

गुरुङ ‘निर्वाचन प्रहरी परिचयपत्र’ उपलब्ध गराएर सरकारले समाज सेवा दूतका रूपमा सदुपयोग गर्न सक्ने र त्यसका लागि बृहत् ‘भिजन’ सहितको खाका तर्जुमा गर्न आवश्यक रहेको बताउँछन् । ‘समाजमा अपराध हुँदा प्रहरीले थाहा पाएको रहेनछ भने निर्वाचन प्रहरीका रूपमा काम गरेका जनशक्तिमार्फत सूचना लिन सकिन्छ, समाजमा झैझगडा हुन नदिन, अपराध रोकथाम र नियन्त्रण गर्न अपनाइने उपायमा पनि परिचालन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘एक पटक राष्ट्र सेवा गरिसकेको जनशक्तिलाई देशप्रतिको मायाले सधैं सोच्न बाध्य पार्छ, यो जनशक्ति अनुशासित फौजका रूपमा रहन सक्छ, यसलाई भिजनसहितको कार्यक्रम ल्याएर सदुपयोग गर्न सकिन्छ ।’

तन्नेरीदेखि ‘बाजे’ सम्म निर्वाचन प्रहरी

अछामको मंगलसेन–५ का टंकप्रसाद ढुंगाना १८ वर्षको उमेरमा पहिलो पटक ०४८ मा ‘म्यादी’ प्रहरीमा भर्ती भएका थिए । ३४ वर्षपछि पनि उनी निर्वाचन प्रहरीमा भर्ती भएका छन् । ‘निर्वाचनका बेला भर्ती गरिने अस्थायी प्रहरीलाई पहिले म्यादी भनिन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचन प्रहरी भन्छन् ।’ बहुदलदेखि जेन–जीकालसम्म उनले देखेको परिवर्तन यिनै शब्द हुन् ।

पहिलो पटक भर्ती हुन जाँदा आमा–बुबाले दहीचामलको टीका लगाएर बिदाइ गरेका थिए । यस पटक तीन नाति–नातिनाले घर आउँदा ‘मिठाई ल्याइदिनु है बाजे’ भनेर पठाए । ‘अहिलेसँगै तालिम लिनेले पनि बाजे भन्छन्,’ उनले सुनाए, ‘म्यादी जीवनमा थुप्रै छोरा–नाति उमेरका साथी बनेका छन् ।’ परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराछोरी चुनावका बेला घरमै बस्न आग्रह गर्छन् । जेठा छोरा पनि पढाइ पूरा गरेर घरमै छन् । कान्छा छोरा इन्जिनियरिङ पढिरहेका छन् । 

‘दुई छोरीबाट तीन नाति–नातिना छन्,’ उनले भने, ‘उनीहरूले पनि अब म्यादी प्रहरी बन्न पर्दैन भन्छन् ।’ 

यस पटकको निर्वाचनमा आफ्नो ‘म्यादी’ यात्राको अन्तिम भर्ती हुने उनले बताए । ‘नियमले ५४ वर्षको उमेरसम्म पाइने भएकाले यस पटक पनि अवसर गुमाइनँ, मैले कति पटक जोखिम मोलेर मतपत्र जोगाएँ,’ उनले भने, ‘देशले मलाई कति सम्झन्छ ? त्यो समयले बताउला ।’

अहिलेसमेत १० पटक ‘म्यादी प्रहरी बनेका ढुंगाना तीन दशकका राजनीतिक घटनाक्रमको साक्षी बनेका छन् । हरेक चुनावमा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा खटिने ढुंगानाले चुनावी गतिविधि नजिकबाट नियालेको बताए । उनी २९ वैशाख ०४८ मा भएको निर्वाचनमा पहिलो पटक म्यादी प्रहरी बनेका थिए । बहुदलपछिको पहिलो आमनिर्वाचनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दा बेग्लै अनुभव गरेको उनले सुनाए । ‘मतपेटिका र मतदानस्थलको सुरक्षा गर्ने जिम्मेवारी थियो,’ उनले भने, ‘त्यतिबेला धेरै जनाले पहिलो पटक मताधिकार प्रयोग गर्न पाएकाले उत्साह, डर र अब के हुन्छ भन्ने चिन्ता देखिन्थ्यो ।’

०५१ को मध्यावधि निर्वाचनका बेला पहिलो पटक तनाव र अस्थिरता देखे । उनी दोस्रो पटक म्यादी प्रहरी बनेर खटिएका थिए । उनका अनुसार राजनीतिक अस्थिरता र धाँधलीले ज्यानकै असुरक्षा हुने भन्दै म्यादी नबन्न परिवारको दबाब थियो । तर उनी रोकिएनन् । ‘मैले पहिलो पटक दलको अस्थिरता, तनावपूर्ण माहोल त्यही चुनावमा देखें,’ उनले भने, ‘मतदाताबीच मनमुटाव देखियो, नारा चर्का भए मतदान केन्द्र जोगाउनु नै धेरै गाह्रो भएको थियो ।’

०५४ मा स्थानीय निकायको निर्वाचन भयो । त्यसबेला तेस्रो पटक म्यादी प्रहरी बने । स्थानीय निकायको निर्वाचनमा भने फरक दृश्य देखेको उनी सुनाउँछन् । ‘त्यसमा आफ्नै गाउँ टोलका मान्छे उम्मेदवार बनेका थिए,’ उनले भने, ‘प्रचारमा हिँड्न आग्रह गरेर म्यादी प्रहरी नबन्न पनि अनुरोध गरे ।’ त्यसबेलादेखि नै सर्वसाधारणले आफ्नो गाउँ विकासको कुरा गर्न थालेको उनले बताए । ‘बाटो, कुलेसो, खानेपानीका एजेन्डा बोकेर उम्मेदवार मत माग्थे,’ उनले भने । 

Election Police: Rs. 7 billion reaching households of the general public

०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचन ढुंगानाका लागि ऐतिहासिक रह्यो । दस वर्षपछि चौथो पटक म्यादी प्रहरी बने । जनताले पहिलो पटक ‘राजा नभएको नेपाल’ का लागि मतदान गरे । पहिलो संविधानसभा सदस्य निर्वाचनमा उत्साहसँगै डर पनि देखे । ‘देशमा द्वन्द्व र अस्थिरता थियो । मतदान गर्न जाँदा ज्यान जोखिम पर्ने चर्चा चलेको थियो,’ उनले भने, ‘परिवारले म्यादी प्रहरी बन्नबाट रोक्ने प्रयास गरे पनि मानिनँ ।’ 

त्यसबेला उनको घरछेउमै रहेको अछाम दरबार तत्कालीन विद्रोही माओवादीले ध्वस्त बनाएका थिए । माओवादी आक्रमणबाट सयौंको मृत्यु भएको थियो । ‘चुनाव खतरनाक छ, तिमी अझै जवान छौं, जस्तो काम गरी पनि खान सक्छौ भनेर सम्झाउँथे,’ उनले सम्झिए, ‘अप्ठ्यारो बेलामा निर्वाचन सुरक्षामा जानुपर्छ भनेर फेरि म्यादी प्रहरी बनें ।’ 

०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । उनी पाँचौं पटक म्यादी प्रहरी बने । ‘त्यो चुनाव संविधान निर्माणको अन्तिम प्रयासका रूपमा महत्त्वपूर्ण थियो,’ उनले भने, ‘त्यसबेला पनि मतदान केन्द्रमा उभिएर इतिहासकै साक्षी बनें ।’ ०७४ मा स्थानीय तहको चुनावमा पनि म्यादी प्रहरी बने । ०७९ मा स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि उनी म्यादी प्रहरीकै भूमिकामा थिए । 

यसपालि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी दसौं पटक सुरक्षाको जिम्मेवारी लिँदै छन् । ‘यो चुनावबाट निर्वाचन प्रहरी भनेर नाम परिवर्तन त भयो, तर २०५१ देखि मैले देखिरहेको राजनीतिक अस्थिरता उस्तै रह्यो,’ उनले भने, ‘केही बदलिएन ।’ उनी अहिले जिल्ला प्रहरी परिसरमा तालिममा व्यस्त छन् । 

‘अवसरले खुसी’

रौतहटको चन्द्रपुर–६ का ४० वर्षीय प्रेम पटेललाई बिहान–बेलुका एक छाक खान धौ–धौ छ । मजदुरीबाट घर चलाउँदै आएका पटेलले एक दिन काम गरेनन् भने चुल्होमा आगो बल्दैन । केही दिन मजदुरी छाडेर पटेल अहिले निर्वाचन प्रहरीको तालिममा छन् । 

Election Police: Rs. 7 billion reaching households of the general public

०७९ को स्थानीय तहको चुनावमा पनि उनी म्यादी प्रहरी थिए । उनका दुई छोरा र एक छोरी छन् । कहिले निर्माणस्थलमा ज्यालादारी त कहिले ई–रिक्सा चलाएर गुजारा चलाउँदै आएका छन् । दोस्रो पटक निर्वाचन प्रहरीमा छनोट भएपछि तालिममा छन् । ‘थोरै भए पनि यसले राहत पुग्छ, कामै नभएका दिन चिउरा खाएर सुत्नु पर्ने अवस्था छ,’ उनले भने, ‘यसबाट केही दिन बाँच्ने आधार मिलेको छ ।’ मजदुरी गरेरै भए पनि छोरालाई इन्जिनियर पढाउने उनको सोच छ । अभावले गर्दा सपना सकार हुने सम्भावना नदेखिएको पटेलले सुनाए । ई–रिक्सा चलाउँदा दिनमा ३ देखि ५ सयसम्म कमाइने उनले सुनाए । निर्वाचन प्रहरीमा सेवाबापत मिल्ने प्राप्त रकम छोरा–छोरीको पठनपाठन र घर खर्चमा सदुपयोग गर्ने उनको भनाइ छ । 

चन्द्रपुर–८ का अनिल साहको कथा पनि पटेलको जस्तै छ । रोजगारीका लागि भौतारिएका बेला निर्वाचन प्रहरीमा अवसर मिलेपछि साह खुसी छन् । ‘कामको खोजीमा घुमिरहेको थिएँ,’ उनले भने, ‘चालीस दिन खटेको पैसाले घर चलाउँछु ।’ पारिवारिक पृष्ठभूमिबारे खुलाउन नचाहेका उनले आफू गरिब भएको बुझिदिन आग्रह गरे । यसअघि स्थानीय निर्वाचनका बेला पनि उनी म्यादी प्रहरी बनेका थिए । 

रौतहट सदरमुकाम गौर र चन्द्रनिगाहपुरको खेल मैदानमा एउटा साझा दृश्य देखिन्छ । निर्वाचन सुरक्षाका लागि खटिन लागेकाहरूको तालिमको दृश्य साँच्चिकै मार्मिक देखिन्छ । रोजगारीको अवसर नपाएकाहरू पनि यसमा सहभागी छन् । ४० दिनको अल्पकालीन रोजगारीका लागि भर्ना भएकाहरू केवल शान्ति सुरक्षासँग मात्र जोडिएका छैनन् । गहिरो सामाजिक, आर्थिक यथार्थ र बेरोजगारीको तस्बिर पनि हो । जिल्ला प्रहरीले ३ हजार ४ सय ६६ निर्वाचन प्रहरी भर्ना गरेको छ । भर्ना भएकाहरू ठूलो हिस्सा विपन्न र मध्यमवर्गीय परिवारका युवा–युवती, पाका बढी छन् । जिल्लामा पर्याप्त उद्योगधन्दा नहुनु र सरकारी जागिरमा न्यून पहुँच हुनुले शिक्षित युवालाई पनि केही साताको जागिर खान बाध्य पारेको छ । यसरी भर्ना भएकामा स्नातक पढ्दै गरेका युवा–युवतीसमेत छन् । 

चौथो पटक निर्वाचन प्रहरीमा भर्ना भएका बर्दियाको गुलरिया नगरपालिका–७ का २९ वर्षीय मेहमुद सिद्धिकी यतिबेला निकै खुसी छन् । निर्वाचन प्रहरीमा भर्ना भएका सिद्धिकी तालिममा छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले बर्दियामा २ हजार २५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । २०७४ को निर्वाचनमा उनी पहिलो पटक निर्वाचन प्रहरी बनेका थिए । 

Election Police: Rs. 7 billion reaching households of the general public

निर्वाचन प्रहरीमा उनको यो चौथोपल्ट हो । स्वदेशमा रोजगारी छैन । विदेसिने योजना बनाए पनि मातृभूमि छोड्न नसकेको उनी बताउँछन् । देशको रक्षा गर्ने भित्री चाहना हुँदाहुँदै त्यसबेला ख्याल गरिएन र अहिले उमेरले नेटो काटिसकेको उनले बताए । ‘निर्वाचन प्रहरीबाट पाएको रकमले घरमा सघाउने चाहना छ,’ उनले भने, ‘अहिले बेरोजगार भएर खाली बसिरहेको समयमा राज्यको सेवा गर्ने अवसर पाएको छु ।’

सिद्धिकी विगत १० वर्षदेखि सामाजिक सेवामा सक्रिय युवा हुन् । बर्दिया अस्पतालमा उपचाररत जोकोही बिरामीलाई रगत अभाव हुँदा उनको नाम अगाडि आउने गर्छ । बिरामीलाई कुन ग्रुपको रगत चाहिएको छ,त्यही ग्रुपको साथीभाइ सम्पर्क गरी उनले आफ्नै मोटरसाइकलमा राखेर रक्तदान गर्न अस्पताल पुर्‍याएर बिरामीको ज्यान बचाउँदै आएका छन् । उनको निःस्वार्थ कर्मले उनले सधैं प्रशंसा पाउने गर्छ । त्यति मात्र नभई उनी एक राम्रो क्रिकेट खेलाडीका रूपमा पनि चिनिन्छन् । जिल्ला र क्षेत्रीय लेभलसम्म क्रिकेट खेलिसकेको उनको दाबी छ । ‘क्रिकेट खेलाडी भएकाले निर्वाचन प्रहरीमा भर्ना हुन समस्या भएन,’ उनले भने, ‘खेलाडी भएकाले दौड, सेटअफ र पुसअफमा कुनै समस्या आएन ।’

शोकलाई शक्तिमा बदल्दै निर्वाचन प्रहरी बनेकी इन्द्रा

श्रीमान्‌को मृत्यु भएको ४५ दिनसम्म घरदेखि टाढा जानु हुँदैन भन्ने मान्यतालाई सल्यानका महिलाले पालना गर्दै आएका छन् । तर शारदा नगरपालिका–३ बडाखोलाकी ३६ वर्षीया इन्द्राकुमारी बुढाथोकी श्रीमान्को मृत्यु भएको एक महिना नबित्दै निर्वाचन प्रहरीमा भर्ना भएकी छन् । 

घरको आर्थिक अवस्था कमजोर भएको र विगतमा वैदेशिक रोजगारी तथा स्वास्थ्योपचारका क्रममा लागेको ऋण तिर्न गाह्रो भएकाले दुःखमै भएका बेला सबै किसिमको पीडालाई मुटुमै दबाएर निर्वाचन प्रहरीमा भर्ना भएको उनले सुनाइन् । उनका श्रीमान् पूर्णबहादुरको ४२ वर्षको उमेरमा घरनजिकै लडेर १७ पुसमा मृत्यु भएको थियो । 

सधैं मदिरा सेवन गरेर हिँड्ने श्रीमान्ले घरखर्चप्रति कुनै चासो नदिँदा उनले मजदुरी गरेर परिवारलाई जेनतेन पाल्दै आएकी थिइन् । श्रीमान्को मृत्यु भएको १४ औं दिनमा उनले निर्वाचन प्रहरीका लागि आवेदन दिएकी थिइन् । १८ औं दिनमा छनोटका लागि दौडमा भाग लिएकी थिइन् । 

Election Police: Rs. 7 billion reaching households of the general public

‘समाजमा सबैले पीडाका बेला पनि किन निर्वाचन प्रहरीमा भाग लिएको भनेर कुरा काटे तर मेरो पीडामा मलम लगाउने कोही भएनन्,’ उनले भनिन्, ‘समाजका कुरा सुनेर बस्ने हो भने न मेरो घरमा चुलो बल्छ न ऋण कम हुन्छ । सानो तीनवर्षे नातिले पढ्न पाउँदैन । त्यही भएर पीडालाई दबाएर निर्वाचन प्रहरीमा भर्ना भएँ ।’

उनका श्रीमान् पहिला प्रहरीमा जागिरे थिए । सधैं मदिरा सेवन गर्ने भएकाले २०६५ मा जागिर छाडे । पेन्सनको रकम श्रीमान्लाई नै ठिक्क हुन्थ्यो । ‘म दुई छोरा र एक नाति पाल्न सधैं काम गर्न बाध्य हुन्थें,’ उनले सुनाइन्, ‘घरको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले बच्चाबच्चीको लालनपालन गर्न गाह्रो भएको थियो । विगतमा स्वाथ्योपचार गर्दा, वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्न गाह्रो भएपछि मानसिक तनाव बढेको थियो । निर्वाचन प्रहरीबाट आएको रकमले केही राहत होला भन्ने लागेको छ ।’

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully