विवादपछि मन्त्री गुप्ता अमेरिका नजाने

मन्त्री गुप्ताले भने, 'उता जाने प्रक्रिया नै सुरु भएको थिएन।'

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Minister Gupta will not go to America after controversy

What you should know

काठमाडौँ — अमेरिका भ्रमणको विवादमा तानिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्।

मन्त्रालयनिकट स्रोतका अनुसार ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले पनि मन्त्री गुप्ता उता नजाने पक्कापक्की भएको हो।

कान्तिपुरसँगको कुराकानीमा मन्त्री गुप्ताले भिसाका लागि आवेदनसमेत नदिएको बताउँदै आयोजकहरूको विवादमा आफूलाई तानिएको बताए। उनले भने, 'उता जाने प्रक्रिया नै सुरु भएको थिएन।'

मन्त्री गुप्तालाई अमेरिकाको टेक्सस राज्यको डालस सहरमा जनवरी १६ मा हुने 'रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेन–जी रिभोलुसन' विषयक युवा सम्मेलनमा बोलाइएको थियो। यसका आयोजक अध्यक्ष विकास उप्रेती नेतृत्वको एनआरएनए थियो। उक्त कार्यक्रममा सतेन्द्र साह नेतृत्वको एनआरएनएले आपत्ति जनाउँदै विज्ञप्तिसमेत निकालेको थियो।

साह नेतृत्वको एनआरएनएले आफूहरू आधिकारिक भएकाले कुनै कार्यक्रम आयोजना नगरेको र मन्त्री गुप्तालाई निमन्त्रणा पनि नगरेको दाबी गरेको छ। साहले आधिकारिक एनआरएनए आफूहरू भएको दाबी गर्दै भने, 'हामीले कसैलाई कार्यक्रममा बोलाएका छैनौँ र कार्यक्रम पनि राखेका छैनौँ।'

उप्रेती नेतृत्वको एनआरएनएले भने आफूहरूले मन्त्री गुप्तालाई मात्र निमन्त्रणा पठाएको जनाएको छ। उप्रेती नेतृत्वको एनआरएनएका प्रवक्ता द्रोण गौतमले विज्ञप्ति जारी गर्दै आधिकारिक रूपमा मन्त्रालयमार्फत मन्त्री गुप्तालाई निमन्त्रणा गरिएको दाबी गरेका छन्।

विवादको यही पृष्ठभूमीमा एनआरएनए नेतृत्वमा रहेका महेश श्रेष्ठ र बद्री केसीले मन्त्रालयमै आएर मन्त्री गुप्तासँग भेटेका छन् । 

विवादको यही पृष्ठभूमिबीच मन्त्री गुप्ता उक्त कार्यक्रममा नजाने भएका हुन्।

सम्बन्धित समाचार

मन्त्री गुप्ताको अमेरिका भ्रमण : विभाजित एनआरएनएबीच विज्ञप्तिबाजी

राज्यको खर्चमा जाने होइन, भिसाको आवेदन पनि दिएको छैन : मन्त्री गुप्ता [अन्तर्वार्ता]

कान्तिपुर

Link copied successfully