'मैले राजीनामा किन दिने भन्ने कुरा हो। अहिले दिने भनेको छैन। दिनै परेपछि निर्णय गरौंला ।'
What you should know
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता यतिबेला विवादमा तानिएका छन्। विवादको विषय हो, उनको हुनै लागेको भनिएको अमेरिका भ्रमण ।
चुनाव गराउने ‘म्यान्डेट’ सहित गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको भन्दै केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री गुप्तासहित मन्त्रीहरु कुलमान घिसिङ र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी थिइन्।
घिसिङले बुधबार राति राजीनामा दिए पनि गुप्ता र खरेलले भने राजीनामा दिएका छैनन्। यही पृष्ठभूमिमा मन्त्री गुप्ता भने राजीनामा नदिएर अमेरिका जान लागेको भन्दै आलोचनामा तानिए। उनी किन अमेरिका जान खोजेका हुन्, कस्तो कार्यक्रम र कसले अमेरिका लैजान लागेको हो? प्रधानमन्त्रीले राजीनामा मागेको विषयमा उनको प्रतिक्रिया के छ ? ईकान्तिपुरले उनीसँग गरेको संक्षिप्त कुराकानी :
तपाईं अमेरिका जान लाग्नुभएको विषय सार्वजनिक भएको छ, सँगै यो विषय विवादित पनि बन्दै छ । तपाईंको भ्रमण खास केका लागि, किन जान लाग्नुभएको ?
यो अहिलेको कुरा होइन। एक महिना अगाडिको कुरा हो। जेन-जी आन्दोलनमा लागेको र म अहिले युवा तथा खेलकुदमन्त्री भएका कारण डायस्पोरामा रहेका युवाले मलाई बोलाएका थिए। अमेरिकामा एउटा डायस्पोरा प्लाटफर्म रहेछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का केही युवाले गर्ने कार्यक्रमका लागि मलाई निम्ता आएको हो। 'हामीले एउटा युथ कन्क्लेभ गर्न लागेका छौं, आउनुहोस्' भनेर निम्ता आएपछि जाने कुरा भएको हो। जानका लागि मन्त्रिपरिषद्को स्वीकृति चाहिने भएकाले प्रक्रिया सुरु गरेको हो। तर यसबारे फरक कुरा आइरहेका छन्।
तपाईंको भ्रमणको खर्च कसले बेहोर्ने हो?
खर्च सबै आयोजकले नै बेहोर्ने हो। तपाईं आइदिनुहोस् भनेपछि समय तोक्ने कुरा भएको हो।
भ्रमण टोलीमा तपाईं एक्लै हुनुहुन्छ अथवा अरूलाई पनि लिएर जान लाग्नुभएको ?
एक्लै जान लागेको हो। तर आज केही सञ्चारमाध्यममा ५–७ जना लैजान लागेको भन्ने कुरा आयो। म जाने कुरा भएपछि मैले भ्रमणको स्वीकृति मन्त्रिपरिषद्बाट लिएको हो। तर यस भ्रमणमा राज्यको एक रुपैयाँ पनि खर्च हुने होइन। फेरि कहिले जाने र कुन दिन कार्यक्रम गर्ने भन्ने पनि फिक्स भइसकेको छैन। फेरि मैले भिसाको लागि आवेदन पनि गरिसकेको छैन।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा राजीनामा मागेको र तपाईंले अमेरिकाबाट फर्केर आएपछि मात्रै राजीनामा दिन्छु भन्नुभएको हो?
त्यो सरासर मिडिया म्यानिपुलेसन हो। यस्तो कुरा उठेकै छैन। यस्तो कुरा भएकै छैन। यतिबेला मलाई दलगत भन्दै छन्। म दलगत हुन त चुनाव लड्नका लागि नोमिनेसनमा पर्नुपर्थ्यो। त्यसका लागि माघ ६ गते यही हुनुपर्यो । जबकि मलाई अमेरिकाबाट माघ ३ गतेको कुरा भनिरहेका छन्। म चुनावमै लड्ने हो भने त्यता जाने कुरा पनि भए । किनकि नोमिनेसनको समय त्यहीबेला पर्छ। अहिले आइरहेका कुरा एकापसमा बाझिन्छन्। त्यही भएर यो सत्य होइन। त हामी यही हुनुपर्ने होला।
तपाईं अहिले तत्कालै कुनै पार्टीमा गएर चुनाव लड्ने योजनामा हुनुहुन्छ?
अहिले छैन। अब विभिन्न पार्टीहरूले चुनाव लड्नुस् भनिरहेका छन्। त्यो कुरा समयक्रम अनुसार सोचौंला भन्ने हो।
भनेपछि तपाई तत्काल राजीनामा दिने मुडमा हुनुहुन्छ कि हुनुहुन्न?
मुडभन्दा पनि मैले राजीनामा किन दिने भन्ने कुरा हो। अहिले दिने भनेको छैन। दिने परेपछि निर्णय गरौँला। म कुनै पार्टीमा गएर चुनाव लड्ने भएँ भने राजीनामा दिनेछु।
अहिले नै चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको छैन?
छैन। कहाँबाट लड्ने, केबाट लड्ने? सबै कुरा मिल्नुपर्छ। यो कुरा पनि माघ ६ गते मनोनयन दर्ताका बेला नै थाहा हुनेछ।
![I will not go at the state's expense, nor have I applied for a visa: Minister Gupta [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/bablu-gupta-26102025011902-1000x0-0812026013826-1000x0.jpg&w=1001&h=0)