जेन–जी घाइतेहरू भन्छन्– ‘सरकारले निराश बनायो’

उपचारमा सरकारबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो पोख्दै आएका घाइतेहरू सरकारले गरेका निर्णय र कार्यशैलीप्रति पनि असन्तुष्ट छन्

पुस ७, २०८२

समर्पण श्री

Gen-G injured say – ‘The government has let them down’

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वको सरकार सरकार बनेको एक सय एक दिन नाघिसक्यो । तर अझै पनि आन्दोलनका घाइतेहरुको समस्या सम्बोधन भइसकेको छैन ।

त्यसैले अस्पतालमा रहेका, घर फर्केका तर फलोअपमा रहेका र उपचार पछि पुरानै जीवनशैलीमा फर्किन कसरत गरिरहेका सबैजसो सरकारसँग  असन्तुष्ट छन् । कतिपय घाइते उपचारका लागि सरकारबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गर्छन्, कोही भने सरकारका निर्णय र कार्यशैलीका कारण बेखुस छन् ।

ट्रमा सेन्टरमा उपचार गराइरहेका दैलेखका २७ वर्षीय प्रकाश बोहोराले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा दुःखेसो पोखेका छन् । ‘म हालसम्म पनि ट्रमा सेन्टरमै बेड नम्बर ४५२ मा छटपटाइरहेको छु । सँगै सामाजिक सञ्जालमार्फत तपाईं र तपाईंका सन्तानले गरेको हरेक हर्कत हेरिबसेको छु । अब त तपाईंहरूलाई प्रश्न गर्ने मन पनि छैन,’ उनले लेखेका छन् ।

मन्त्री–पद लिलाम भएको खबर सुन्दै छौं, सरुवा बढुवामा दोहोरी चलेको खबर सुन्दै छौं, प्रश्नहरू आइरहने छन्, तपाईंहरू भाग्न पाउनुहुनेछैन
– प्रकाश बोहोरा
बोहोरा सरकारसँग केही आस नरहेको, केवल पश्चाताप र चिन्ता रहेको बताउँछन् । गत २३ भदौको जेन–जी आन्दोलनमा उनको देब्रे खुट्टामा गोली लागेको थियो । त्यतिबेला सडकमै छुटेको उनको जुत्ता चर्चित बनेको थियो । ‘आज जुत्ता र म एउटै बन्यौं, केवल प्रयोग र लथालिंग अवस्था । यसकै लागि थियो यो सबै नौटंकी ? आज तपाईंहरू नै वैदेशिक रोजगारीमा पठाउन तँछाडमछाडको खेल सुरु गर्दै हुनुहुन्छ,’ बोहोरा भन्छन् ।

बोहोराले अस्पतालमा बिताइरहेको पीडादायक क्षण पनि सुनाए । सरकारले गरेको विवादित नियुक्तिमाथि पनि प्रश्न उठाए । ‘आज मन्त्री–पद लिलाम भएको खबर सुन्दै छौं । सरुवाबढुवामा दोहोरी चलेको खबर सुन्दै छौं । प्रश्नहरू आइरहनेछन् । तपाईंहरू भाग्न पाउनुहुनेछैन । हाम्रो आवाजलाई बन्द गर्ने, दबाउने र अन्त्य गर्ने चेष्टा नहोस्, न्याय चाहिन्छ,’ उनले भने ।

बोहोरा हिजो देशको राजनीतिक माहोलले आजित भएकै कारण विदेश जान खोजेका थिए । ‘तर अहिले अस्पतालको बेडमा बसेर हेरिरहेको छु । सरकारले तीन महिनामा पनि अपेक्षाअनुसार काम गरेकै छैन,’ उनी भन्छन् ।

हाम्रो आन्दोलनको जगमा बनेको सरकार हो भन्न पनि लाज लाग्न थाल्यो, सय दिन बितिसक्दा पनि सरकारले पुरानै दलको शैलीमा काम गरिरहेको छ- युवराज उपाध्यायजेन–जी आन्दोलनको पहिलो दिन पेट र हातमा गोली लागेका कैलालीका २२ वर्षीय युवराज उपाध्याय अहिले नियमित फलोअपसँगै सामाजिक गतिविधिमा पनि सक्रिय छन् । उनी पनि सरकारले अपेक्षित काम नगरेको बताउँछन् । ‘हामीले सरकारबाट जुन अपेक्षा गरेका थियौं, त्यो अहिलेसम्म पाएका छैनौं । उहाँहरूले मन्त्री, प्रधानमन्त्री भए पाँच दिनमै भ्रष्टाचारीलाई जेल हाल्ने भन्नुभएको थयो । तर भनेअनुसार काम अगाडि बढाउनुभएन । हिजोको दलकै जस्तो काम उहाँहरूले गरिरहनुभएको छ,’ उनी भन्छन् ।

जेन–जी घाइतेको आवाज सरकारले नसुनेको उपाध्यायको गुनासो छ । ‘हाम्रो आन्दोलनको जगमा बनेको सरकार हो भन्न पनि लाज लाग्न थाल्यो । सय दिन बितिसक्दा पनि सरकारले पुरानै दलको शैलीमा काम गरिरहेको छ,’ उनी भन्छन् ।

२३ भदौको शान्तिपूर्ण आन्दोलनमा भएको दमनलाई सरकारले जिम्मेवार ढंगले नलिएको उपाध्यायले बताए । युवामाथि गोली चलाउनेहरू खुलेआम हिँड्ने तर आन्दोलनमा सहभागीलाई अपराधीका रूपमा प्रस्तुत गर्ने गरिएको भन्दै उनले गुनासो गरे ।

लमजुङका २३ वर्षीय सन्तोष वाइबालाई जेन–जी आन्दोलनको पहिलो दिन तिघ्रामा गोली लागेको थियो । अहिले पनि वाइबा बैसाखी टेकेर हिँड्छन् । उनीसँग पनि सरकारप्रति थुप्रै गुनासा छन् । ‘धेरै कुरा भन्नु छ जस्तो लाग्छ तर कसलाई सुनाउने ? सरकारले सय दिन मनायो तर हाम्रो सय दिन साह्रै नरमाइलो गरी गुज्रियो । करिअरको चिन्ता गरेर र रोजगारविहीन भएर बित्यो,’ वाइबा भन्छन् ।

भ्रष्टाचारीलाई कारबाही नगरिएको पनि उनले बताए । उनी थप्छन्, ‘जेन–जी घाइतेबीच सम्झौता भयो भन्ने सुनेको छु । तर त्यो सम्झौता पनि पूरा हुन्छ कि हुन्न थाहा छैन ।’ जेन–जी घाइतेहरूलाई सरकारले बेवास्ता गरेको वाइबा बताउँछन् । ‘कतिले त निःशुल्क उपचार नै पाइरहनुभएको छैन भन्ने सुनेको छु । आन्दोलन गर्नेहरूलाई समातेका छन्, गोली हान्नेलाई केही गरेका छैनन् । देशमा भ्रष्टाचार अन्त्य गर्छु भनेर हिँडेकाहरूलाई नै यही सरकारले दबायो,’ उनी भन्छन् ।

२४ भदौको प्रदर्शनमा खुट्टामा गोली लागेका सिन्धुलीका २८ वर्षीय रवि भण्डारीले फलोअप उपचारका क्रममा अस्पतालले शुल्क लाग्ने बताएपछि विभिन्न ठाउँमा फोन घुमाउनुपरेको थियो । ‘निःशुल्क उपचारका लागि त हारगुहार गर्नुपरेपछि यो सरकारले हाम्रा लागि के गर्‍यो होला र,’ उनले भने, ‘यो सरकारले जेन–जी घाइतेहरूलाई बेवास्ता गरेकै हो ।’

भण्डारीको खुट्टाको उपचार अझै चलिरहेको छ । अझै अपरेसन गर्नुपर्नेछ । उनी अझै खुट्टा टेकेर हिँड्न सक्दैनन् । तर सरकारले गरेको घाइतेको वर्गीकरणमा पनि उनको असन्तुष्टि छ । सरकारले घाइतेको भविष्यबारे पनि नसोचेको उनी बताउँछन् । ‘के हाम्रो भविष्यका लागि यो सरकारले केही सोच्यो त ? भएका सम्झौता पनि कहिले कार्यान्वयन हुन्छ, थाहा छैन । यतिका समयसम्म हामीमा आसको झिल्को बल्नुपर्ने । त्यो बलेको छैन । मैले आफ्नो कुरा कसलाई राख्ने ?,’ उनी भन्छन् ।

इटहरीमा २३ भदौको जेन–जी आन्दोलनमा गालामा गोली लागेका १८ वर्षीय सान्तनु ढकाल अहिले नियमित फलोअप उपचारमा छन् । कक्षा १२ मा विज्ञान विषय लिएका उनको आन्दोलनयता पढाइ छुटेको छ । विद्यार्थी धेरै घाइते भए पनि सरकारले उनीहरूको पढाइलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान नदिएको उनको दुःखेसो छ । घाइतेलाई हुनुपर्ने अत्यावश्यक सुविधा पनि नभएको ढकालले बताए । ‘घाइतेहरूका लागि खास केही सुविधा भएन । म घरबाट फलोअपका लागि अस्पताल जानुपर्दा पनि आफ्नै खर्च हुन्छ । एम्बुलेन्सको सुविधाधरि छैन,’ उनी थप्छन्, ‘अपेक्षा धेरै थियो तर केही भएन ।’

जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गाम्भीर्यका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेपनि सरकारले अहिलेसम्म सबै घाइतेकहरुको वर्गीकरण सकेको छैन् । कार्यविधिअनुसार घाइते भएका व्यक्तिको अपांगताका आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ । 

वर्गीकरण भएका घाइतेमध्ये गम्भीरले मासिक ९ हजार र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । यस्तै कार्यविधिअनुसार मध्यम प्रकृतिका घाइतेले मासिक ४ हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ । 

सम्बन्धित समाचार 

यसरी हुँदै छ जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण

भुक्तमान खेपिरहेका जेन-जी घाइते

जेन-जी आन्दोलनका घाइते

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully