यसरी हुँदै छ जेन-जी आन्दोलनका घाइतेको वर्गीकरण

गम्भीर घाइतेलाई ९ हजार र अति गम्भीरलाई १८ हजार रुपैयाँ मासिक भत्ता दिइनेछ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

This is how the classification of the injured in the Gen-G movement is being done

What you should know

काठमाडौँ — सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ।  

जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गाम्भीर्यका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेसँगै घाइतेको वर्गीकरणले तीव्रता पाएको हो।  

कार्यविधिअनुसार घाइते भएका व्यक्तिको अपांगताका आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ।

वर्गीकरण भएका घाइतेमध्ये गम्भीरले मासिक ९ हजार र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ । यस्तै कार्यविधिअनुसार मध्यम प्रकृतिका घाइतेले मासिक ४ हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।  

स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण हालसम्म तीन जिल्ला (काठमाडौँ, कास्की र चितवन) का १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरणमध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइते वर्गीकरण भएका छन्। वर्गीकरणमध्ये काठमाडौँमा कुल १६९ घाइतेको वर्गीकरण भएको मध्ये, १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम घाइते र ६४ जना सामान्य घाइतेमा वर्गीकरणमा परेका छन्।  

यस्तै, कास्कीमा हालसम्म ७ जना घाइते वर्गीकृत भएका मध्येमा, अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना, मध्यममा शून्य र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरणमा भएका छन्।  

यसै गरी, चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः तीन र चार जना वर्गीकृत भएका छन्। 

गृहमन्त्री ओमप्रकाश अर्यालले सम्बद्ध निकायलाई घाइतेको वर्गीकरणलाई तीव्रता दिन निर्देशन भएबमोजिम काम अघि बढेको सहजीकरण समितिले जनाएको छ।  

विभिन्न अस्पतालहरूबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको विवरण अनुसार देशभर घाइतेहरूको कुल संख्या २ हजार ५२२ छ । सामान्य घाइतेले कुनै पनि त्यस्तो नगद राहत पाउने व्यवस्था कार्यविधिमा गरिएको छैन।  

मन्त्रिपरिषद्को मङ्सिर २२ को बैठकले पारित गरेको 'जेन-जी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०८२ ' को दफा ८ अन्तर्गत घाइतेलाई मासिक जीविकोपार्जन भत्ता प्रदान गर्ने बाटो खुलेको थियो।

कार्यविधिकै उपदफा २ को (१) बमोजिम निर्वाह भत्ता सम्बन्धी व्यवस्था महँगीका आधारमा पुनरावलोकन गर्न सकिने भनी कार्यविधिमा उल्लेख गरिएको छ।

कान्तिपुर

Link copied successfully