राजनीतिमा एआईको बढ्दो प्रयोगले सूचना प्रवाहको स्वरूप मात्र होइन, लोकतान्त्रिक प्रक्रियामै चुनौती थप्दै गएको देखिन्छ
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम शाहको फेसबुक पेजबाट बुधबार बिहान एउटा छोटो भिडियो पोस्ट भयो ।
आठ सेकेन्डको उक्त भिडियोमा रास्वपा सभापति रवि लामिछाने, उद्योग, वाणिज्य तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्तै देखिने व्यक्ति सँगै हिँडिरहेको देखिन्छ । बिहान ८ बजेर २८ मिनेटमा पोस्ट गरिएको भिडियोको क्याप्सनमा नेता शाहले ‘कमिङ सुन टुगेदर–फागुन २१’ लेखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो ६ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
तर, भाइरल भइरहेको यो भिडियो यथार्थ भने होइन । एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको सहायतामा सिर्जना गरिएको उक्त भिडियोले विभिन्न सन्देश दिन खोजेको देखिन्छ । एकातर्फ रवि, कुलमान र बालेन सँगै छन् भन्ने सांकेतिक सन्देश प्रवाह गरिएको छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले धरानका मेयर हर्कराज राईलाई समेत समावेश गर्नुपर्ने टिप्पणी गरेका छन् । कतिपयले भने यसलाई ‘मिडिया ट्रायल’ को रूपमा व्याख्या गरेका छन् । क्याप्सनमा उल्लेख गरिएको ‘फागुन २१’ ले आगामी निर्वाचनमा रवि, कुलमान र बालेन एउटै राजनीतिक मोर्चामा उभिन सक्ने संकेत दिएको रूपमा पनि राजनीतिक वृत्तमा अर्थ्याइएको छ ।
राजनीतिक वृत्तमा एआईद्वारा सिर्जित सामग्रीको यो पहिलो उदाहरण भने होइन । पछिल्लो समय एआई प्रविधिको प्रयोग बढ्दै जाँदा नेपाली राजनीति पनि यसको प्रभावबाट अछुतो रहन सकेको छैन । यसको पछिल्लो उदाहरण हो– एमाले नेता प्रदीप ज्ञवाली रोएको जस्तो देखिने भिडियो ।
गत मंसिर २८ गते भृकुटीमण्डपमा भएको एमाले महाधिवेशनका क्रममा ज्ञवाली रोएर बाहिरिएको खबर केही सञ्चारमाध्यममा प्रकाशित भयो । त्यसपछि उनी रोएको जस्तो देखिने तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिन थाले ।
छोटो समयमै फेसबुक, एक्स (पुरानो ट्विटर), टिकटकलगायत प्लेटफर्ममा ती सामग्री भाइरल भए । तर, यथार्थमा ती तस्बिर र भिडियो वास्तविक थिएनन् । मंसिर ३ गते सञ्चारकर्मीहरूसँग कुरा गर्दाको भिडियोलाई एआई प्रविधिको सहायताले परिमार्जन गरी गलत सन्देश प्रवाह गरिएको थियो ।
एमाले महाधिवेशनकै क्रममा एआई प्रयोग गरेर तयार पारिएको अर्को तस्बिर पनि सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । महाधिवेशनस्थल मानिसले खचाखच भरिएको देखिने उक्त तस्बिर एमालेभित्रकै जिम्मेवार नेता तथा कार्यकर्ताले पोस्ट गरेपछि व्यापक ध्यान खिच्यो । पछि त्यो तस्बिर पनि एआईद्वारा सिर्जित भएको पुष्टि भयो ।
प्रचार–प्रसारमा प्रयोग
एमाले महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले समेत आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट एआई सिर्जित सामग्री पोस्ट गरेका छन् । गत मंगलबार बिहान ८ बजेर ३४ मिनेटमा पोस्ट गरिएको २१ सेकेन्डको भिडियोमा उनले अर्थमन्त्री हुँदा गरेका कामहरू एआईको माध्यमबाट प्रस्तुत गरेका छन् ।
भिडियोमा पत्रिकामा प्रकाशित तस्बिरहरूलाई चलायमान बनाइएको छ । दुःखद पार्श्वध्वनिका साथ नेपाली कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठ, एमाले नेता मदन भण्डारी र भरतमोहन अधिकारीका तस्बिरसमेत ‘हलचल’ गरेको देखिन्छ । ‘सुरेन्द्र प्रसाद पाण्डे सचिवालय’ नामक खाताबाट पनि यस्तै एआई सिर्जित भिडियो सामग्रीहरू पोस्ट हुँदै आएका छन् ।
एमालेले मात्रै प्रचारप्रसारमा एआई प्रयोग गरेका हुन् त ? होइन । पछिल्लो समय अन्य पार्टीको प्रचारप्रसार तथा नेताहरूको बदनामी गर्नसमेत एआई सिर्जित सामग्री प्रयोग हुन थालेको देखिन्छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माजस्तै देखिने व्यक्तिले बोल्दै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भेटिन्छ, जसमा उनले ‘मैले पार्टी फुटाएको होइन, तिमीहरूको भ्रम फुटाएको हुँ । मक्किएको घरमा पुरिएर मर्नुभन्दा नयाँ जग हाल्ने मिस्त्री बन्नु हजार गुणा बेस हो’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ । त्यस्तै, सोही पार्टीका कार्यकर्ताहरूले ठूलो प्रचार जुलुस भएको जस्तो देखिने एआई भिडियोहरू पनि पोस्ट गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसामा समेत एआई सिर्जित भिडियोहरू बनाइएका छन् । एउटा भिडियोमा बायाँतर्फ दाहालको फोटो राखिएको छ भने दायाँतर्फ नेपाली झण्डा बोकेको ठूलो भिडले ‘रवि, बालेन, हर्के चिन्दैनौँ, कांग्रेस एमालेलाई भोट दिँदैनौँ’ भन्दै नारा लगाएको देखिन्छ ।
रास्वपा सभापति रवि लामिछानेजस्तै देखिने व्यक्तिका प्रशंसागान गरिएका भिडियोहरू पनि भाइरल छन् । एउटा भिडियोमा सेतो बाघसँगै रविजस्तै देखिने व्यक्ति हिँडिरहेको देखिन्छ । पृष्ठभूमिमा रविकै आवाजजस्तो सुनिने अडियो बज्छ– ‘म भुइँको मान्छे हुँ, भुइँसम्म निहुरन सक्छु… मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला । रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायरहरूको नेता होइन ।’
बहाना पनि
एआई केवल प्रचारप्रसारका लागि मात्र होइन, गल्ती लुकाउने बहानाका रूपमा पनि प्रयोग हुन थालेको देखिन्छ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगलागी हुँदा पैसा जलेको भिडियो बाहिरिएको थियो ।
देउवाको सचिवालयले उक्त भिडियो एआई सिर्जित भएको दाबी गर्दै अस्वीकार गरेको थियो । पछि देउवाले पनि ती सबै भिडियो एआईद्वारा बनाइएका हुन् भन्दै पन्छिन खोजे । तर, ती भिडियो एआई सिर्जित नभएको पुष्टि भइसकेको छ । यसबारे कान्तिपुरले तथ्यजाँच (फ्याक्टचेक) समेत गरेको थियो ।
त्यसअघि २०७६ सालमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको ७० करोड रुपैयाँ लेनदेनसम्बन्धी अडियो सार्वजनिक हुँदा पनि उनले त्यसलाई एआई सिर्जित भन्दै अस्वीकार गरेका थिए । तर, व्यापक आलोचना भएपछि उनले २०७६ फागुन ८ गते नैतिकताको आधारमा राजीनामा दिएका थिए ।
पुरानाको बदनाम, नयाँको तारिफ
सामाजिक सञ्जालमा भाइरल हुने धेरैजसो एआई सिर्जित सामग्री पुराना दलका नेताहरूलाई खिसीट्युरी गर्ने खालका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक दाहाल आपसमा हानाहान गरेको जस्तो देखिने, कांग्रेस सभापति देउवा, ओली र दाहाल सँगै बसेको अवस्थामा दाहाललाई प्रहरीले पक्राउ गरेको जस्तो देखिने, कांग्रेस महामन्त्री गगन थापा बाख्रा चराउँदै गरेको जस्तो देखिने डिपफेक भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् ।
यसको ठीक उल्टो, नयाँ वा वैकल्पिक भनिएका नेताहरूको प्रशंसागान गरिएका सामग्री बढी देखिन्छन् । बालेन शाह र ओली हानाहान गरेको जस्तो देखिने भिडियो, बालेन विजयी र ओली पराजित भएको सन्देश दिने दृश्य, ओलीलाई रवि लामिछानेले घण्टीले हानेको जस्तो देखिने भिडियोहरू पनि व्यापक रूपमा फैलिएका छन् ।
निर्वाचनमा एआई बढ्ने संकेत
राजनीतिमा एआईको प्रत्यक्ष तथा परोक्ष प्रयोग बढ्दै गएको एआई एसोसिएसन नेपालका अध्यक्ष शैलेन्द्रराज गिरी बताउँछन् । ‘एआईको प्रयोग स्वयंमा नराम्रो होइन, तर यसको दुरुपयोग मिस इन्फर्मेसन फैलाउन भइरहेको छ, जुन आपराधिक कार्य हो,’ उनी भन्छन् ।
चुनाव नजिकिँदै जाँदा यस्तो प्रयोग झनै बढ्ने अधिवक्ता तथा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलको भनाइ छ । ‘राजनीतिक दल, तिनलाई समर्थन गर्ने समूह वा कार्यकर्ताले आफ्नो पक्षमा माहोल बनाउन वा विपक्षीलाई घाटा पुर्याउन एआई सामग्री प्रयोग गर्न सक्छन्,’ उनी भन्छन्, ‘निर्वाचन नचाहने वा चुनाव भाँड्न चाहने समूहले पनि यस्ता सामग्री प्रयोग गर्न सक्छन् ।’
पत्रकार तथा तथ्यजाँचक उमेश श्रेष्ठ ‘सालोक्य’ का अनुसार एआईबाट प्रचार सामग्री बनाउनु अहिले अत्यन्तै सजिलो भइसकेको छ । ‘एउटा फोटोबाटै डिपफेक भिडियो बनाउन सकिन्छ । यो प्रविधिको राम्रो पक्ष हो, तर यसको दुरुपयोग गम्भीर समस्या हो,’ उनी भन्छन् ।
कसैको फोटो वा आवाज भ्रामक उद्देश्यले प्रयोग गर्नु साइबर कानुनअनुसार अपराध हो-शैलेन्द्रराज गिरीत्यस्तै, पत्रकार तथा तथ्यजाँचक दीपक अधिकारी पनि एआई सिर्जित सामग्री पहिचान गर्न झनै जटिल बन्दै गएको बताउँछन् । ‘पहिले एआई सामग्री सजिलै छुट्याउन सकिन्थ्यो । अहिले प्रविधि परिस्कृत हुँदै जाँदा प्रयोगकर्तालाई यथार्थ र कृत्रिम छुट्याउन कठिन हुँदै गएको छ,’ उनी भन्छन् ।
नियमनको अभाव
एआई एसोसिएसनका अध्यक्ष गिरी पनि गलत मनसायले एआई प्रयोग गर्नु गैरकानुनी कार्य भएको बताउँछन् । ‘कसैको फोटो वा आवाज भ्रामक उद्देश्यले प्रयोग गर्नु साइबर कानुनअनुसार अपराध हो,’ उनी भन्छन् ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको मस्यौदामा एआई प्रयोगबारे स्पष्ट व्यवस्था छैन । दुष्प्रचार, भ्रामक सूचना र घृणात्मक भाषण निषेध गरिए पनि एआई सिर्जित सामग्रीबारे प्रत्यक्ष उल्लेख गरिएको छैन ।
यसलाई गम्भीर कमजोरी मान्दै अधिवक्ता सिग्देल भन्छन्– ‘निर्वाचन आयोगले एआई प्रयोगबारे स्पष्ट नीति बनाउनैपर्छ । कुन प्रयोग वैध र कुन अवैध हो भन्ने छुट्याउने व्यवस्था आवश्यक छ ।’ उनका अनुसार आयोगले ‘बिग टेक’ कम्पनीहरूसँग समन्वय गरी निर्वाचनका बेला भ्रामक एआई सामग्री पहिचान र नियन्त्रण गर्ने संयन्त्र विकास गर्नुपर्छ । पत्रकार तथा तथ्यजाँचक श्रेष्ठले पनि निर्वाचन आयोगले एआई प्रयोगबारे आचारसंहितामा खुलाएर जानुपर्नेमा जोड दिए ।
राजनीतिमा एआईको बढ्दो प्रयोगले सूचना प्रवाहको स्वरूप मात्र होइन, लोकतान्त्रिक प्रक्रियामै चुनौती थप्दै गएको देखिन्छ । आगामी निर्वाचनमा यसको प्रभाव कति गहिरो हुने हो, त्यसको नियमन र जवाफदेहिता अझै अस्पष्ट नै छ ।
