दिल्लीस्थित नेपाली दूतावासका अनुसार गोवा आगलागी घटनामा मृत्यु भएका पाँच नेपालीमध्ये चार जनाको शव मंगलबार र बुधबार गरेर नेपाल ल्याइएको छ।
डडेल्धुरा — भागेश्वर गाउँपालिका–१ का श्यामसिंह जोरालाई शुक्रबार राति छोरा मनोज (मानबहादुर) ले फोन गरेर आफ्नो ब्रतबन्धको तयारीबारे कुरा गरे ।
भारतकाे गाेवामा काम गरिरहेकाे २२ वर्षीय छाेरा मनोजकाे आउँदो माघमा घरमै ब्रतबन्ध गर्ने तयारीे भइरहेको थियो । पुष सकिनासाथ घर बोलाएर मनोजको ब्रतबन्ध गर्ने परिवारको योजना शनिबार राति एक नाइट क्लबमा भएको आगलागीको घटनामा जलेको छ ।
शनिबार राति गोवाको एक नाइट क्लबमा भएको आगलागीमा मनोजसहित २५ जनाको मृत्यु भएको थियो । उक्त घटनामा चार नेपाली युवाको ज्यान गएको थियो ।
गरिबीले अत्याएपछि ८ कक्षाको पढाइ नसक्दै कामको खोजीमा भारत पसेका मनोजको ‘सेफ’ बन्ने योजना थियो । त्यसकैलागि उनी ६ महिनाअघि मात्रै गोवा पुगेका थिए । त्यसअघि उनी भारतकै नागपुरमा काम गर्थे । ‘फोनमा कुरा हुँदा ब्रतबन्धको तयारीमा लाग्नु, म माघमा आइहाल्छु भनेको थियो,’ श्यामसिंहले भने, ‘गरिबीले भारत छिरेको जवान छोराको शव बुझनु पर्यो।’
लामो समय नागपुरमा काम गरेर उनी राम्रो काम पाएपछि ६ महिनाअघि मात्रै गोवा पुगेका थिए । ‘भारत गएदेखि होटल क्षेत्रमा काम गरिरहेको भतिजा राम्रो कालीगर (सेफ) बन्छु भन्थ्यो । त्यहीँ सपनाले ६ महिनाअघि गोवा गए भन्थ्यो,’ मनोजका ठूलोबुवा जोगराजले भने, ‘गोवामा राम्रो कालीगढको कमाइ धेरै हुने र रोजगारी पनि फिक्स हुन्छ भनिरहन्थ्यो ।’
घरमा दिदी लामो समय बिरामी भएपछि श्यामसिंहले उपचारका लागि धेरै धाउनु पर्यो। खर्च धान्न नसकेपछि बुवाको आर्थिक भार कम गर्न मनोज ८ कक्षाको पढाइ बीचमै छाडेर भारत गएको जोगराजले सुनाए ।
घटनापछि परिवारजनले गोवाबाट मनोजको शव बुझेर बिहीबार बिहान भारतकै हरिद्वारमा अन्त्येष्टि गरिसकेका छन् ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार उक्त घटनामा मृत्यु भएका पाँचमध्ये चार जना नेपाली नागरिकको शव मंगलबार र बुधबार गरेर नेपाल ल्याइएको छ।
