नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु हुने २५ जनामध्ये ५ जना पर्यटक र २१ जना कर्मचारी रहेको र ती कर्मचारीमा नेपालका चार जना नागरिक रहेको गोवा प्रहरीले जनाएको हो ।
काठमाडौँ — भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गरेका छन् ।
तीमध्ये ५ जना पर्यटक र २१ जना कर्मचारी रहेको छन् । कर्मचारीमा चार जना नेपाली नागरिक रहेको गोवा प्रहरीले जनाएको छ । उनीहरुको नाम खुलेपनि उनीहरु कुन नेपालको कुन ठाउँका हुन भन्ने नखुलेको गोवा प्रहरीको भनाइ छ ।
तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा शनिबार मध्यराततिर आगलागी भएको थियो ।
गोवाका अग्नि नियन्त्रक प्रमुख नितिन वी. राइकरले भारतीय प्रसारणकर्ता सिएनएन न्युज १८ सँग कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर भएको बताएका छन् । उनका अनुसार क्लबमा पार्टी चलिरहेको र ‘फायर शो’ आयोजना गरिएको समयमा काठका संरचनामा आगो लागेर धुवाँले सम्पूर्ण भवन ढाकिएको थियो ।
अरेबियन समुद्रको तट गोवा भारतका चर्चित पर्यटकिय स्थलमध्ये एक हो । यस वर्षको पहिलो ६ महिनाभित्र गोवामा झन्डै ५५ लाख पर्यटकले भ्रमण गरिसकेका छन् । त्यसमध्ये २७ लाख पर्यटक विदेशी हुन् ।
यसअघि गएको मे महिनामा हैदराबादस्थित तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो । त्यसको एक महिनाअघि कोलकाताको होटलमा लागेको भीषण आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका थिए ।
गत वर्ष पश्चिमी राज्य गुजरातको अत्यधिक भीड भएको एक मनोरञ्जन पार्क–आर्केडमा आगलागी हुँदा पनि कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए ।
