हेलिपोर्टको अनियमितता प्रकरण : अधिकारी र भण्डारीको बयान सकियो, थुनछेक आइतबारलाई सर्‍यो

बयान सकिएलगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए ।

मंसिर १९, २०८२

कान्तिपुर संवाददाता

Heliport irregularities case: Statements of officials and Bhandari completed, detention postponed to Sunday

What you should know

काठमाडौँ — भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान सकिए पनि  थुनछेक बहस भने भएन । 

विशेष अदालतमा  शुक्रबार उनीहरूको बयान  भएको थियो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको इजलासमा थुनछेक बहसका लागि पेशी तोकिएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस हुनुपर्ने भए पनि एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि थुनछेक बहस हुन नसकेको विशेष अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिए । 

विशेष अदालतका अध्यक्ष पौडेलले क्यानमा महानिर्देशक रहेका अधिकारीसँग जोडिएको एक मुद्दाको फैसला उच्च अदालतमा रहँदा सुनुवाइ गरेका कारण हेर्न नमिल्ने भएको हो । बयान सकिएको उक्त मुद्दाको अर्को पेशी आइतबार राखिएको छ।  

बुधबार अख्तियारले अधिकारी र भण्डारीलाई पक्राउ गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तारेख बुझ्न अख्तियार पुगेका दुवै जनालाई त्यहीँबाट पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरिएको थियो। अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा चलाएको हो । 

अधिकारी हेलीपोर्ट निर्माण प्रकरणका साथै सिनामंगलस्थित प्राधिकरणको भवन निर्माण, पोखरा र भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पोखरामा विमान निगरानी गर्ने प्रविधि खरिद प्रकरणमा भएको अनियमितताका समेत आरोपी हुन् ।

कान्तिपुर

Link copied successfully