असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
काठमाडौँ — सुन तस्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो ।
त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।
गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्थासमेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।
