दुर्गा प्रसाईंलाई पक्राउ गर्नेबारे सुरक्षा समिति बैठकमै भएको थियो छलफल

प्रसाईंको अभिव्यक्ति हिंसा भड्काउने किसिमको भएको भन्दै आइतबारको सुरक्षा समितिको बैठकमा उनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुरक्षा प्रमुखहरुले बताएका थिए ।

मंसिर २, २०८२

गौरव पोखरेल

The arrest of Durga Prasai was discussed at the security committee meeting.

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको थियो ।

निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजनाबारे छलफल गर्न बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रसाईंको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनको अभिव्यक्ति हिंसा भड्काउने किसिमको भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने सुरक्षा प्रमुखहरुको भनाइ थियो । 

खासगरी उनले पछिल्लो समय ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र देशै ठप्प हुन्छ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले गम्भीर रुपमा लिएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रहरी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले उनले दिइरहेको अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना भइरहेको विश्लेषण सुनाएका थिए । 

पछि बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको थियो । ‘बैठकको निर्णयमा नाम किटान नगरिए पनि त्यो दुर्गा प्रसाईंकै अभिव्यक्तिलाई लक्षित गरेर गरिएको निर्णय थियो,’ मन्त्रालयका एक अधिकारी भन्छन् । 

केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रसाईंसहितका व्यक्तिहरुको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको बताएका थिए । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रुपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । उनले आन्दोलन घोषणा गरेपछि गृह प्रशासनले छलफलका लागिसमेत बोलाएको थियो । प्रसाईंका तर्फबाट माधव खतिवडासहितको समूहले मन्त्रालय पुगेर २६ बुँदे माग पत्र पेस गरेको थियो । र, आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको थियो । 

तर, प्रसाईंले निरन्तर भड्काउपूर्ण अभिव्यक्ति दिएपछि प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । कडा सुरक्षाकाबीच उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

उनले सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिनेसमेत दाबी गर्दै आएका थिए । अहिले उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन । मंगलबार सरकारी वकिलसँग समेत सल्लाह गरेर उनलाई म्याद थपका लागि अदालत हाजिर गराइने एक प्रहरी अधिकृतले बताए ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully