केन्द्रीय सुरक्षा समितिको निर्णय : जनता आतंकित पार्ने गतिविधि गर्नेलाई कानुनी कारबाही अघि बढाइने

दुर्गा प्रसाईं समूह र निकोलस भुषाललगायतका समूहले निर्वाचन बिथोल्न गतिविधिहरू गर्न सक्ने विषय पनि बैठकमा कुरा उठेको थियो ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Central Security Committee decision: Legal action will be taken against those who engage in activities that terrorize the public

What you should know

काठमाडौँ — केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका दौरान हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाईका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

स्रोतका अनुसार दुर्गा प्रसाईं समूह र निकोलस भुषाललगायतका समूहले निर्वाचन बिथोल्न गतिविधिहरू गर्न सक्ने विषय पनि बैठकमा कुरा उठेको थियो । प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानमा जोडिएर विभिन्न गतिविधिमा संलग्न हुँदै आएका छन् । २६ कात्तिकमा गृह मन्त्रालयले प्रसाईंका तर्फबाट अभियानका ६ सदस्यसँग छलफलसमेत गरेको थियो ।

बैठकले एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गर्दै सेना परिचालनका लागि पनि निर्णय गरेको छ । गृहका प्रवक्ता आनन्द काफ्लेले मंसिर ९ बाट निर्वाचन सुरक्षालक्षित प्रदेशस्तरीय गोष्ठीसमेत गर्ने निर्णय भएको बताए । 

सुरक्षा समितिको आजको बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथि, नेपाल प्रहरीले आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी थिए ।

कान्तिपुर

Link copied successfully