जेन-जी आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेलाई सरकारले कति रकम निकासा गर्‍यो ?

घाइतेको उपचारमा १ अर्बभन्दा बढी रकम खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ ।

कार्तिक १३, २०८२

सुदीप कैनी

How much money did the government release to the families of those who lost their lives and the injured in the Gen-G movement?

काठमाडौँ — २३ भदौमा भएको जेन-जी आन्दोलन र भोलिपल्टको प्रदर्शनका क्रममा ७६ जनाले ज्यान गुमाए । त्यस क्रममा २५ सय ७१ जना घाइते भए ।

अहिले पनि देशभरका अस्पतालमा १३ जना घाइतेको उपचार जारी छ । जसमध्ये ११ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् ।

मृतकमध्ये ५३ जनाका परिवारलाई सरकारले १५ लाखका दरले ७ करोड ९५ लाख राहत रकम वितरण गरिसकेको छ । यसका अलवा सरकारले घाइतेहरुको उपचारमा समस्या नहोस् भनेर प्रत्येक घाइतेलाई २० हजारका दरले रकम दिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार कुल २५ सय ७१ जना घाइते उपचारका लागि अस्पताल आएका थिए । उनीहरूको भैपरी खर्चबापत सरकारले साढे ४८ लाख रुपैयाँ निकासा गरिसकेको छ ।

घाइतेको उपचारमा १ अर्बभन्दा बढि रकम खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । तर घाइतेको उपचार भएका अस्पतालहरुबाट बिल आउन बाँकी भएका कारण खर्च विवरण एकिन हुन नसकेको स्वास्थ मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । उनले भने, 'जुन अस्पतालमा सबैभन्दा बढी घाइतेले उपचार गराए, ती अस्पतालमा नै अझै घाइतेहरु उपचारमै रहेकाले एकमुष्ट खर्च विवरण आउन सकेको छैन ।'

उनका अनुसार कतिपय डिस्चार्ज भइसकेका घाइते पनि थप उपचारका लागि पुन: अस्पताल भर्ना हुने गरेकाले खर्चको अन्तिम विवरण आउन समय लाग्ने देखिन्छ । सरकारले घाइतेको उपचारका लागि छुट्टै क्लिनिकसमेत सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित समाचार 

५३ मृतकका परिवारलाई राहत

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully