२५ सय १७ घाइतेमध्ये १३ जना अझै उपचाररत
What you should know
काठमाडौँ — २३ र २४ भदौमा प्रदर्शनका क्रममा ज्यान गुमाएका ७६ मध्ये ५३ जनाको परिवारलाई १५ लाखको दरले आर्थिक सहायता उपलब्ध गराइएको छ । अघिल्लो दिन २२ आन्दोलनकारी र भोलिपल्ट ४१ प्रदर्शनकारी, १० कैदीबन्दी तथा ३ प्रहरीको मृत्यु भएको थियो ।
मृतकमध्ये सनाखत नभएका, कैदीबन्दी र विदेशी नागरिक गरी २३ जनाको परिवारलाई भने आर्थिक सहायता उपलब्ध गराइएको छैन ।गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ५३ मृतकका परिवारलाई गरी ७ करोड ९५ लाख वितरण भएको छ ।
मृतकमध्ये काठमाडौं चुच्चेपाटी, धरान र विराटनगरका भाटभटेनी स्टोरमा जलेका अवस्थामा भेटिएका १२ जनाको शव सनाखत हुन सकेको छैन । परिवार पहिचान नभएका कारण राहत उपलब्ध नगराइएको उनको भनाइ छ । बाँकेको बाल सुधार गृह, रामेछाप र धादिङ कारागारबाट भाग्ने क्रममा मृत्यु भएका १० जनाको परिवार र काठमाडौंको एक होटलबाट भाग्ने क्रममा लडेर मृत्यु भएकी भारतीय महिलाको परिवारलाई पनि राहत रकम उपलब्ध नगराएको आचार्यले बताए ।
मन्त्रिपरिषद् बैठकले ३० भदौमा मृतक नेपाली नागरिकका परिवारलाई १० लाख आर्थिक सहायता र ५ लाखका दरले काजकिरियालगायत थप खर्च दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार घाइतेले अस्पतालबाट उपचार सेवा लिने र त्यसको खर्च विवरण अस्पतालले मन्त्रालयमा पठाउने गरी काम भइरहेको छ ।
केही घाइते अझै अस्पतालमा उपचाररत रहेकाले खर्च रकम अहिल्यै यकिन हुन नसक्ने उनको भनाइ छ । भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजारका दरले रकम भने दिइएको छ । मन्त्रालयका अनुसार २३ र २४ भदौमा गरी २५ सय ७१ जना घाइते उपचारका लागि अस्पताल आएका थिए । उनीहरूको भैपरी खर्चबापत सरकारले साढे ४८ लाख रुपैयाँ निकासा गरेको छ ।
देशभरका अस्पतालमा १३ जना घाइतेको उपचार जारी रहेको उनले बताए । १३ मध्ये ११ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । राष्ट्रिय ट्रमा सेन्टरमा ५, त्रिवि शिक्षण अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, अन्नपूर्ण न्युरोमा १, नोबेल मेडिकल कलेज विराटनगरमा १ र सञ्जीवनी मेडिकल साइन्सेजमा १ घाइते उपचार गराइरहेका छन् ।
घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण गर्न थालिएको आचार्यले बताए । आन्दोलनमा ७६ जनाले ज्यान गुमाएकामा ५० जनाको मृत्यु अस्पतालबाट पुष्टि गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
