सिजनअगावै हिमपातले पर्यटक आपत्‌मा, किसान पनि चिन्तित

मुस्ताङमा स्याउ खेतीमा क्षति, घरसमेत चुहिन थाले मुक्तिनाथमा डेढ फिटसम्म हिउँ, तिलिचो हिँडेका पर्यटक बीचबाटै फर्कंदै

कार्तिक १२, २०८२

भानुभक्त निरौला, आश गुरुङ, दीपक परियार, केदार शिवाकोटी

Pre-season snowfall poses a disaster for tourists, farmers are also worried

What you should know

पोखरा,  सोलुखुम्बु,  लमजुङ र  दोलखा — सिजनअगावै परेको हिमपातले स्याउका ५ सय बोट नष्ट गरेपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिंगाका कृषक छेवाङ नाम्ग्या गुरुङ चिन्तित छन् । बाक्लो हिमपातका कारण स्याउका हाँगा भाँचिएका छन् । वार्षिक ७ लाख रुपैयाँको स्याउ बिक्री गर्दै आएकामा अर्को वर्ष आम्दानी घट्ने चिन्ता उनको छ । 

सोमबार रातिदेखिको निरन्तर हिमपातले खिंगामा मात्र स्याउका २५ हजार बोट प्रभावित भएको उनले बताए । माथिल्लो मुस्ताङमा स्याउ खेती धेरै भएको यही खिंगा गाउँ हो । 

स्याउ टिपिसकेको तर पात नझरिसकेको अवस्थामा हिउँ पर्दा स्याउका बोटका हाँगा भाँचिएको उनले बताए । ‘पात नझर्दै हिउँ परेपछि हाँगाले थेग्न नसकेर भाँचिएका छन्,’ उनले भने, ‘धेरै रूख सग्ला छैनन्, हिउँले हाँगा भाँचिएर तितरवितर भएका छन् । घरसमेत चुहिन थालेका छन् ।’

उनका अनुसार मुक्तिनाथ क्षेत्रमा मंगलबार पनि दिनभर नै हिउँ पर्‍यो । मुक्तिनाथ क्षेत्रमा डेढ फिटसम्म र कागबेनीमाथिको गाउँ खिंगामा आधा फिटजति हिउँ जमेको छ । यसअघि सन् २०१६ को सेप्टेम्बरमा पनि हिमपात भएको थियो । सन् २०१९ को हिउँदमा पनि बाक्लो हिउँ परेको थियो । ‘तर अहिले बेमौसममा परेको हिउँले किसानलाई निराश बनाएको छ,’ उनी भन्छन्, ‘यो हिउँ मंसिरमा परेको भए बल्ल उवाँ, जौ, आलुका लागि राम्रो हुन्थ्यो, चरन क्षेत्रमा पनि घाँस पलाउँथ्यो । तर चाँडै हिउँ परेकाले स्याउका बोटमा समेत क्षति पुगेको छ, किसान चिन्तित छन् ।’

मुक्तिनाथ क्षेत्रमा हिमपातले बिजुलीका पोल र रूख ढलेर ठाउँठाउँमा तार चुँडिएकाले विद्युत् अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमिश गुरुङले बताए । ‘मोटरसाइकल हिउँमा चिप्लिने समस्या भएकाले कागबेनीको प्रहरी बिटबाटै सावधानी अपनाउन अनुरोध गर्‍यौं,’ उनले भने, ‘फर्कने पर्यटकलाई पनि चिसोबाहेक अरू समस्या भएन, आत्तिनुपर्ने अवस्था छैन ।’ 

८ कात्तिकमा दैनिक ९ हजार पर्यटक मुस्ताङ प्रवेश गरेको तथ्यांक रहे पनि मंगलबार भने तीन हजारमा झरेको उनले सुनाए । ‘मुस्ताङ आएका पर्यटक अहिले कागबेनीबाट माथि जान नसकेको अवस्था छ,’ उनले भने, ‘हिमपात रोकिएपछि फेरि पर्यटक आगमन बढ्छ होला ।’

Pre-season snowfall poses a disaster for tourists, farmers are also worriedयस्तै मनाङको तिलिचो ताल (४९१९ मिटर) तर्फ हिँडेकाहरू एक्कासि हिमपात भएसँगै गन्तव्यमा पुग्न नसकी फर्कन बाध्य भएका छन् । हिमपात रोकिनुको सट्टा बढ्दै गएको र थप बढ्न सक्ने डरले उनीहरूले बेसक्याम्प छाडेका छन् । तिलिचो ताल पुगेर फर्किएका बेंसीसहरका कृष्ण लामिछानेले केही पर्यटक तिलिचो तालसम्म पुगेर बेसक्याम्प फर्किएको र केही बेसक्याम्पबाटै तल फर्किएको बताए । ‘यता बस्ने ठाउँ नै छैन, न खाङसारमा बस्ने ठाउँ छ, तल्लो क्षेत्र झर्नुबाहेक कुनै उपाय भएन,’ उनले भने । तिलिचोका लागि खाङसार सबैभन्दा अन्तिम गाउँ हो । त्यसमाथि श्रीखर्क र तिलिचो बेसक्याम्पमा होटल छन्, तर बस्ने ठाउँ सीमित छ । 

मनाङ ङिस्याङ–९ खाङसारका वडाध्यक्ष च्योल्पा गुरुङका अनुसार सोमबार सुरु हिमपात मंगलबार रातिसम्म पनि रोकिएको छैन । बेसक्याम्पबाट मात्र मंगलबार ८ सय जना झरेको उनले बताए ।  

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले खाङसारसम्मको बाटो जसोतसो खुलाएर पर्यटकलाई सुरक्षित रूपमा तल्लो क्षेत्रमा ल्याउन पहल थालिएको बताए । हिउँ पन्छाउन मनाङ ङिस्याङ गाउँपालिका र निर्माण व्यवसायीसँगको समन्वयमा माथिल्लो मनाङमा एउटा र हुम्डेदेखि सदरमुकाम चामेतर्फ अर्को डोजर प्रयोग गरिएको छ । सडक खुलाउन सावेल र बेल्चासहित सुरक्षाकर्मी परिचालन गरिएको छ । एक जना बिरामी परेकाले उद्धार गरेर हुम्डे स्वास्थ्य चौकीमा राखेर उपचार गराइरहेको उनले बताए । 

मनाङमा चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल (४,९१९ मिटर), थोराङ्ला पास (५,४१६ मिटर), हिमलुङ हिमाल (७,१२६ मिटर) आरोहणका लागि पर्यटक आएका छन् । मनाङमा यो समय आन्तरिक तथा बाह्य गरी करिब ३ हजार पर्यटक रहेको अनुमान छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का रेन्जर प्रकाश अधिकारीका अनुसार हिमपातका कारण पर्यटक गन्तव्यतर्फ जान रोकिएका छन् । उनका अनुसार मनाङमा एक सातादेखि दैनिक २ सय हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् । उनले मनाङको माथिल्लो क्षेत्रमा मात्र १५ सयसम्म विदेशी पर्यटक हुन सक्ने बताए । उनीहरू प्रायःको गन्तव्य थोराङ्ला भएकाले बसेकै होटलहरूमा रोकिएको उनले बताए । 

अन्नपूर्णका दुई आधार शिविर सुरक्षित

अन्नपूर्ण प्रथम हिमालका उत्तरी र दक्षिणी आधार शिविरमा पनि सोमबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ । पुरानो र चल्तीको कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात भए पनि पर्यटक सुरक्षित रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले बताए । उनका अनुसार यो पदयात्रा मार्गमा हाल ८० प्रतिशत आन्तरिक पर्यटक छन् ।

सोमबार मात्र ४ सय पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । ‘मौसम गडबड भए पनि पर्यटक ओहोरदोहोर नै गर्न नसक्ने गरी हिउँ परेको छैन,’ उनले भने, ‘चिसो बढेको छ तर हिउँ देखेर पर्यटक रमाएका पनि छन् ।’ माछापुच्छ्रे आधार शिविरबाट माथिल्लो भेगमा मात्र हिउँ परेकाले आवतजावतमा खासै कठिनाइ नभएको उनले सुनाए । 

बाक्लो हिमपातपछि पर्यटकलाई अप्ठेरो पर्न सक्ने भएकाले मंगलबार उद्धार टोली पठाइएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतबहादुर पुन बताउँछन् । उनका अनुसार सोमबार करिब एक सय पर्यटक आधार शिविरतर्फ गएका थिए । सशस्त्र प्रहरीका ५, प्रहरीका ४ र स्थानीय इन्द्र शेरचनसहित १० जनाको उद्धार टोली आधार शिविरतर्फ पठाइएको उनले जानकारी दिए । 

खुम्बु क्षेत्रमा हिमपात रोकियो

सोलुखुम्बुको खुम्बु क्षेत्रमा सोमबारदेखि भएको हिमपात मंगलबार साँझ रोकिएको छ । दिङबोचे माथिको क्षेत्रमा डेढ फिट बाक्लो हिउँ जमेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए । 

Pre-season snowfall poses a disaster for tourists, farmers are also worriedमाथिल्लो क्षेत्रमा हिमपात रोकिए पनि पर्यटकलाई होटलभित्र सुरक्षित बस्न सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए । उनका अनुसार हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सयभन्दा बढी पर्यटक होटलभित्रै बस्न बाध्य भएका छन् । नाम्चेभन्दा तल्लो क्षेत्रमा बिहानैदेखि परेको अविरल वर्षा पनि मंगलबार साँझ रोकिएको स्थानीय छिमिकाल्देन शेर्पाले बताए ।

खुम्बु क्षेत्रमा पदयात्रामा रहेका पर्यटकलाई स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल जारी गरेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बताएकी छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि सूचना जारी गर्दै पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । 

फर्किए पर्यटक 

दोलखामा च्छो–रोल्पा र रोल्वालिङ क्षेत्रमा पदयात्रामा गएका पर्यटक पनि हिमपातका कारण फर्कन बाध्य भएका छन् । त्यस क्षेत्रमा पुगेका पर्यटक ना र बेदिङ झरेका छन् । च्छो–रोल्पा र ना गाउँमा निरन्तर हिमपात भइरहेको स्थानीय दावाछिरिङ शेर्पाले बताए । चीनसँग सीमा जोडिएको लप्चीमा पनि पर्यटकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । 

भानुभक्त

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

केदार

Link copied successfully