नवनियुक्त स्वास्थ्यमन्त्रीलाई चुनौतीको चाङ

नवनियुक्त स्वास्थ्यमन्त्रीले स्वास्थ्य क्षेत्र सुधारको काम कहाँबाट सुरु गर्लिन ? के उनले चालेका कदमबाट स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधानको पाइला सुरु होला ?

कार्तिक ११, २०८२

कृपाल गौतम

A challenge for the newly appointed Health Minister

What you should know

काठमाडौँ — स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा झन्डै तीन दशक बिताएकी डा.सुधा शर्मा शुसिला कार्की नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेपछि उनले स्वास्थ्य क्षेत्र सुधारको काम कहाँबाट सुरु गर्लिन भन्ने चासो सुरु भएको छ ।

२०६८ सालमा सचिवबाट अवकाश पाएर १४ वर्षपछि पुनः स्वास्थ्य मन्त्रालय छिरेकी शर्माका सामु स्वास्थ्य क्षेत्र सुधार मुख्य मुद्दाहरु के छन भन्नेबारे हामीले बुझाउने प्रयास गरेका छौं । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइकी थिइन् । के पुग नपुग साढे चार महिना लामो उनको कार्यकालमा सुधारका छनकहरु देखिएलान त ?

जनशक्ति व्यवस्थापन : अहिले सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको ठूलो अभाव छ । देशभर जम्मा ३२ हजारको दरबन्दी छ । जबकि चिकित्सक, नर्स तथा पारामेडिक्स गरी कम्तीमा पनि १ लाख जनशक्ती थप आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । मुलुकका तीनै तहमा स्वास्थ्य संस्था थपिइरहने तर जनशक्ति पर्याप्त नहुने हुँदा स्वास्थ्य सेवामा नागरिकको पहुँच झन् जटिल बन्दै गइरहेको छ । के उनले यो समस्या चिर्न कुनै पाइला चाल्लिन ?

प्रभावकारी स्वास्थ्य बिमा : स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन अहिले सबैभन्दा पेचिलो बिषय बनेको छ । सर्वसाधरणले पनि सुलभ र सहज उपचार पाउन भनेर ९ वर्षअघि सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएको थियो । तर, सरकारी अस्पतालले समेत कार्यान्वयन गर्न नसक्दा नागरिकले दुःख पाइरहेका छन् । स्वास्थ्य बिमा नियमावली, २०७५ को व्यवस्थाअनुसार बिमित बनेपछि प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । तर,बिमितको नवीकरण दर प्रत्येक वर्ष घट्दो छ । अनि बिमा बोर्डको बक्यौता २४ अर्ब हाराहारीमा पुगेको छ । के यसको सुधारमा नवनियुक्त मन्त्रीले केही काम सुर गर्लिन ? 

उपकरणको अभाव : स्वास्थ्य क्षेत्रमा उपकरण अभाव र दुरूपयोगको समस्या नयाँ होइन् । सरकारले उपकरण खरिदमा बर्सेनि २ अर्ब भन्दा बढी खर्च गर्ने गर्छ । तर,उपकरण व्यवस्थापनमा मनपरी छ । चाहिएको ठाउँमा उपकरण नहुने तर भनसुन र दबाबका आधारमा नचाहिएका ठाउँमा लगेर थन्क्याउने प्रवृत्ति छ । यसलाई अन्त्य गर्दै सही व्यवस्थापनमा केही काम होला त ?

नर्सको समस्या समाधान- सरकारीसरह पारिश्रमिक माग गर्दै देशका विभिन्न निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्स कात्तिक ४ देखि कालोपट्टी बाँधेर काममा छन् । नेपाल नर्सिङ संघले कात्तिक १८ सम्म माग पूरा हुने वातावरण बनाउन सरकारलाई समयसीमा दिएको छ । मन्त्रालयले यसअघि नै सरकारी सरह तलब सुविधा दिन निर्देशन दिएकोपनि धेरै स्वास्थ्य संस्थाले कार्यान्वयन गरेका छैनन् । उसै त नर्सिङ जनशक्ति पलायन भइरहेको अवस्थामा न्युन पारिश्रमीकमा काम गर्नुपर्दा पलायनको क्रम झन् बढ्ने जोखिम छ । नर्स आन्दोलित बनेपछि पोखराको मणिपाल र गण्डकी मेडिकल कलेजको सेवा पछिल्लो दुई सातादेखि प्रभावित छ । बहिरंग सेवा खुला रहे पनि दुवै अस्पतालले नयाँ बिरामी भर्ना लिएका छैनन् । यो समस्या सुल्झाउन नवनियुक्त मन्त्रीको पहल कस्तो होला ? 

कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully