किस्ट अस्पताल र आफन्तबीच सहमति, अस्पतालले सन्तानको जिम्मा लिने

अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने निर्णय गरेको ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

कार्तिक १०, २०८२

विवेक पोख्रेल

KIST Hospital and relatives reach agreement, hospital will take custody of child

What you should know

काठमाडौँ — किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरीको क्रममा मृत्यु भएकी महिलाको सन्तानको पालनपोषण र शिक्षाको जिम्मा अस्पतालले लिने भएको छ । शुक्रबार खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरीपश्चात मृत्यु भएपछि परिवारले अस्पतालमाथि लापरबाहीको आरोप लगाउँदै आज अस्पतालमा प्रदर्शनका साथै तोडफोडसमेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफलपछि अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने निर्णय गरेको ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

राई सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालले बताए पनि चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले 'किस्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे' लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सोमबार मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि अस्पताल क्षेत्रको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसहित २४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भीडले अस्पतालमा ढुंगामुढासमेत गरेका थिए ।

त्यसपछि सीडीओ, अस्पताल प्रशासन र मृतकका आफन्तसहितको छलफल भएको हो । राईको मृत्युपछि अस्पताल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मृतकका माइला दाइ चित्र राईका अनुसार बहिनी चिकित्सकले दिएको समयमै स्कुटर चढेर किस्ट अस्पताल पुगेकी थिइन् । ‘नियमित रुपमा किस्ट अस्पतालमै चेकअप गराउँदै आएकी बैनी चिकित्सकको सल्लाहबमोजिम डेलिभरी गराउन आएकी थिइन्,’ राईले भने, ‘चिकित्सकले हातको प्रयोग गरेर बच्च तानेर निकाले र त्यसको असरले ब्लिडिङ बढी भयो । दुई पटकसम्म ब्लिडिङ रोक्न अप्रेसन गरिएपनि नरोकिएर बहिनीको मृत्यु भएको भयो ।’  

आफूहरूसँग सल्लाह नै नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा ज्यान गुमाउनु परेको राईको दाबी छ । अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको र आफ्नो बैनीलाई प्रयोगशाला बनाएको उनको आरोप छ ।

छलफलमा अस्पतालले आफ्नो गल्ती स्वीकार गरेको समेत राईले बताए । पालनपोषण र शिक्षासँगै बालबालिकाको भविष्य सुरक्षित गर्न अस्पतालले बिमा (इन्सुरेन्स) सुविधा उपलब्ध गराउनुपर्ने परिवारको अस्पतालसँग माग थियो । मृतको शव भोलि नै पोस्टमार्टम गरेर परिवारले बुझ्नेछ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully