लक्ष्मीपूजाकै दिन विपिनको शव घर पुग्यो

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिन जोशीको शव दुई वर्षपछि सोमबार अबेर साँझ कञ्चनपुरस्थित घरमा पुर्‍याइएको हो । 

कार्तिक ३, २०८२

भवानी भट्ट

Bipin's body reached home on the day of Lakshmi Puja

What you should know

कञ्चनपुर — तिहार नजिकिँदै गर्दा विपिन जोशीकी बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो, ‘दाइलाई जसरी पनि तिहारमा घर पुर्‍याइदिनु, मैले दाइलाई भाइटीका लगाउँछु ।’ उनले दुई तिहार दाइकै खोजीमा बिताइन् । अहिले पनि तिहार सुरु भइसकेको छ । तर यसपटक पनि पुष्पाका दाइ विपिन आएनन् । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि तिहारको लक्ष्मीपूजाका दिन कफिनमा घरमा पुग्यो । 

सोमबार अबेर साँझ धनगढी उपमहानगरपालिकाको शव वाहनमा कफिनमा शव घरमा पुग्दा सबैको रुवाबासी चल्यो । बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पालाई सम्हाल्नै मुस्किल भयो । घरमा पुगेका आफन्तदेखि सबैका आँखा रसाएका थिए । 

जब शव वाहनबाट कफिन निकालेर आँगनमा राखियो, बुबा महानन्द त्यसमै झुन्डिए । उनी विपिनको नाम लिँदै डाको छाडेर रुन थाले । त्यतिबेला सबैका आँखाबाट आँसु झर्न थाल्यो । त्यसपछि उनलाई कफिन खोलेर शव देखाइयो । आमा पद्मा रुँदारुँदै बेहोस भइरहेकी छन् । बहिनी पुष्पा पनि त्यस्तै हालतमा छन् । 

Bipin's body reached home on the day of Lakshmi Puja

‘परिवार दुई वर्षदेखि विपिनको प्रतीक्षामा थियो, अहिले शव घरमा आइपुग्यो, त्यो पनि तिहारकै बेला,’ बिचपुरीका स्थानीय भन्छन्, ‘परिवार मात्रै होइन गाउँ टोल नै शोकमा छ, यस्तै कसैमा नपरोस् ।’ 

विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नका लागि आमा पद्मा र बहिनी पुष्पा अमेरिका पुगेका थिए । असोज ८ मा अमेरिका गएका उनीहरू गत बिहीबार मात्रै घर फर्किएका थिए । उनीहरू संयुक्त राष्ट्र संघका महासचिवदेखि अन्य अधिकारीहरूलाईसमेत भेटेका थिए । त्यसअघि साउन अन्तिम साता उनीहरु इजरायलसमेत पुगेका थिए । इजरायलमा विपिनको रिहाइका लागि आयोजना गरिएको र्‍यालीमा सहभागितासँगै इजरायलका राष्ट्रपतिदेखि प्रधानमन्त्री लगायतलाई उनीहरुले भेटेका थिए । 

नेपालमा पनि जोशी परिवारले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पटक पटक भेटेर आवश्यक पहल गरिदिन हारगुहार नगरेका होइनन् । तर हरेक पटक उनीहरूले पाउने एउटै जवाफ थियो, ‘हामी पहल गरिरहेका छौं ।’ तर नेपालबाट सार्थक पहल हुन नसकेकै कारण अहिलेको अवस्था आएको आफन्तहरू बताउँछन् । 

Bipin's body reached home on the day of Lakshmi Puja

सोमबार दिउँसो इजरायलबाट काठमाडौं ल्याइएको विपिनको शव सेनाको स्काई ट्रकबाट धनगढी ल्याएर त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमा घरसम्म पुर्‍याइएको हो । उनको भोलि मंगलबार महाकाली नदीमा अन्तिम संस्कार गरिने विपिनका दाइ किशोरले बताए । शव बुझ्न उनीसहित आफन्तहरू धनगढी विमानस्थल पुगेका थिए । 

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर आफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । तर कुन समयमा भन्ने उल्लेख छैन । 

Bipin's body reached home on the day of Lakshmi Puja

सोमबार लक्ष्मी पूजाको दिन । झिलिमिली पर्व तिहारले सबैका घरमा उल्लास छ । तर विपिनको घर भएको भीमदत्त नगरपालिका ३ बिचपुरी टोलमा पनि अन्धकार छ । कसैले पनि झिलिमिली बालेका छैनन् । लक्ष्मी पूजा पनि नगर्ने टोलवासीहरु बताउँछन् । 

‘आज गाउँ नै शोकमा छ, यस्तोमा कसरी तिहार मान्न सकिन्छ ?’ स्थानीय रवि चन्दले भने, ‘हिजो अस्ति झिलिमिली बालेकाहरुले पनि आज निभाएका छन् ।’ टोलमा भएको यस्तो दुखद घटनाले सबैलाई दुखी बनाएको उनले बताए । 

Bipin's body reached home on the day of Lakshmi Puja

विपिनको शव घरमा पुगेपछि नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई बास दूतावासका कर्मचारीसहित घरमा पुगेका छन् । उनले परिवारका सदस्यहरूसँग भेट गरेका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए । उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका हुन् । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको सोमबार पुष्टि भएको हो । इजरायल र हामासबीच युद्धविराम भएपछि सोमबार शव हस्तान्तरण गरिएको थियो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully