विपिनको शव सोमबार साँझ नेपाली सेनाको स्काई ट्रकबाट धनगढी विमानस्थल पुर्याइएको हो । शव सोमबार राति नै उनको घर पुर्याउन लागिएको छ ।
What you should know
काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय विपिन जोशीको शव सोमबार साँझ ६:३० बजे धनगढी ल्याइ पुर्याइएको छ । नेपाली सेनाको स्काई ट्रकबाट धनगढी विमानस्थल पुर्याइएको हो ।
विपिनको शव सोमबार राति नै उनको घर पुर्याउने लागिएको छ । धनगढी उपमहानगरपालिकाको शव वहानद्वारा विपिनको शव घर पुर्याइँदै छ । कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका निवर्तमान सांसद तारा लामा तामाङ धनगढी विमानस्थल पुगेका छन् । इजरायली राजदूत पनि साथै आएका छन् ।
सोमबार नै उनको शव घर पुर्याउने र मंगलबार बिहान अन्तिम संस्कार गर्ने तयारी छ । धनगढी विमानस्थलदेखि शव वहानलाई प्रहरीले स्कर्टिङ गरेर घरसम्म पुर्याउन लागिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश रानाभाटले बताए ।
प्रदेश सरकारद्वारा २ लाख राहत
सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार प्रदेश सरकारले हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका सात जनाका परिवारलाई यसअघि नै जनही दुई लाख राहत प्रदान गरिएको बताएका छन् ।
७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सिमाजोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो । एक महिनापछि इजरायली सेनाले विपिनको जीवित भिडियो फेला पारेको थियो ।
इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेको थियो । तेलअबिबस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनले डीएनए परीक्षण गरी शव विपिनको भएको पुष्टि गरेको थियो ।
परिवारलाई प्राप्त पत्रअनुसार विपिनको टाउकोमा लागेको गोलीले मृत्यु भएको दाबी गरिएको छ । तर, उनले कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि अझै भएको छैन ।
