विपिनको कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन ।
What you should know
काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं ल्याइएको छ । तर उनको कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि भएको छैन । अन्तिम दाहसंस्कारका लागि शवलाई नेपाली सेनाले सोमबारै महेन्द्रनगरतर्फ लगेको छ । उनको अन्तिम दाहसंस्कार मंगलबार गर्ने परिवारको तयारी छ ।
७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किबुजबाट बन्धक बनाएर लिएर गएको थियो । त्यसको एक महिनापछि हमासद्वारा नियन्त्रणमा रहेका विपिनको जीवित भिडियो इजरायली सेनाले सार्वजनिक गरेको थियो ।
इजरायल र हमासबीच भएको युद्धलाई अन्त्य गर्न भन्दै अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअन्तर्गत इजरायल र हमासबीच सबै बन्धक र प्यालेस्टिनी कैदीलाई रिहाइ गर्ने सहमति कार्यान्वयनका क्रममा २७ असोजमा हमासले विपिन मारिएको भन्दै शव हस्तान्तरण गरेको थियो । मंगलबार तेल अविवस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनले डीएनए परीक्षण गरी शव विपिनको भन्दै पुष्टि गरेको थियो ।
उनको परिवारलाई उपलब्ध गराइएको इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ का चिकित्सक डा. विनात स्वार्ज मिल्नरले हस्ताक्षर गरेको पत्रमा विपिनको टाउकामा लागेको गोलीका कारण उनको मृत्यु भएको उल्लेख छ । तर विपिनको कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि भएको छैन । इजरायल र हमासले एकअर्कालाई आरोप लगाएका छन् । इजरायली सेनाको हवाई आक्रमणमा परी विपिन मारिएको हमासको दाबी छ भने इजरायलले हमासले हत्या गरेको दाबी गरेको छ ।
हमासले २५१ जना बन्धक बनाएर लगेको थियो । तीमध्ये इजरायलले ३३ जना बन्धकको शव पाएको थियो ।विपिनको शव नेपालमा पुनः फरेन्सिक परीक्षण कानुनी, कूटनीतिक र वैज्ञानिक दृष्टिले महत्त्वको विषय भएको विज्ञहरू बताउँछन् । नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी देश वा परिवारलाई सम्बन्धित देशले जारी गरेको फरेन्सिक रिपोर्टमाथि चित्त नबुझे नेपालमा पुनः फरेन्सिक परीक्षण गर्न सकिने अभ्यास रहेको बताउँछन् । ‘यो नितान्त परिवारले माग गर्ने विषय भयो, त्यो मागमा सरकारले पनि आवश्यक छ भने हेर्न सक्छ,’ उनी भन्छन्, ‘घटनास्थल मुलुकबाहिर छ । इजरायलले नै फरेन्सिक रिपोर्ट दिएको छ । त्यस आधारमा परिवारलाई क्षतिपूर्ति पनि दिने विषय भयो । इजरायलले आफ्नो नागरिकसरह नै क्षतिपूर्ति दिने भनिसकेको अवस्था छ ।’
अधिकारीका अनुसार विपिनको मृत्युसँगको पूरा विवरण भने इजरायलले दिने फरेन्सिक रिपोर्टमा भर पर्नेछ । ‘नजिकबाट गोली हानेको हो कि होइन ? बम विस्फोट भएर लागेको हो कि होइन भन्ने विषय प्रस्ट हुन आवश्यक छ,’ उनी भन्छन् । इजरायलले विस्तृत फरेन्सिक रिपोर्ट दिइएको छ कि छैन भन्ने विषयलाई सरकारले सार्वजनिक गरेको छैन ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख गोपाल चौधरीका अनुसार सरकार र परिवारले चाहेको खण्डमा विपिनको शवको नेपालमा पनि पुनः फरेन्सिक परीक्षण गर्न सम्भव छ । उनका अनुसार विपिनको यसअघि नै इजरायलमै शव परीक्षण गरिसकिएकाले दोस्रो पटक शव परीक्षण गर्दा सबैभन्दा पहिला त्यहाँ उल्लेख भएका तथ्यलाई पुनः पुष्टि गर्ने काम हुन्छ । ‘शवको अवस्थाले पनि फरेन्सिक जाँच प्रक्रिया तथा परिणाममा अर्थ राख्छ, नेपालमा शव परीक्षण नै गर्न नमिल्ने भन्ने हुँदैन,’ उनले भने ।
गृह मन्त्रालयका एक अधिकारीले परिवारबाट फरेन्सिक परीक्षणका लागि माग नभएको जनाए । ‘परिवारबाट पुनः फरेन्सिक परीक्षण गर्न अनुरोध भएको छैन, यसले इजरायलबाट जारी प्रतिवेदनलाई नै स्वीकार गरेको देखिन्छ,’ ती अधिकारीले भने ।
शव नेपाल ल्याइएपछि प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिएका थिए ।
