प्रदर्शनका क्रममा कैदीलाई भाग्न नदिएका इन्सपेक्टर राईलाई ‘साहसिक पुरस्कार’

नेपाल प्रहरी अनाश्रित गुल्म, डिल्लीबजारमा कार्यरत इन्सपेक्टर दुर्गा राईको नेतृत्वमा रहेको ७० जनाको प्रहरी टोलीले ६ सय ६९ जना कैदीलाई नियन्त्रणमा राख्न सफल भएको थियो । त्यो क्रममा प्रहरी संरचना र सुरक्षा योजना पुनर्संरचना गरी, कैदीमाथि नियन्त्रण राख्ने प्रभावकारी रणनीति अपनाउन उनको टिम सफल भएको थियो ।

आश्विन ३१, २०८२

विवेक पोख्रेल

Inspector Rai receives 'Courage Award' for preventing prisoner escape during protest

What you should know

काठमाडौँ — भदौ २४ को प्रदर्शनका क्रममा कैदीहरूलाई भाग्न नदिई आफ्नो जिम्मेवारी निभाएका प्रहरी निरीक्षक (इन्सपेक्टर) दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरिएको छ । नेपाल प्रहरी अनाश्रित गुल्म, डिल्लीबजारमा कार्यरत इन्सपेक्टर राईलाई शुक्रबार ७०औं प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले पुरस्कार प्रदान गरेका हुन् ।

इलाममा जन्मिएका राईले २०७७ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका धेरै प्रहरी चौकीमा आगजनी हुँदा र कैदीहरू भाग्ने घटना भइरहँदा, राईको नेतृत्वमा रहेको डिल्लीबजार अनाश्रित गुल्ममा भने कैदी भाग्न सकेनन् । राईको नेतृत्वमा रहेको ७० जनाको प्रहरी टोलीले ६ सय ६९ जना कैदीलाई सुरक्षित राख्न सफल भएको थियो । त्यो क्रममा उनले प्रहरी संरचना र सुरक्षा योजना पुनर्संरचना गरी, कैदीमाथि नियन्त्रण राख्ने प्रभावकारी रणनीति अपनाउन उनको टिम सफल भएको थियो । 

इन्सपेक्टर राईका अनुसार, प्रदर्शनका बेला केही समूहहरूले कैदीहरूलाई उक्साउने प्रयास गरे पनि प्रहरी टोलीले संयमता, बुद्धिमत्ता र साहसिक ढंगले त्यसको प्रतिकार गरेको थियो । उनका अनुसार उक्त समयमा  सुरक्षालाई प्राथमिकता दिँदै कैदी, प्रहरी जनशक्ति र हतियार सबै सुरक्षित राख्न सफल उनको टिम सफल भएको थियो । 

सेनामा आफन्त भएकाले सुरक्षा सेवाप्रति आकर्षण भएको बताउने राईले अपराध अनुसन्धान, भीआईपी सुरक्षा, सम्पत्ति शुद्धीकरण, वित्तीय अपराध नियन्त्रण र साइबर क्राइम सम्बन्धी तालिम लिएका छन् ।

सिराहा, मोरङ र प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा सेवा गरिसकेका राई सार्वजनिक प्रशासनमा स्नातकोत्तर  गरेका छन् । यसअघि पनि उनले छ वटा विभागीय पुरस्कार प्राप्त गरिसकेका थिए । 

दिवसको अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक कृष्णबहादुर रानालाई ‘लाइफटाइम अचिभमेण्ट अवार्ड’,  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरेका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully