प्रदर्शनका क्रममा रामेछापलाई सुरक्षित राख्ने डीएसपी भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’

भदौ २४ को प्रदर्शनका क्रममा रामेछापमा कुनै क्षति हुन नदिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ ।

आश्विन ३१, २०८२

विवेक पोख्रेल

DSP Bhatta receives 'Full Peace Award' for keeping Ramechhap safe during protests

What you should know

काठमाडौँ — भदौ २४ को प्रदर्शनका क्रममा रामेछापमा कुनै क्षति हुन नदिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको छ । नेपाल प्रहरीको ७०औं वार्षिकोत्सवका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत डीएसपी भट्टलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।धादिङमा जन्मिएका भट्टले २०५५ सालमा सहायक निरीक्षक (असई) का रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

खुला प्रतिस्पर्धाबाट २०६७ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा पदोन्नति पाएका उनले प्रहरी अपराध अनुसन्धान (सीआईबी) मासमेत काम गरेका छन् ।

भट्टले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा संलग्न अभियुक्त पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेल्नेदेखि दुर्लभ एकसिंगे गैंडा मारेको आरोपमा फरार कुख्यात सिकारी राजकुमार प्रजालाई मलेसियाबाट पक्राउ गर्नसम्मका महत्त्वपूर्ण अभियोजनमा भूमिका निर्वाह गरेका थिए । उनले अर्बौं रुपैयाँको चिरु तस्करी प्रकरण पत्ता लगाउन पनि सक्रिय भूमिका खेलेका थिए ।

फौजी सेवा रोज्नु अघि ‘शिक्षक बन्ने सपना’ बोकेका भट्टले द्वन्द्वकालीन समयदेखि प्रहरी सेवामा कार्यरत रहँदै विभिन्न इलाका प्रहरी कार्यालयहरूमा प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि वीरेन्द्र ऐश्वर्य सेवा पदक, परदेश सेवा पदक, संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसन पदक लगायतका सम्मान प्राप्त गरिसकेका छन् । भट्ट दुईपटक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा द्वन्द्वग्रस्त सडानमा समेत खटिइसकेका प्रहरी हुन् । दुई विषयमा स्नातकोत्तर गरेका उनले हाल कानुन विषयमा थप अध्ययन गरिरहेका छन् । भट्ट आफ्नो जिम्मेवारी, अनुशासन र सेवाभावका कारण संगठनभित्र उदाहरणीय अधिकृतका रूपमा परिचित छन् ।

दिवसको अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक कृष्णबहादुर रानालाई ‘लाइफटाइम अचिभमेण्ट अवार्ड’,  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully