नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई शुक्रबार ७०औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
What you should know
काठमाडौँ — नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यस वर्षको ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ बाट सम्मानित भएका छन् । भण्डारीलाई शुक्रबार ७०औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्यूठानमा जन्मिएका भण्डारीले २०६२ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा सुरु गरेका थिए । सुर्खेत, दाङ, बारा, रुपन्देही, कपिलवस्तु, सल्यान, सुनसरी र काठमाडौंमा सेवा गरेका उनले २०७४ सालमा नायब उपरीक्षकमा पदोन्नति पाए ।
उनी निरन्तर रूपमा अपराध अनुसन्धानमा सक्रिय रहँदै आएका छन् । भण्डारीले ६० किलो सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन प्रकरण, बाँसबारी जग्गा प्रकरण लगायतका संवेदनशील अनुसन्धानमा भूमिका निर्वाह गरेका छन् । कपनकी व्यवसायी निरु पाण्डे आचार्यको हत्या देखि विभिन्न जिल्लाका हत्यासम्बन्धी अपराधका घटनामा अनुसन्धान गरेको उनको अनुभव छ । उनकी टिम पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंक घोटालाको अनुसन्धान गरेको थियो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका भण्डारीको परिवार हाल बुटवलमा बसोबास गर्दै आएको छ । उनी परिवारको एक्ला छोरा हुन् । यसअघि भण्डारीले ‘पूर्ण शान्ति पुरस्कार’ सहित ३१ वटा पदक तथा प्रशंसा पत्रहरू प्राप्त गरिसकेका छन् । उनीसंग संयुक्त राष्ट्रसंघीय शान्ति मिसन खटिएको अनुभवसमेत छ ।
सीआईबीमा दुई वर्षदेखि कार्यरत भण्डारीलाई सहकर्मीहरूले अनुशासित, अध्ययनशील र विश्लेषणमा दक्ष अनुसन्धान अधिकृतका रूपमा वर्णन गर्छन् ।
दिवसको अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाइफटाइम अचिभमेण्ट अवार्ड’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।
