सबै बन्धकको रिहाई नभएसम्म हामी विपिन जीवित रहेको आशावादी छौं : दाजु किशोर जोशी
What you should know
काठमाडौँ — इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी प्राप्त भएको बताएका छन् ।
उनले बहुराष्ट्रिय सेनाले जोशीको गाजा क्षेत्रभित्र रहेको हमासको सुरुङभित्र खोजी भइरहेको तर हालसम्म अवस्था अज्ञात रहेको जानकारी दिए ।
‘बिहान इजरायलको ७:३० बजे इजरायली सेनाबाट फोन आयो । म, विपिनको दाजु किशोर जोशी, बहिनी पुष्पा जोशी र इजराली सेनाको प्रतिनिधिबीच सामूहिक रुपमा भिडियो कलमा कुराकानी भयो । त्यसमा इजरायली सेनाले विपिन जोशी जीवितको सूचीमा नरहेको सूचना आधिकारीक रुपमा बताए,’ पण्डितले कान्तिपुरसँग भने ।
विपिनको शव प्राप्त भइ नसकेको र बहुराष्ट्रिय सेनाले टनेलभित्र खोजिरहेको उनले बताए । त्यसपछि इजरायलले पछिल्लो अपडेट दिइसकेको छैन । विपिन जोशीलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएर लिएर गएको थियो ।
त्यो बैठकमा सहभागी विपिनका दाजु किशोर जोशीले सबै बन्धकको रिहाई नभएसम्म आफूहरु विपिन जीवित रहेकोमा आशावादी रहेको बताए । ‘बिहान इजरायली पक्षसँग कुरा भयो । उनीहरुले २० जनाको जीवित सूचीमा नपरेको जानकारी दिए । तर जबसम्म सबै बन्धकको रिहाई हुँदैन । तबसम्म हामी आशामा बसेका छौं,’ उनले भने ।
विपिनको अवस्थामाथि परराष्ट्र मन्त्रालयले भने कुनै औपचारिक जानकारी दिएको छैन ।
*अन्यथा परेकाले सच्याइएको ।
सम्बन्धित अन्य समाचारहरु
हमासले रिहाई गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक, विपीनको नाम उल्लेख छैन
विपिन रिहाइको 'काउन्टडाउन’ सोमबार अपराह्न २ : ४५ सम्म
इजरायल-हमास युद्ध : बन्धक 'डिल'देखि युद्धविराम सहमतिसम्म केके भयो ?
