देशभरका २२ मालपोत र १४ नापी कार्यालयमा क्षति

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाधनी दर्ता स्रेस्ता र रोक्का अभिलेख अद्यावधिक गर्न मालपोत कार्यालयहरूलाई निर्देशन दिएको हो।

आश्विन २६, २०८२

रमेशकुमार पौडेल, रञ्जना बिसी, तर्कराज भट्ट

Damage to 22 cargo ships and 14 survey offices across the country

What you should know

कैलाली, चितवन, डँडेलधुरा — २४ भदौमा प्रदर्शनका क्रममा देशभरका २२ भूमिसुधार तथा मालपोत कार्यालय र १४ वटा नापी कार्यालयमा क्षति पुगेको छ । मुलुकका १० वटा मालपोत कार्यालय पूर्ण रूपमा क्षति भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । ती भूमि सुधार तथा मालपोत कार्यालयमा क्षति हुँदा जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख नष्ट भएको छ । क्षति भएका कार्यालयहरूमा नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न विभागले शुक्रबार परिपत्र गरेको छ ।

विभागले भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी कैलाली, नेपालगन्ज बाँके, घोराही दाङ र विराटनगर मोरङ र मालपोत कार्यालय, तुलसीपुर दाङ, पोखरा कास्की, भरतपुर चितवन, खैरहनी चितवन, कलंकी काठमाडौं र बुटवल रूपन्देहीलाई परिपत्र जारी गरेको हो । यी कार्यालय पूर्ण रूपमा क्षति भएको समेत विभागले जनाएको छ ।

मालपोत कार्यालय कलंकीको मात्रै रोक्का, थैली सबै गरी साढे दुई लाख स्रेस्ता जलेको प्रमुख रविन ढकालले बताए । नापी कार्यालय, कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ । ६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज र कुर्सीहरू जलेको कार्यालयले जनाएको छ ।

कार्यालयका सबै अभिलेख भने सुरक्षित रहेको नापी कार्यालय कैलालीका प्रमुख जनकराज भट्टले बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेख सुरक्षित छन् । सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’ उनले भने । कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको उनको भनाइ छ ।

केही सामान्य कागजात जले पनि महत्त्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । २४ भदौदेखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सञ्चालन भएको कार्यालयले जनाएको छ । क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनर्निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले बताए ।

आगलागीबाट नापीभन्दा भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा बढी क्षति पुगेको छ । यद्यपि मालपोतले पनि आफ्नो सबै काम सञ्चालन गरिसकेको छ । आगलागीबाट कार्यालयका तीन वटा कोठामा पूर्ण क्षति पुगेको कार्यालयका सूचना अधिकारी दिलाराज भट्टको भनाइ छ । लालपुर्जा केही मात्रामा जले पनि अन्य सबै विवरण सुरक्षित रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भौतिकतर्फ भवनमा क्षति पुगेको छ । तीन वटा गाडी, दुई मोटरसाइकल, सबै कोठाका कम्प्युटर, स्क्यानर र प्रिन्टर नष्ट भएका छन् । विभिन्न ठाउँबाट कम्प्युटर, प्रिन्टर, वायरिङलगायतको सहयोग पाएपछि काम सुरु भएको सूचना अधिकारी भट्टले बताए । पछिल्लो प्रदर्शनपछि भने राजस्व संकलनमा भारी गिरावट आएको छ ।

प्रदर्शनका क्रममा मालपोत कार्यालय डँडेलधुराका महत्त्वपूर्ण अभिलेखमा आगजनी हुँदा जग्गा–जमिनसम्बन्धी महत्त्वपूर्ण विवरण मेटिएका छन् । यसले जग्गाधनीहरूले स्रेस्ता कायम गर्न झन्झट बेहोर्नुपर्ने अवस्था सिर्जना गरेको छ । आन्दोलनका क्रममा कम्प्युटर, कुर्सी, टेबल, झ्यालका सिसा फुटाइएको र तीन वटा मोठ जलाइएको मालपोत कार्यालयका प्रमुख कमलापति भट्टले बताए ।

मोठ भनेको जग्गा–जमिनको सम्पूर्ण विवरण राखिएको प्रारम्भिक अभिलेख हो । ती अभिलेख नष्ट हुँदा सम्बन्धित जग्गाको कारोबार तत्काल गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ । आगलागीमा केही लेखा–स्रेस्ता र छुटजग्गा दर्तासम्बन्धी फाइलहरूसमेत जलेका छन् ।

कार्यालयले अनलाइन प्रणालीमा रहेका अभिलेख रिकभर गर्ने प्रयास गरिरहेको छ । ‘अनलाइनमा भएका स्रेस्ता भेटिए जग्गाधनीहरूलाई ठूलो समस्या पर्नेछैन,’ भट्टले भने, ‘तर अनलाइनमा नभेटिएका अभिलेखहरूका हकमा केही दिनभित्र सूचना प्रकाशन गरी वैकल्पिक प्रक्रिया अघि बढाइनेछ ।’

प्रदर्शनका क्रममा आगजनी हुँदा भरतपुरको मालपोत कार्यालयमा रहेका लगभग सबै कागजपत्र र अभिलेख जलेर नष्ट भएका छन् । भवनसमेत प्रयोगमा आउन नमिल्ने गरेर क्षति भएपछि मालपोत कार्यालयले अहिले लेखनदासहरूले उपयोग गर्दै आएको कार्यालय परिसरमा रहेको जस्ताले छाएको टहरोबाट सेवा सुरु गरेको छ । पहिला कार्यालय भवनको २७ वटा झ्यालमा सेवाग्राहीको भीड लाग्थ्यो । अहिले पाँचवटा झ्यालबाट मालपोत कार्यालयको सेवा प्रवाह भएको छ ।

कार्यालयले सीमित सेवा मात्रै दिन सुरु गरेको छ । खास गरेर बैंकमा धितो राख्न दृष्टिबन्धक सेवाका लागि मात्र स्रेस्ता कायम र अद्यावधिकको निवेदन लिने, दृष्टिबन्धक रोक्का फुकुवा, अनलाइन पोस्टिङ भएका जग्गाको शेषपछिको बकस पारित गर्ने र नगद अंक भरपाइको लिखत पारित गर्ने सेवा भरतपुर मालपोत कार्यालयले सुरु गरेको छ । जग्गा नामसारी, अंशबन्डा जस्ता सेवाहरू अझै सुरु हुन सकेका छैनन् । ‘अब तिहारपछि अरू सेवा सुरु होला,’ मालपोत कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले भने ।

अस्थायी भवन बनाउने काम भइरहेका हुँदा भवन बनेलगत्तै अन्य सेवा सुरु गर्ने योजना रहेको उनले बताए । स्रेस्ता कायम गर्न वडा कार्यालयबाट सिफारिस ल्याएर आउनुपर्ने भएको छ । सिफारिसका लागि वडामा सक्कल जग्गाधनी पुर्जा, सक्कल नागरिकता, बसाइँसराइको प्रमाणपत्र, मालपोत तिरेको रसिद, स्थानीय तहले गरेको सर्जमिन मुचुल्कासहित कम्तीमा ९ वटा प्रमाण पेस गर्नुपर्छ ।

रत्ननगर नगरपालिका–१२ का हरि कट्टेल शुक्रबार मध्याह्न भरतपुर मालपोत कार्यालयमा भेटिए । बैंकमा जग्गा धितो राख्ने प्रक्रिया पूरा गर्न उनी आएका थिए । उनले काम सुरु गरेको तेस्रो दिन भएको थियो । पहिलो दिन स्रेस्ता कायम गर्न सिफारिस ल्याउन वडा कार्यालयमा तीन घण्टा बिताउनुपरेको थियो । शुक्रबार काम पूरा हुने आशामा थिए उनी । दिनमा ४० देखि ५० को हाराहारीमा यसरी स्रेस्ता कायम गर्न आउने गरेको अधिकारीले बताए ।

विभागले नष्ट भएको जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न विभिन्न आधार दिई मालपोत कार्यालयलाई स्रेस्ता तयार गर्न निर्देशन दिएको छ । जग्गाधनीसँग भएको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा र भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) मा भएको अभिलेख भिडे स्रेस्ता प्रिन्ट गरी नयाँ स्रेस्ता कायम गर्न निर्देशन दिएको छ ।

अभिलेख फरक पर्न गए डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) मा भएको अभिलेखसँग भिडान गर्ने र अभिलेख भिडेको अवस्थामा एलआरआईएमएसमा विवरण अद्यावधिक गरी जग्गाको स्रेस्ता प्रिन्ट गरी नयाँ स्रेस्ता कायम गर्न सकिनेछ । जग्गाधनी दर्ता प्रमाण पुर्जा पेस नभए वा पेस भएको प्रमाणबाट यकिन हुन नसकिए आवश्यकताअनुसार हकभोगसम्बन्धी स्थानीय तहको सिफारिस, स्थलगत सर्जमिन र सार्वजनिक सूचना गर्न सकिने विभागले जनाएको छ ।

नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता कायम गर्दा नापी कार्यालयको फिल्डबुक, प्लट रजिस्टर, नक्सा, मालपोत कार्यालयको तामेली अभिलेख, व्यक्तिसँग भएको सक्कल पारित लिखत र एलआरआईएमएस प्रणालीको रेकर्डबाट सरकारी सार्वजनिक तथा दर्ता बाँकी जग्गा हो/होइन यकिन गर्नसमेत विभागले निर्देशन दिएको छ ।

नष्ट भएको रोक्का अभिलेखलाई अद्यावधिक गर्न एलआरआईएमएस प्रणालीमा भएको रोक्का रेकर्डलाई साविक गाविसअनुसार प्रिन्ट गरी रोक्का किताब तयार गर्ने र डीएमएसमा रहेको अभिलेख भिडाइ अद्यावधिक गर्नुपर्नेछ । रोक्का राख्ने संवैधानिक निकाय, बैंक तथा वित्तीय संस्था, प्रशासनिक निकाय तथा न्यायिक निकायहरूलाई रोक्का राखिएको अचल सम्पत्तिको विवरण उपलब्ध गराइदिन पत्राचार गर्ने र प्राप्त विवरणलाई भिडाइ अभिलेख अद्यावधिक गर्न मालपोत कार्यालयलाई भनेको छ ।

भूमिसम्बन्धी ऐन नियमबमोजिम (हदबन्दी र अनिवार्य बचत आदि) रोक्का राखिएका जग्गाको अभिलेख भूमिसुधार तथा मालपोत कार्यालयबाट माग गरी अद्यावधिक गर्ने भनेको छ । नष्ट भएको स्रेस्ता अद्यावधिक भएपछि उक्त स्रेस्ताबाट कारोबार गर्दा ऋणी धनी जानकारी दिई लिखत पारित गर्ने व्यवस्था मिलाउनसमेत विभागले निर्देशन दिएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

रञ्जना बिसी

तर्कराज भट्ट

Link copied successfully