गजुरमुखीबाट उद्धार गरिएका घाइतेलाई इटहरीबाट स्थलमार्ग हुँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिँदै छ ।
काठमाडौँ — इलामको माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । ‘गम्भीर घाइतेहरुलाई लिएर आएको हेलिकोप्टर धरान र विराटनगरमा अवतरण हुन सकेन, त्यसपछि इटहरीमा अवतरण गरायौं,’ उनले कान्तिपुरसँग भने, ‘इटहरीबाट स्थलमार्ग हुँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै छौं ।’
इलाममा गएराति गएको पहिरोमा परेर २३ जनाको मृत्यु भइसकेको छ । विपद्मा आवश्यकताअनुसार तत्काल परिचालित हुने गरी नेपाली सेनाले हेलिकोप्टर तैनाथ राखेको थियो ।
गृह मन्त्रालयले निजी सेवा प्रदायकहरुसँग समेत समन्वय गरेर थप हेलिकोप्टरहरु स्ट्यान्ड बाई राखेको थियो ।
