हस्ताक्षर अभियानले कांग्रेसमा हलचल : अब विशेष कि नियमित महाधिवेशन ?

जेन–जी आन्दोलनले उठाएको परिवर्तनका माग सम्बोधन गरेर पार्टीको नीति र नेतृत्व तत्काल परिवर्तन गर्नुपर्ने निष्कर्षसहित संस्थापन इतर पक्षले थाल्यो हस्ताक्षर अभियान 

आश्विन ८, २०८२

कुलचन्द्र न्यौपाने

The signature campaign stirred up the Congress: now a special or regular convention?

काठमाडौँ — जेन–जी आन्दोलनले उठाएको परिवर्तनका माग तत्काल सम्बोधन गरेर जाने कि यथास्थितिमै पार्टी चलाउने भन्नेमा कांग्रेसभित्र मतभेद बढेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह पार्टीको नीति र नेतृत्व तत्काल परिवर्तन गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशनको पक्षमा जुटेको छ । जबकि संस्थापन पक्ष यसका लागि तयार देखिएको छैन । 

तत्काल विशेष अधिवेशनको माग गर्दै सोमबार संस्थापन इतरका १ सय ९ जना केन्द्रीय प्रतिनिधिले सांकेतिक हस्ताक्षरसमेत गरिसकेका छन् । बुधबारदेखि भने औपचारिक रूपमा हस्ताक्षर अभियान सुरु गरिने संस्थापन इतरका नेता गुरुराज घिमिरेले जानकारी दिए ।

कांग्रेसमा विषम परिस्थितिमा केन्द्रीय कार्यसमिति आफैंले निर्णय गरेर पनि विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान छ । यसका लागि केन्द्रीय कार्यसमिति तयार नभएको खण्डमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको कम्तीमा ४० प्रतिशतले हस्ताक्षरसहित निवेदन दिएमा पनि सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानमा उल्लेख छ ।

यी दुवै परिस्थितिका लागि संस्थापन पक्ष सकारात्मक नभएपछि महामन्त्रीद्वय थापा र शर्मा खेमाका प्रतिनिधि हस्ताक्षर अभियानको तयारीमा जुटेका हुन् । ४ हजार ७ सय ५७ केन्द्रीय प्रतिनिधि रहेको कांग्रेसमा विशेष अधिवेशन बोलाउनका लागि कम्तीमा १ हजार ९ सय ३ हस्ताक्षर आवश्यक पर्छ ।

‘विशेष महाधिवेशन बोलाउनुपर्ने एजेन्डासहितको ‘फर्म्याट’ बनाउन प्राविधिक रूपमा केही ढिलाइ हुँदा बुधबारदेखि औपचारिक रूपमा हस्ताक्षर संकलन थाल्नेछौं,’ घिमिरेले भने, ‘२८ सयदेखि ३ हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य छ ।’ घिमिरेले अझै धेरै प्रक्रिया बाँकी नै रहेकाले मंसिरमा नियमित महाधिवेशन हुन नसक्ने दाबी गर्दै थपे, ‘अहिलेको विषम परिस्थितिमा टालटुले समाधानले हुँदैन ।’ 

नेतृत्वमाथि भ्रष्टाचार, बेथिति र कुशासनका प्रश्न तेर्सिएको टिप्पणी गर्दै नेता घिमिरेले यस्तो परिस्थिति किन आयो र कसका कारणले आयो भन्ने प्रश्नको जवाफ खोज्न पनि कार्यकारी निकायबाट सम्भव नहुने जिकिर गर्छन् ।

‘कतै हामीले लिएकै नीति र चालेका कदमले त यस्तो अवस्था आएको होइन ? यी यावत् सवालका बारेमा छलफल गर्न अब कार्यकारी निकायबाट सम्भव हुन्न, विशेष महाधिवेशन नै आवश्यक पर्छ,’ घिमिरेले भने, ‘त्यसका लागि केन्द्रीय कार्यसमिति आफैंले बोलाए राम्रो, नभए हामी ४० प्रतिशतको हस्ताक्षर गरेर निवेदन दिन्छौं ।’ 

नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्छ : शेखर कोइराला [अन्तर्वार्ता]

महामन्त्री थापाले पनि देशमा यत्रो उथलपुथल भएको अवस्थामा पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउँछु भन्नु सम्भव नहुने बताउँछन् । ‘हामीले जहिले पनि सही कुरा उठायौं तर बीचमै छाड्यौं, यो पटक छाड्दैनौं,’ थापाको जोड छ । नेता शेखर कोइरालाले पनि अविलम्ब महाधिवेशन बोलाउनुपर्नेमा आफू प्रस्ट रहेको बताए ।

उनले सकेसम्म मंसिरमै नियमित महाधिवेशन गराउनुपर्ने, त्यसो हुन नसके विशेष महाधिवेशन बोलाएर भए पनि पार्टीले नीति र नेतृत्वमा तत्काल परिवर्तन गर्नुपर्ने बताए । ‘महाधिवेशनका लागि अब समय लम्ब्याउन हुन्न भन्नेमा म प्रस्ट छु । सकिन्छ भने मंसिरभित्रै नियमित महाधिवेशन गरौं, सकिँदैन भने विशेष महाधिवेशनमा भए पनि जानुपर्छ,’ कोइरालाले भने, בत्यसका लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गरौं ।’ 

विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वय थापा र शर्माले खेलिरहेको भूमिकाप्रति संस्थापन पक्ष भने असन्तुष्ट देखिएको छ । संस्थापन पक्षका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेका पाँच पूर्वपदाधिकारीको बैठकले भने तत्काल विशेष महाधिवेशन वा मंसिरभित्र नियमित महाधिवेशन कुनै पनि सम्भव नभएको निष्कर्ष निकालेको छ । उक्त बैठकमा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रकाशशरण महत उपस्थित थिए ।

पार्टी प्रवक्तासमेत रहेका महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहेको अवस्थामा नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको कुरा उठाउनु मानवीय रूपमा पनि ठीक नभएको बताए ।

The signature campaign stirred up the Congress: now a special or regular convention?

‘पार्टी सुधार नगरौं भन्ने पक्षमा हामी पनि होइन तर उपचाररत सभापति फर्कन नपाउँदै विशेष महाधिवेशन बोलाउने कुरा गर्नु, अहिल्यै नेतृत्व हटाउनुपर्छ भन्नु राम्रो होइन,’ महतले थपे, ‘सभापति आएपछि केन्द्रीय कार्यसमितिको बैठकबाट के–कसरी अघि बढ्ने भन्नेमा छलफल गर्न सकिन्छ ।’ २४ भदौमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सभापति देउवा र पत्नी आरजु राणा देउवा छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

तर, महामन्त्री थापा र शर्माले कांग्रेसभित्रका युवा जमातको भावना सम्बोधन गर्न पार्टीको नीति र नेतृत्व नै बदल्नुपर्नेमा जोड दिँदै आएका छन् । महामन्त्री थापाले गत शनिबार भिडियोमार्फत नीति र नेतृत्वका लागि हस्तक्षेप गर्ने सन्देश दिइसकेका छन् ।

‘यत्रो उथलपुथल भएको छ, के हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौं ? यो सम्भव छैन,’ थापाले भनेका छन् । पार्टी पुनर्गठन नभए आन्दोलनमा व्यक्त भावना र युवाको अपेक्षा सम्बोधन गर्न नसकिने उनले बताएका छन् ।

थापाले २०१४ मा पनि विशेष महाधिवेशन भएकाले यस पटक पनि विशेष महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न सकिने बताएका छन् । ‘०१२ सालमा निर्वाचित सुवर्णशमशेर राणा नेतृत्वको कार्यसमितिले विशेष महाधिवेशनको निर्णय गर्‍यो ।

वर्णजीले राजीनामा दिएर बाटो खोलिदिनुभयो र ०१४ मा बीपी कोइराला सभापति बन्नुभयो । त्यही नेतृत्वले कांग्रेसलाई दुई तिहाइ बहुमतसहितको पार्टी बनायो । आज फेरि त्यस्तै अवसर आएको छ,’ थापाले भनेका छन् । 

प्रवक्ता महतले भने नेतृत्वले चाहेमा पुराना क्रियाशील सदस्यताको नवीकरण गर्ने, दुई महिनाका लागि नयाँ सदस्यता खोल्ने, विधानका धारा निलम्बन गरी सिधै केन्द्रीय अधिवेशन गर्ने गरी नियमित महाधिवेशनमा समेत जान सकिने विकल्प प्रस्तुत गरेका छन् । त्यसो नभएमा १४ औं महाधिवेशनका मतदाता प्रतिनिधिबाट विशेष महाधिवेशनमा जान सकिने विकल्प पनि रहेको उनी बताउँछन् । 

अहिले खैलाबैला गर्ने बेला होइन, विशेष महाधिवेशनले पार्टीलाई क्षतविक्षत बनाउँछ : कृष्णप्रसाद सिटौला [अन्तर्वार्ता]

सहमहामन्त्री जीवन परियारले पनि कोइराला र थापाबीच एजेन्डामा फरक मत नरहेको बताए । ‘विशेष महाधिवेशन बोलाएर पार्टीका नीति, कार्यक्रम र नेतृत्वको चयन हुनुपर्छ भन्नेमा महामन्त्री र शेखर दाइबीच फरक मत छैन, यो हामी सबैको एजेन्डा हो,’ परियारले भने ।

केन्द्रीय सदस्य नैनसिंह महर भने विशेष महाधिवेशनमा गएर पार्टीभित्र विभाजनको रेखा कोर्नुभन्दा तीन महिनापछि नियमित महाधिवेशनमै जानुपर्ने धारणा राख्छन् । आगामी मंसिरदेखि वर्तमान सभापतिसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यको कार्यकाल सकिने हुँदा त्यसै मितिमा नियमित महाधिवेशन गर्न सकिने उनले बताए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully