अब यो र ऊ पक्ष भनेर जान हुँदैन । महाधिवेशनका लागि वातावरण बनाउनुपर्छ । त्यसका लागि सकिन्छ भने दसैं अगाडि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्यो । होइन, बैठक तीन, चार दिनसम्म लम्बिन्छ भन्ने हो भने दसैंलगत्तै बोलाउनुपर्यो । सभापतिले बोलाउन सक्नु भएन भने उपसभापतिले बोलाउनुपर्यो ।
कांग्रेसमा नयाँ राजनीतिक परिस्थितिका बीच तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै आइतबारदेखि हस्ताक्षर अभियान सुरु भएको छ । जेन-जी आनन्दोलनपछि पार्टीभित्र नीति र नेतृत्वको रुपान्तरण आवश्यक रहेको निष्कर्षका साथ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापनपक्षको असहमतिका बीच हस्ताक्षर सुरु गराएका छन् । संस्थापनपक्ष र महामन्त्रीबीचको यो कित्ताकाटमा नेता शेखर कोइराला कहाँ छन् भन्ने प्रश्न उठेको छ । यसै सन्दर्भमा कान्तिपुरका कुलचन्द्र न्यौपानेले उनीसँग गरेको संक्षिप्त कुराकानी ।
जेन–जी आन्दोलनपछि कांग्रेसलाई पुनर्गठन गर्नुपर्ने माग राखेर दुई महामन्त्रीको अगुवाइमा विशेष महाधिवेशनको पहल भइरहेको छ, यो मुद्दामा तपाईं कहाँ हुनुहुन्छ ?
म हिजो जहाँ थिएँ, आज त्यहीँ छु । दुई वर्ष अघिदेखि नै मैले नियमित महाधिवेशनको मुद्दा उठाउँदै आएको हुँ । आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ भनेर पार्टी केन्द्रीय कार्यसमितिमा र सार्वजनिक रूपमा पनि बोल्दै आएको हो । जेन–जी आन्दोलनपछि अब चाँडै नै अधिवेशन गर्नुपर्छ भन्नेमा म दृढ छु । सकिन्छ मंसिरमै नियमित महाधिवेशन गरौं, अहिलेको कार्यसमितिको म्याद मंसिरमा सकिने भएकाले अब म्याद थपेर नजाऊँ । नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनका लागि पनि केन्द्रीय कार्यसमितिले बोलाउन सक्छ । त्यसका लागि पहिला पार्टीको बैठक बोलाएर छलफल चलाउनुपर्छ । अब हामीले महाधिवेशनलाई लम्ब्याउन हुन्न । निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व लिएर निर्वाचनमा जानुपर्छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइरहेका बेला तपाईंको खोजी गरिरहेका छन् नि ?
अब यो र ऊ पक्ष भनेर जान हुँदैन । महाधिवेशनका लागि वातावरण बनाउनुपर्छ । त्यसका लागि सकिन्छ भने दसैं अगाडि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्यो । होइन, बैठक तीन, चार दिनसम्म लम्बिन्छ भन्ने हो भने दसैंलगत्तै बोलाउनुपर्यो । सभापतिले बोलाउन सक्नु भएन भने उपसभापतिले बोलाउनुपर्यो । त्यही केन्द्रीय कार्यसमितिले मंसिरमै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्नेबारे निर्णय लिनुपर्छ । नयाँ क्रियाशील सदस्यताको टुंगो नलाग्ने हो भने १४ औं महाधिवेशनकै प्रतिनिधिहरूबाट पनि नियमित महाधिवेशन गर्न सकिन्छ । त्यसबारेमा निर्णय लिन तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्छ ।
जेन–जी आन्दोलनले उठाएका मुद्दा र उनीहरूको आकांक्षा सम्बोधन गर्न अब पुरानो पुस्ताले सक्दैन, युवा पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने आवाज उठेको छ नि ?
यो पुस्तान्तरणको मुद्दा मात्रै होइन । पुराना नेतृत्वले अब सक्दैनन् भन्ने हो भने अहिलेकै अन्तरिम सरकारमा सहभागी मन्त्रीहरूको अनुहार हेरौं, उमेर हेरौं । त्यसैले प्रश्न पुस्तान्तरणको मात्रै होइन । हाम्रो पार्टीभित्रकै संरचनालाई हेर्ने हो भने सभापतिबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू त जेन–जी पुस्तालाई प्रतिनिधित्व गर्ने युवाहरू नै हुनुहुन्छ । जेन–जी आन्दोलनको मुख्य माग भ्रष्टाचार र बेथितिका विरुद्ध छ । स्वदेशमै रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने दिशामा छ । यसलाई बुझेर हामीले पार्टीका नीति निर्माण र कार्यक्रममा समेत आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । सरकारले त्यहीअनुसार काम गर्नुपर्ने हुन्छ । सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउनका लागि मात्रै बनेको हो । ६ महिनाभित्र यसले निर्वाचन गराउनुपर्छ । निर्वाचनको काम छाडेर धेरै हातखुट्टा चलाउन खोजियो भने समस्या ल्याउँछ । त्यसैले हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेकै निर्वाचन, निर्वाचन र निर्वाचन हो ।
राजनीतिक दलहरूबाट संसद् विघटन र सरकार निर्माणलाई असंवैधानिक भन्दै निर्वाचनमा जान नहुने धारणा पनि आइरहेका छन् नि ?
राजनीतिक दलहरू निर्वाचनबाट भाग्न हुन्न । सरकारलाई दायाँ–बायाँ गर्न नदिएर निर्वाचनमा डोर्याउन राजनीतिक दलहरूले दबाब दिनुपर्छ । संविधानलाई लिकमा ल्याउनका लागि पनि निर्वाचनमा जानुको विकल्प छैन । कांग्रेसले चाँडै बैठक राखेर यसबारेमा पनि प्रस्ट धारणा बनाउनु जरुरी छ ।
![We should go to the elections with a new leadership: Shekhar Koirala [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/shekharkoiralainterviewphoto07122025107-2392025055926-1000x0.jpg&w=1001&h=0)