अहिले खैलाबैला गर्ने बेला होइन, विशेष महाधिवेशनले पार्टीलाई क्षतविक्षत बनाउँछ : कृष्णप्रसाद सिटौला [अन्तर्वार्ता]

'पार्टीको नेतृत्व तहमा सभापतिबाहेक सबै पदाधिकारी युवा पुस्ताकै हुनुहुन्छ । महाधिवेशनबाट अझै माथि बढ्न पाइहालिन्छ, त्यसमा कसैले रोक्न सक्दैन ।'

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Now is not the time for rioting, special convention will weaken the party: Krishna Prasad Sitaula [Interview]

काठमाडौँ — जेन–जी आन्दोलनले उठाएको परिवर्तनको माग तत्काल सम्बोधन गरेर जाने कि यथास्थितिमै पार्टी चलाउने भन्नेमा कांग्रेसभित्र आन्तरिक कलह बढेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह तत्काल पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशनको पक्षमा जुटेको छ ।

संस्थापन पक्ष भने यसको विरोधमा छ । यही सन्दर्भमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

पार्टी पुनर्गठनको मुद्दा उठाएर विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु भएको छ । यसलाई कसरी लिनुभएको छ ?

अहिले पार्टीभित्र खैलाबैला गर्ने बेला होइन । नियमित महाधिवेशनतर्फ पार्टीलाई लैजानुपर्छ र यसको जिम्मेवारी महामन्त्रीहरुकै हो । क्रियाशील सदस्यता टुंगाउने काम पनि महामन्त्रीहरुकै हो । महाधिवेशनको तयारी नगर्ने तर विशेष महाधिवेशन गर्ने कुरा पार्टीलाई क्षतविक्षत पार्ने कुरा हो । जानेर वा नजानेर हो, यो राम्रो हुँदै होइन । यसले पार्टीको एकतालाई पूरै ध्वस्त पार्छ ।

नेपाली कांग्रेस पार्टी ध्वस्त भएको देख्न चाहनेहरु त खुसी नै होलान् । तर, आजको परिस्थितिमा पार्टीभित्र सम्पूर्ण एकता हुनुपर्ने हो । त्यसका लागि पहल गर्नुपर्ने सभापति शेरबहादुर देउवा गम्भीर घाइते भएर उपचाररत हुनुहुन्छ । घर फर्कनुभएको छैन । आफ्नै सभापति घाइते भएका बेला उहाँकै विरुद्धमा अभियान चलाउनु भनेको एकदमै मानवीय दृष्टिले पनि अनुचित कार्य हो ।

जेन-जी आन्दोलनपछि पार्टीभित्र बृहत् परिवर्तनको माग त उठेको छ नि ?

पार्टीभित्र बैठक बस्न सक्ने अवस्था बनेको छैन । पार्टी कार्यालयमा लागेको आगोको खरानी सफा गर्न भ्याएको छैन । पार्टीका नेताहरुको घरको खरानी उठिसकेको छैन । अहिले विशेष महाधिवेशनका लागि किन हतार भएको हो ?

जेन-जी आन्दोलनले यत्रो परिवर्तन गरायो । अझै पनि पार्टीभित्र युवा पुस्ताको माग र आकांक्षा सम्बोधन नगर्ने हो भने कांग्रेस पार्टी नै असान्दिर्भक हुने खतरा रहेरै यो कदम चाल्नुपरेको भन्ने छ ।तपाईंको बुझाइ के हो ?

यसमा म सहमत छैन । देशभर आगो लागेका बेला पार्टीभित्र पनि आगो लगाउन खोज्नु उपयुक्त हुन्न । यस्तो कामले सांगठनिक रुपमा आगो लाग्छ । यस्तो काम नगर्नु भन्ने मेरो सार्वजनिक सुझाव छ उहाँहरुलाई ।

जेन-जीको माग सम्बोधन गरेर जानुपर्छ भन्ने तपाईंलाई लागिरहेको छैन ?

त्यो त महाधिवेशनले गरिहाल्छ नि । नयाँ र पुराना भन्ने कुरा किन ? महाधिवेशनले सबै तय गरिहाल्छ । हामी अहिले केही पनि छैनौं । पार्टीको नेतृत्व तहमा पार्टी सभापतिबाहेक सबै पदाधिकारी युवा पुस्ताकै हुनुहुन्छ । महाधिवेशनबाट अझै माथि बढ्न पाइहालिन्छ, त्यसमा कसैले रोक्न सक्दैन । अहिले देशभर रहेका सांसद, प्रदेशसभाका सांसद, स्थानीय तहका प्रतिनिधिहरु, केन्द्रीय कार्यसमितिमा हेर्नुहोस्, सबै युवाहरु छन् ।

आगामी तीन महिनामा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यको कार्यकाल सकिँदै छ । मंसिरभित्रै नियमित महाधिवेशन गराउन सकिने अवस्था छ कि छैन ?

महामन्त्रीहरुले चाहनुभयो भने हुन सक्छ । क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी महामन्त्रीहरुकै हो । उहाँहरुले टुंग्याउँछौं भन्नुभएको छ । भदौभित्र टुंग्याउने भनेर आफैले प्रस्ताव ल्याउनुभएको हो । टुंग्याएर गर्दा हुन्छ ।

मंसिरमा नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने तपाईंको भनाइ हो ?

केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्‍यो र छलफल हुनुपर्‍यो । देशभर हाम्रा पार्टीका साथीहरुको कति क्षति भयो, त्यसको मूल्यांकन हुनुपर्‍यो । अहिलेको परिस्थितिको मूल्याकंन गर्नुपर्छ । घटनाकै बारेमा समीक्षा हुनुपर्छ । संसद् विघटन, सरकार गठन र संविधान ट्रयाकबाहिर गएको कुरामा कांग्रेसको दृष्टिकोण के हुने ? भूमिका के हुने भन्नेबारेमा छलफल हुनुपर्छ ।

बैठक बोलाउने कुरा महामन्त्रीहरुले चाहेर हुने हो र ?

सभापतिको घाउ निको हुन त दिनुपर्‍यो नि । त्यसपछि बैठक बोलाए हुन्छ । दसैं र तिहार चाडबाड भइहाल्यो । चाडबाड सबैले मनाउनुपर्छ होला । चाडबाड नै मनाउन नपर्ने गरी किन हतार गर्नुपर्ने छ र ?

घटस्थापनाको दिनमा विशेष महाधिवेशनका लागि हस्ताक्षर भएको छ,  अब कोजाग्रत पूर्णिमाका दिनमा बुझाउने भन्ने छ नि ?

सिंगो नेपाल अराजकताको दलदलमा फसेका बेलामा नेपाली कांग्रेसलाई पनि अराजकतामा फसाउन खोजिएको होला । पार्टीको पनि प्रणाली छ । तरिका छ । महाधिवेशनका लागि प्रस्ताव ल्याउनुपर्ने होला । सचिवालयको गतिविधि के भयो ? रिपोर्ट दिनुपर्ने होला । हामीले सुझाव दिने मात्रै हो । कार्यसमितिको बैठकमा सभापति धेरै बोल्नु हुन्न । महामन्त्रीहरुकै भाषणा सुन्दै आएका छौं । अहिले किन हतार गर्नुपर्ने ?

आफ्नो घरको मुली मान्छेमाथि यत्रो आक्रमण हुँदा मानवीय रुपमा सोच्नुपर्ने हुन्छ । महाधिवेशन भनेको महोत्सव हो । यतिबेला सबै सुरक्षा निकायले हात उठाएका बेलामा कांग्रेस पार्टीको महाधिवेशन कसरी हुने हो ? यी सबै कुराको विशेष परिस्थितिमा विशेष ढंगमा छलफल हुनुहुन्छ । म त प्रस्ट छु–यस्तो गम्भीर असुरक्षा खडा भएका बेलामा पार्टीको महाधिवेशन गर्ने कुरा नै गम्भीर छलफलको कुरा हो । केन्द्रीय कार्यसमितिको निर्णयले महाधिवेशन हुने हो । अहिले केन्द्रीय कार्यसमितिमा बस्ने कुर्ची छैन । बैठक बस्न सकिरहेको छैन । यस्तो बेलामा धेरै गम्भीर भएर सोच्नुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully