पोखरा महानगर : सभागृहमा ‘अस्थायी पोखरा महानगर’

प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्ष र राजस्व शाखा राखिएकाले पोखरा सभागृहमा रहेकाले यहाँ धेरै सेवाग्राही आउँछन् । कतिपय पुराना र नयाँ कम्प्युटर, प्रिन्टर र जिन्सी व्यवस्थापन गरेर महानगरपालिकाले तत्काललाई सेवा प्रवाह थालेको छ ।

आश्विन ८, २०८२

अनुप पौडेल

Pokhara metropolis: ”Temporary Pokhara metropolis” in the hall

कास्की — २४ भदौको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा पोखरा महानगरपालिकाको कार्यालय पूर्णरुपमा क्षतिग्रस्त छ । साविकको भवन भग्नावशेष बनेपछि पोखरा महानगरपालिकाले असोज १ देखि छुट्टाछुट्टै ठाउँ तोकेर सेवा प्रवाह गरिरहेको छ । अन्य शाखा–महाशाखाको तुलनामा राजस्व तिर्न धेरै सेवाग्राही आउँछन् ।

तर, महालेखापरीक्षकको कार्यालयको सर्भरमा समस्या भएपछि राजस्व तिर्न आएकाहरु प्नि फर्कनुपर्ने बाध्यता छ । महालेखापरीक्षकको कार्यालयले असोज १० गतेसम्म सर्भरमा समस्या रहने बताएपछि अहिले राजस्व तिर्न आउने पनि निकै कम छन् । त्यसैले अस्थायी कार्यालयबाट महानगरपालिकाको आन्तरिक व्यवस्थापनको काम बढी भइरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुखको कार्यकक्ष र राजस्व शाखा राखिएकाले पोखरा सभागृहमा रहेकाले यहाँ धेरै सेवाग्राही आउँछन् । कतिपय पुराना र नयाँ कम्प्युटर, प्रिन्टर र जिन्सी व्यवस्थापन गरेर महानगरपालिकाले तत्काललाई सेवा प्रवाह थालेको छ । हाललाई वैकल्पिक ठाउँबाट ‘कामचलाउ’ सेवा मात्र दिन सकिएको मेयर धनराज आचार्यले बताए । ‘अहिले कामचलाउ छ । तत्काल यो रिपोर्ट र सिफारिस नहुँदा काम रोकियो भन्ने कुरामा हामीले प्रिन्ट गरेर दिन थालेका छौं,’ उनले सुनाए, ‘नभए सुरुको दुई दिन हातले नै लेखेर सिफारिस दिएका थियौं । अहिले सबै अभाव छ ।’

प्रदर्शनकारीबाट भएको क्षतिको असर दीर्घकालसम्म देखिने उनको अनुमान छ । पुराना अभिलेख हेरेर दिनुपर्ने सिफारिस दिन पछिसम्म समस्या हुने उनले सुनाए । ‘पुरानो अभिलेख हेरेर दिनुपर्ने सिफारिस सबै रोकिएको अवस्था छ,’ उनले भने, ‘सहरका सबै घरका जन्मदेखि मृत्युसम्मका अन्तिम दस्तावेज राख्ने ठाउँ महानगर हो,’ उनले थपे, ‘अहिले केही नचाहिएको होला, तर जुन दिन जरुरी हुन्छ त्यो हुने छैन । त्यतिबेला समस्या हुन्छ ।’

जिल्ला प्रशासन, मालपोत कार्यालय कास्कीका कागजात जलेकाले पुराना अभिलेख हेरेर गर्नुपर्ने नागरिकता, जग्गासम्बन्धी सिफारिस दिन समस्या हुने देखिन्छ । सम्भावित यस्ता समस्याको विकल्प पहिचान हुन सकेको छैन । ‘महानगरमा नभए जिल्ला प्रशासन, मालपोतमा अभिलेख हुन्थ्यो र भेरिपाइ गर्न सकिन्थ्यो । अहिले सबै चेन नै ब्रेक भएको छ,’ उनले भने, ‘यसको वैकल्पिक हिसाबले कसरी गर्न सकिन्छ भनेर लागेकै छौं । यति समयमा यो परिपूर्ति हुन्छ भन्ने छैन ।’

जेन–जी आन्दोलनअघि पनि महानगरपालिकाको सेवा तितरबितर थियो । महानगरका महाशाखा ठाउँठाउँमा छरिएका थिए । अहिले मुख्य भवन र उक्त भवन बाहिर रहेका महाशाखामा पनि क्षति पुगेको छ । मुख्य भवनबाट प्रवाह हुने सेवा असोज १ देखि पोखरा सभागृह, महानगरकै दमकल भवन, विभिन्न महाशाखाबाट दिन थालिएको छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राखिएको छ । प्रशासन, राजस्व र शहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद्÷उजुरी फस्र्योट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा छन् । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह भइरहेको छ ।

न्यूरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिइएको छ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवद्र्धन केन्द्रसम्बन्धी काम भइरहेका छन् । पोखराका ३३ मध्ये २० वटा वडा कार्यालयमा पूर्ण क्षति पुगेको छ । ६ वटा वडा कार्यालयमा आंशिक र ७ वटामा कुनै क्षति भएको छैन । क्षति पुगेका वडाबाट सरसफाइ गरेर तत्काललाई सेवा प्रवाह सुरु भएको छ ।  

अन्य महानगरको अवस्था के छ ? सम्बन्धित समाचार

अनुप पौडेल

Link copied successfully