भरतपुर महानगर : जसरीतसरी सेवा दिँदै  

भरतपुरका २९ मध्ये नौवटा वडा कार्यालय भवनमा केही भएन । तर महानगरको प्रशासकीय भवनसहित २० वटा वडा कार्यालयका भवनहरूमा तोडफोड र आगजनी भयो ।

आश्विन ८, २०८२

रमेशकुमार पौडेल

Bharatpur Mahanagar: Providing service in any way

चितवन — २४ भदौमा कार्यालय भवन जले पनि भरतपुर महानगरले धेरैसेवा सेवा सुरू भएको घोषणा गरेको छ । जलेका सामान छेउमा राखिएको महानगर परिसरमा खासै चहलपहल छैन । जेनजीले आन्दोलन आव्हान गरेको पहिलो दिन २३ भदौको दिउँसो भरतपुर महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले दुई राउण्ड हवाइफायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको थियो । उक्त क्रममा गोलीका छर्रा लागेर तीन जनासहित १४ प्रदर्शनकारी घाइते भए । दोस्रो दिन काठमाडौं उपत्यकासिहत देशभर प्रदर्शन भड्किएपछि तोडफोड र आगजनी भयो ।

चितवनका अनेकौं सरकारी कार्यालय र भरतपुर महानगरपालिका कार्यालय पनि यसबाट बचेनन् । भरतपुरका २९ मध्ये नौवटा वडा कार्यालय भवनमा केही भएन । तर महानगरको प्रशासकीय भवनसहित २० वटा वडा कार्यालयका भवनहरूमा तोडफोड र आगजनी भयो । तीमध्ये वडा ३, ६, १९ र २१ को कार्यालय भवन प्रयोग गर्न नमिल्ने गरेर क्षतिग्रस्त भएका छन् । ‘भवन प्रयोग नै गर्न नमिल्ने गरेर ध्वस्त जस्तै भए पनि हामीले सबैभन्दा पहिला सेवा सुरू गर्‍यौं,’ भरतपुर–३ का वडाध्यक्ष विकास थापाले भने । कार्यालयआडको नगर स्वास्थ्य इकाइबाट वडा कार्यालयले सेवा सुरू गरेको छ ।

भरतपुरका २, ८,  ९, ११, १२, २५, २६, २७, २८ र २९ नम्बर वडाबाहेक अरू सबैमा तोडफोड र आगजनी भएको हो । महानगर र वडा कार्यालय भवन, त्यहाँका सबै खाले कागजपत्र, फर्निचर जलाएर लगभग ध्वस्त बनाए पनि २६ भदौबाटै सेवा सुरू गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । महानगर कार्यालय परिसरमा रहेका दमकल र विभिन्न मेसिन उपकरणहरू पनि आगो लगाएर क्षति पुर्‍याइएको छ । ‘परल मूल्यमै हिसाब गर्ने हो भने महानगरको कम्तीमा ५० करोड रूपैयाँ बराबरको क्षति भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘राजश्व संकलन सफ्टवेयरका कारणले काम सुरू भएको छैन । सिफारिसलगायतका काम भइरहेका छन् ।’

Bharatpur Mahanagar: Providing service in any way

ठेक्का लागेका आयोजनाको अभिलेख जलेका कारण भुक्तानीमा केही समस्या हुन सक्ने बताए । महानगरले नगर प्रहरीको आवासका लागि बनाएको भवनमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतको कार्यकक्ष बनाएको छ । निर्माणाधीन नयाँ प्रशासकीय भवन तीन/चार महिनाभित्रै प्रयोगमा ल्याउने योजना महानगरको छ । २४ असोजभित्र महानगरले विशेष नगरसभा बस्न गइरहेको पौडेलले बताए । पुनर्निमाणका योजना र त्यसमा लाग्ने बजेटका स्रोत खोज्न दुई वटा समिति बनेको छ । चालू बजेटमा रहेका कम प्रथामिकतामाका योजनालाई कटौती गरेर बजेट जुटाउने महानगरको तयारी छ । पुनर्निमाणमा तत्कालका लागि कम्तीमा ३० करोड रूपैयाँ खर्च गर्नुपर्ने आँकलन गरेको छ ।

महानगरले भरतपुरको मालपोत कार्यालय चितवनलाई १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । २४ भदौ गते प्रदर्शनकारीले आगो लगाउँदा मालपोत कार्यालय जलेर ध्वस्त जस्तै भएको छ । तत्काल सेवा सुरू गर्नका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण खरिदका लागि महानगरले मालपोत कार्यालयलाई सहयोग गरेको हो । मर्मत गर्दै कार्यालयबाट सेवा सुरू गरे पनि चोरी नरोकिँदा महानगरका कर्मचारी चिन्तित छन् । ‘हामीले सेवा दिन सुरू ग¥यौं । विजुली र इन्टरनेटको व्यवस्था गरेका थियौं तर भदौ ३० मा बिजुलीको तार र राउटरसमेत चोरी भयो । अहिले यहाँका सामाग्रीको सुरक्षामा नगर प्रहरीलाई खटाउनु परेको छ,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

अन्य महानगरको अवस्था के छ ? सम्बन्धित समाचार

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully