आगजनीले प्रशासनिक भवन खण्डहर बनेको छ । कानुन, स्वास्थ्य, राजस्व, योजना, सरसफाइलगायत शाखाहरू भत्केका कोठामा कुर्सी–टेबल राखेर काम चलाइरहेका छन् ।
विराटनगर — विराटनगर महानगरपालिकाको आँगनमा निलो त्रिपाल टाँगिएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्की सोही त्रिपालभित्र सर्वसाधारणका मुद्दा मामिलाको छिनोफानो गरिरहेकी छन् ।
न्यायिक समिति प्रमुखका रूपमा बुधबार तीन फरक मुद्दामा सुनुवाइमा सहभागी भइन् । केही दिनअघिसम्म महानगरको इजलास भव्य थियो, झन्डै ‘मिनी अदालत’ जस्तै । तर २४ भदौको प्रदर्शनपछि सिंगो महानगर कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि अहिले महानगरले कठिन परिस्थितिमा सेवा सञ्चालन गरिरहेको छ । ‘कार्यालय ध्वस्त पारिएपछि सर्वसाधारणलाई सेवा रोक्न नपरोस् भनेर यति दुःखका बीच पनि काम गरिरहेका छौं,’ उपप्रमुख निरालाले भनिन्, ‘सेवाग्राहीको कुनै काम रोकेको छैन, रोकिँदैन पनि ।’
आगजनीले प्रशासनिक भवन खण्डहर बनेको छ । कानुन, स्वास्थ्य, राजस्व, योजना, सरसफाइलगायत शाखाहरू भत्केका कोठामा कुर्सी–टेबल राखेर काम चलाइरहेका छन् । योजना शाखाका इन्जिनियर अंकित भट्टराईका अनुसार योजनासम्बन्धी सबै फाइल जलेर नष्ट भएका छन् । ‘अब भुक्तानी कसरी गर्ने भन्नेमा अलमल छ,’ उनले भने ।
२४ भदौको प्रदर्शनका क्रममा महानगर कार्यालयसहित १९ मध्ये १३ वटा वडा कार्यालयमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको र चा“डै सार्वजनिक गरिने उपप्रमुख निरालाले जानकारी दिइन् ।‘क्षतिको कुनै अनुमान लगाउन सकिने अवस्था छैन,’उनले भनिन्, ‘नसोचेको क्षति भएको छ ।’ उनका अनुसार आगजनीका कारण सिंगो भवन ध्वस्त भए पनि ‘रातो स्टिकर’ टाँस्नुपर्ने अवस्था भने छैन । मनमोहन प्राविधिक विश्वविद्यालयको विज्ञ टोलीले भवन परीक्षण गरेर मर्मतपछि प्रयोग गर्न मिल्ने निष्कर्ष दिएको छ । केही समयपछि इष्टिमेट निकालेर भवन मर्मतको काम शुरु गर्ने महानगरको योजना छ ।
अन्य महानगरको अवस्था के छ ? सम्बन्धित समाचार
