सुमनाको बहिर्गमनसँगै रास्वपाभित्र उकुसमुकुस

नख्खु कारागारमा रहेका सभापति लामिछाने जेलबाट बाहिरिएपछि उत्पन्न आलोचना र यही मेसोमा पूर्व सांसद तथा केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छोडेको सार्वजनिक घोषणा गरेपछि रास्वपा अशान्त बनेको छ ।

भाद्र ३१, २०८२

होम कार्की, जयसिंह महरा

With Sumana's exit, there was a ruckus within the RSP

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनको एउटा चरण सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भने यसको बाछिटा देखिएको छ ।

सहकारी ठगी तथा संगठित अपराधमा नख्खु कारागारमा रहेका सभापति रवि लामिछाने जेलबाट बाहिरिएपछि सामाजिक सञ्जालमा उत्पन्न जेन-जी पुस्ताको प्रतिक्रिया र यही मेसोमा पूर्व सांसद तथा केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छोड्ने सार्वजनिक घोषणा गरेपछि रास्वपा अशान्त बनेको छ । सुमनाको बहिर्गमनले पार्टीको प्रदेश कमिटी र प्रवासमा रहेका संगठनमा असन्तुष्टि बढाइदिएको छ भने कतिपय नेता तथा कार्यकर्ता पर्ख र हेरमा पुगेका छन् ।

सुमना पार्टी गतिविधिप्रति असन्तुष्ट भएको पार्टी सभापति जेलबाट निस्केको घटनाबाट हैन । पार्टीमा एक व्यक्ती एक जिम्मेवारी भन्ने माग उनले सुरु देखि नै उठाइरहेकी थिइन् । जसमा पार्टीले कुनै सुनवाइ गरिरहेको थिएन । आइतबारे उनले पार्टी छोडेको सार्वजनिक गर्दै लेखिन्, ‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।' उनको भनाइको संकेत भने रवि लामिछाने कारागारबाट निस्केको विषयमा पनि थियो । 

भदौ २४ गते हिंसात्मक प्रदर्शन बढ्न थालेकै बेला रास्वपाका केही समर्थक र कार्यकर्ताहरू  सभापति लामिछानेलाई नख्खु कारागारबाट निकाल्न कारागार प्रशासनलाई दबाब दिन पुगेका थिए । भीड निकै बढेपछि कारागार प्रशासन लामिछानेलाई निकाल्न बाध्य भएको थियो । अध्यक्ष लामिछानेलाई लिन कार्यवाहक उपसभापति डिपी अर्याल, सहमहामन्त्री विपिन आचार्य, सांसदहरू हरि ढकाल, गणेश पराजुली लगायतका नेताहरू नख्खु कारागारमा पुगेका थिए ।

कानुनविपरीत लामिछानेले निस्किएपछि जेन -जी पुस्ताले त्यसमा आपत्ति जनाए । विवाद बढ्दै गएपछि लामिछानेले सामाजिक सञ्जालमार्फत कारागार प्रशासनले जारी गरेको पत्र भन्दै सार्वजनिक गरे ।

‘देशमा अमन चयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका मा. रवि लामिछानेलाई थुना मुक्त गर्ने निर्णय गरिएको छ,’ जसमा लेखिएको थियो,‘मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुना मुक्ता गर्ने निर्णयानुसार जानकारी गराइन्छ । मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मन्जुर गर्न भएको श्रीमान् गृह सचिव ज्युको आदेशानुसार व्यहोरा अनुरोध छ ।’ लामिछानेले आधिकारिक पत्र भएको दाबी गरेपनि कारागार प्रशासनले यो पत्र आधिकारिक नभएको बताएको छ ।

लामिछानेको कारागारबाट निस्किएको खबर बाहिरिएसँगै देशैभरिका कारागार अशान्त बन्न पुगे । १३ हजार हाराहारीमा कैदी बन्दीहरु जेलबाट निस्किए । धादिङ र रामेछापमा त निस्कन लागेका कैदीबन्दी रोक्ने क्रममा गोली नै चलाउनुपर्‍यो । धादिङमा २ कैदी बन्दी र रामेछापमा ३ कैदीबन्दीको मृत्यु नै भयो । 

अध्यक्ष लामिछाने कारागारबाट निस्केको घटनाबाटै यो सबै भएको भन्ने विषय पार्टीभित्रै पनि उठ्यो । लामिछाने निस्केकै दिन बेलुका भएको जुम बैठकमा रास्वपाको केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला सदस्यले यस घटनाबारे आलोचना गरे । यही विषयमा केन्द्रीय सदस्य सुमना श्रेष्ठ र हरि ढकालबीच भनाभन नै भयो । सुमनाले पार्टी छोड्ने संकेत पाएपछि जेल फर्कनुअघि सभापति लामिछानेले भनेका थिए,– ‘आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन । म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु । तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईँको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु ।’ 

जेन–जीको आन्दोलनले रवि लामिछानेलाई स्वीकार नगरेपछि रास्वपा यतिबेला अप्ठ्यारोमा परेको छ । त्यसमाथि २४ गतेको प्रदर्शनीको तोडफोडमा जिल्लादेखि स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरूको संलग्नता रहेको भिडियोहरू सार्वजनिक भएपछि रास्वपाको आलोचना सुरु हुन थालेको छ । सार्वजनिक सम्पत्ति तोडफोडमा पार्टीकै नेता कार्यकर्ता सार्वजनिक भएपछि पार्टीले केही जिल्लामा कतिपयलाई कारबाही पनि गरेको छ ।  पोखरा महानगरपालिकाको कार्यालय र पोखराका मेयर धनराज आचार्यको घरमा आगजनीमा देखिएका पोखरा महानगरपालिका–१० का संयोजक चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का संयोजक भोजराज पौडेललाई निलम्बन गरेको रास्वपाले जनाएको छ । जेन–जीले आन्दोलनमा छिरेर तोडफोड र आगजनीमा संलग्न भएको भिडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगर कमिटीका सभापति विवेक भट्टराईले भने राजीनामा नै दिए ।  

रास्वपाका प्रवक्ता मनिषा झाका अनुसार पछिल्लो एक साताको अवधिमा झन्डै सय जनाले पार्टी छाडिसकेको बताए । तर उनले रास्वपाको प्रतिकुल समय भएपनि पार्टी संगठन नबिग्रिएको दाबी भने गरे । 

सुमनाको राजीनमा अनि हिंसात्मक प्रदर्शनमा पार्टीका नेता कार्यकर्ता संलग्न भएको प्रमाणहरू एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला रास्वपाको केन्द्रीय, प्रदेश र जिल्लादेखि प्रवाससम्म रहेका नेताहरूले पार्टीभित्र व्यक्तिवादी चरित्र हटाउन आवश्यक रहेको विषय उठाउन थालेका छन् । ‘सुमना श्रेष्ठ जीले पार्टी छोड्नुपर्ने अवस्था आउने कुरामा गम्भीर छानबिन हुनुपर्छ । दल व्यक्ति केन्द्रीय हुने वा  वा सिद्धान्त केन्द्रित हुने ?,’ कोशी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले जुम बैठकमा भनेका थिए,‘सुमना श्रेष्ठले पार्टी छोड्दा रुँदै गए । त्यो गम्भीर विषय हो । यसमा केन्द्रीय नेतृत्वको ध्यानाकर्षण होस् ।’ 

रास्वपाका केन्द्रीय सदस्य सोबिता गौतमले पार्टीका केही साथीहरूमा थोरै वैचारिक फरक मत देखिएको बताइन् । भनिन, ‘हामीले जरैदेखि पार्टीलाई मजबुत बनाउने काम  गरी नै हाल्छौँ । अहिले देखिएको अकस्मात् राजनैतिक घटनाक्रमलाई हेर्ने दृष्टिमा एकमत छौँ । ’ उनले थप केन्द्रीय नेताले पार्टी सम्भावना नदेखिएको बताउँदै भनिन, ‘हामी एउटा विचारले बाँधिएर पार्टीमा आउने हो । विचारले बाँधिएर आउँदै गर्दा कुनै कुनै घटनाक्रममा अलग अलग धारणा पनि हुन सक्छन् । यो पार्टीभित्रै राखेर एउटा विन्दुमा आइपुग्ने हो । यति छिट्टै सुमनाजीले छोडेर जानु हुँदैनथ्यो । अरू साथीहरूले छोड्ने भनेर केही संकेत दिनु भएको छैन । जजसले जे भने पनि विना दल राजनैतिक हुँदैन । पार्टीलाई सक्रिय र मजबुत नै बनाएर अगाडि लैजाने हाम्रो योजना छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully