१३ हजारभन्दा धेरै कैदीबन्दी भागे, कति फर्किए कतै छैन एकीकृत तथ्यांक

फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।

भाद्र २६, २०८२

कान्तिपुर टिम

काठमाडौँ — कान्तिपुरले १५ जिल्लाबाट संकलन गरेको विवरण अनुसार कम्तीमा १३ हजारभन्दा धेरै कैदीबन्दी जेलबाट भागेका थिए । तीमध्ये कति पक्राउ परे र कति बाहिर छन् भन्ने एकीकृत विवरण सम्बन्धित निकायसँगै छैन ।

मंगलबारको प्रदर्शनपछि देशैभरिका कारागारबाट भागेका हजारौँ कैदीबन्दीहरुमध्ये केही सय पक्राउ परेपनि जघन्य अपराधमा मुछिएका कैदीबन्दीका कारण समाज असुरक्षित बन्ने खतरा बढेको छ । कान्तिपुरले १५ जिल्लाबाट संकलन गरेको विवरण अनुसार कम्तीमा १३ हजारभन्दा धेरै कैदीबन्दी जेलबाट भागेका थिए । तीमध्ये कति पक्राउ परे र कति बाहिर छन् भन्ने एकीकृत विवरण सम्बन्धित निकायसँगै छैन । यसरी फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखन जस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।



कारागारबाट भागेका कैदीबन्दीमध्ये १४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ परेकाहरूलाई सम्बन्धित जेलमा पठाउने काम भइरहेको बताए । पक्राउ परेका र आफै फर्केका बाहेक अझै पनि हजारौंको संख्यामा कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।



सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्केका थिए । उनले आफूलाई कारागार प्रशासनले निस्कन बाध्य पारेको दाबी गर्दै आएका छन् । नख्खु कारागारबाट मात्रै १४ सय कैदी बन्दी फरार रहेका छन् ।



नख्खु कारागारका अलवा सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि ३३ सय कैदीबन्दी निस्केका थिए । यीमध्ये केही आफैँ फर्किएपनि ठुलो संख्यामा यहाँबाट भागेका कैदीबन्दी फरार नै छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पनि यहीबाट भागेका थिए । रौतहटको गौर कारागारबाट २ सय ६० कैदी भागेका थिए । ती मध्ये कर्तव्य ज्यान मुद्दाकै १ सय बढी कैदी छन् । गौरबाट भागेकामध्ये १३ जना बुधबार भारतको बैरगनियामा पक्राउ परेपनि अन्य फरार नै छन् ।



कारागारमा तोडफोड गरेर भाग्ने क्रम मंगलबार र बुधबार अबेरसम्मै चलेको थियो । मंगलबार साँझ प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि कास्की कारागारबाट १३ भारतीय र अरू चार विदेशी मुलुकका कैदीबन्दीसहित ७ सय ७३ कैदीबन्दी फरार भए । फरारमध्ये २ सय २० जना जबरजस्ती करणी, १ सय ३० जना कर्तव्य ज्यान, १ सय २८ जना लागूऔषध, २४ जना सहकारी ठगीका छन् ।



बुधबार बिहान चितवन कारागारबाट पनि ७ सय कैदीबन्दी भागेका थिए भने महोत्तरीको जलेश्वर कारागारमा रहेका ५ सय ७५ कैदीबन्दी भागे । कपिलवस्तु कारागारमा आगजनी गरी भागेका ४ सय ५९ कैदीबन्दीमध्ये ७४ जनालाई बुधबार सुरक्षाकर्मीले नियन्त्रणमा लिएपनि अन्य फरार नै छन् । पर्वत कारागारबाट ५ जना सहकारी ठगी, ७ जना जबरजस्ती करणी, २ कर्तव्य ज्यानका सहित १९ कैदीबन्दी भागेका छन् ।



सुनसरीको झुम्का कारागारबाट मंगलबार राति १५ सय ७५ जना कैदीबन्दी भागेका छन् भने सोलुखुम्बु कारागारमा आगजनी गरेर ८६ कैदीबन्दी भागेका छन् । सिन्धुली कारागारबाट पाँच सय हाराहारीमा कैदीबन्दी भागेका छन् भने बैतडी कारागारबाट ६२ जना । जसमध्ये ६ जना भने कारागार प्रशासनको सम्पर्कमा छन् । मकवानपुरको भीमफेदी कारागारबाट २ सय ६०.कैदीबन्दी पर्खाल भत्काएर भागे भने बाँके कारागारबाट ४ सय ३६ कैदीबन्दी फरार भए ।



कैलाली कारागारबाट भागेका ६ सय १२ जना कैदीबन्दी भागेका थिए भने डडेलधुरा कारागारबाट भागेका ८५ कैदीबन्दी । रुकुम पश्चिम कारागारबाट ८८, दाङ तुलसीपुर कारागारबाट १२४ जना भागेका छन् भने १६ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोलुखुम्बु र म्याग्दी कारागारबाट पनि कैदीबन्दी भागेका छन् ।



रुकुम पश्चिम कारागारबाट भागेका ८८ मध्ये ५० जना फर्किए पनि ३८ जना भने सम्पर्कविहीन नै छन् । बिहीबार मात्रै रुकुम पश्चिम जिल्ला प्रशासनले भागेका कैदीबन्दीलाई सम्पर्क आउन सूचना सार्वजनिक गरेको छ ।



मंगलबार राति नै जुम्लाको चन्दननाथ-६ स्थित कारागारबाट ३६ कैदीबन्दी भागेका थिए । ती मध्ये ४ जना फर्किएपनि ३२ जना फरार नै छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले उनीहरूको खोजी कार्य चलिरहेको बताए ।



कागारगारबाट भाग्ने क्रममा धादिङ र रामेछापमा त सुरक्षाकर्मीले गोली नै चलाउनुपरेको थियो । बिहीबार रामेछाप कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार धादिङ कारागारबाट भाग्न खोज्ने कैदीबन्दीमाथि पनि सेनाले गोली चलाउँदा दुईको मृत्यु भएको थियो । जसमा सात कैदीबन्दी घाइते भएका थिए ।



जेन-जी आन्दोलनको चार दिन भइसक्दा पनि जेलहरूमा कारागार व्यवस्थापन विभागले पूर्ण सुरक्षा कायम राख्न सकिसकेको छैन । बिहीबार पनि बाँकेस्थित कारागारमा कैदीबन्दी र प्रहरीबीच झडप भयो । जसका क्रममा एक कैदीमाथि गोली प्रहार भयो । जसबाट कैलाली घोडाघोडी नगरपालिका-२ का २४ वर्षीय उपेन्द्र बम घाइते भए । कारागार प्रशासनले कैदीबन्दीले गेट तोडेर भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताएको छ ।


कान्तिपुर

Link copied successfully