आइतबार खुलेका धेरैजसो कार्यालयले सरसफाइसँगै जेनतेन अत्यावश्यक सेवा दिने प्रयास गरे, केहीले सूचना टाँगेर केही दिनपछि सेवा दिने जनाए
कैलाली, भैरहवा, कञ्चनपुर र चितवन — भदौ २४ को प्रदर्शनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी कार्यालयले त्रिपाल टाँगेर सेवा सुरु गरेका छन् । आइतबार खुलेका कार्यालयले सरसफाइसँगै अत्यावश्यक सेवा दिने प्रयास गरे । जिल्ला प्रशासन, कैलालीले कर्मचारीको ल्यापटप र धनगढीको एरिस्टो स्कुलले कम्प्युटर सहयोग गरेपछि आइतबारबाट सेवा सुरु गरेको छ ।
प्रदर्शनका क्रममा आगजनीबाट प्रशासनका तीन भवन जलेका छन् । कम्प्युटर सञ्चालन गर्न अर्को भवनबाट बिजुलीको तार ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जनाए । आइतबार सरसफाइ गरेर केही नागरिकता वितरण पनि गरिएको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । कर्मचारी, प्रहरी र जेन–जी समूहको सहयोगमा सरसफाइ भइरहेको उनको भनाइ छ ।
प्रदर्शनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त रूपन्देहीको भैरहवास्थित भन्सार र आन्तरिक राजस्व कार्यालयले परिसरमा पाल टाँगेर आइतबारदेखि सेवा सञ्चालनमा ल्याएका छन् । प्रदर्शनकारीले बेलहिया नाकास्थित भन्सार र बर्मेली टोल चोकनजिक रहेको राजस्व कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
आगजनीका कारण भन्सार कार्यालय परिसरमा रहेका यात्रु सेवा शाखा, सुरक्षा गार्ड कक्ष, क्यान्टिन, राष्ट्रिय वाणिज्य बैंक र भन्सारको मूल भवनका दुई तला जलेका छन् । कार्यालयभित्रका फर्निचरसँगै, कम्प्युटर र महत्त्वपूर्ण दस्ताबेज नष्ट भएका छन् । आंशिक रूपमा बिहीबारबाट अति आवश्यक ग्यास, तरकारी, फलफूलका गाडीको जाँचपास सुरु गरिएको भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपानेले जनाए । त्यसयता भन्सार यार्डमा रहेका र भारतबाट मुलुक भित्रिन पर्खाइमा रहेका अत्यावश्यक उपभोग्य सामान बोकेका गाडीको जाँचपास भइरहेको उनले बताए ।
भवन क्षतिग्रस्त रहेको अवस्थामा पनि अनलाइनबाट हुने निवेदन, भुक्तानीलगायत कामलाई यथावत् राखेर बाँकी कामका लागि परिसरमा पाल टाँगेर सेवा सञ्चालनमा ल्याइएको न्यौपानेको भनाइ छ । ‘बाहिरबाट बिजुलीको तार तानेर ल्यायौं,’ उनले भने, ‘केही कार्यालयका र केही कर्मचारी साथीका ल्यापटप जम्मा गरेर सेवाग्राहीलाई सुविधा दिइरहेका छौं ।’ आइतबारदेखि राष्ट्रिय वाणिज्य बैंकको यात्रु शाखाबाट भारतबाट आएका सवारीसाधनलाई भन्सार सुविधा प्रदान गर्न थालिएको उनको भनाइ छ ।
भन्सार सुविधा सुरु गरिएपछि भारतबाट पर्यटक गाडी भित्रिन थालेका छन् । भन्सारको सेवा प्रभावित भएपछि सीमावर्ती सुनौलीदेखि नौतनवासम्म मालवाहक गाडीको लाम लागेको छ । जिल्ला प्रहरीको टोलीले मुचुल्का गरेर क्षति मूल्यांकन गरेको छ । स्थानीय सर्भर पूर्ण रूपमा जलेका कारण केही समस्या भए पनि कुनै वस्तुको अभाव नहुने गरी भन्सार नाका खुला भइसकेको उनले बताए ।
प्रदर्शनका क्रममा जिल्लास्थित निजी र सरकारी सम्पत्तिमा ठूलो नोक्सानी पुगेको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जनाए । निजी प्रतिष्ठानको क्षतिको विवरण तत्काल प्राप्त गर्न नसके पनि सरकारी र सार्वजनिक क्षेत्रमा भएको क्षतिको मुचुल्का संकलन भइरहेको उनको भनाइ छ ।
जिल्लामा क्षति नपुगेका कार्यालयबाट निर्बाध सेवा सञ्चालन भइरहेको छ । त्यसबाहेक जलाइएका कार्यालय परिसरमा पाल टाँगेर र टेबल थापेर सेवा सञ्चालनमा ल्याइएको उनले बताए । ‘सेवा दिन नसकेको अवस्थामा पनि सेवा लिन आउने सेवाग्राहीको अभिलेख राखेका छौं,’ उनले भने, ‘अवस्था सामान्य हुनेबित्तिकै कार्यालयमा डाकेर सेवा दिन निर्देशन दिएको छु ।’
जिल्लाको बुटवल र भैरहवाका सरकारी कार्यालय र निजी प्रतिष्ठानमा धेरै क्षति पुगेको छ । सोमबारसम्म सरकारी सम्पत्तिमा पुगेको क्षतिको विवरण तयार हुने पाण्डेले जनाए । जिल्ला अदालतले आइतबारबाट म्याद थप, जरुरी पक्राउ पुर्जीको स्वीकृति, पक्राउ पुर्जीको अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन र थुनछेकसम्बन्धी सेवा मात्र उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरमा आइतबार बिहान आगोले जलेका तार हटाएर नयाँ जडानको काम भइरहेको थियो । कम्प्युटर र ल्यापटप कामै नलाग्ने भएपछि कर्मचारी उपकरणको जोहो गरेर सेवा पुनः सुरु गर्नुपर्ने हतारमा थिए । आइतबार कार्यालय खुले पनि जिल्ला प्रशासनले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत सेवा दिन नसकिने बिहानै सूचना गरेको थियो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आगजनीले क्षति भएका कारण उक्त सेवा दिन नसकिने जनाएको हो ।
आगजनी र तोडफोडका कारण नगरपालिकासँगै वडा कार्यालयका भवनमा समेत ठूलो क्षति पुगेका कारण तत्काल सेवा दिन सकिने अवस्था नरहेको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ । ‘अहिले टुटफुट तथा नष्ट भएका भौतिक संरचना तथा सामग्रीको क्षतिको मुचुल्का भर्ने मूल्यांकन गर्ने कार्यका साथै सरसफाइको काम भइरहेको छ,’ शुक्लाफाँटा नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सबै कार्य सम्पन्न गरी सेवा प्रवाहमा सात दिन लाग्नेछ ।’ आगजनी र तोडफाडका कारण शुक्लाफाँटा नगरपालिका कार्यालयसँगै अधिकांश वडा कार्यालय पनि ध्वस्त भएका छन् ।
कृष्णपुर नगरपालिकाले पनि आइतबारदेखि सेवा सुरु गर्न सकेको छैन । वडा कार्यालयबाट जेनतेन सेवा सुरु भए पनि नगरपालिकाबाट तत्काल सेवा दिन सम्भव नरहेको नगर प्रमुख हेमराज ओझाले बताए । प्रदर्शनकारीबाट कञ्चनपुरमा चार दर्जनभन्दा बढी सरकारी तथा निजी घरमा आगजानी र तोडफोड भएको छ । जिल्ला प्रहरीका अनुसार ३० वटा सरकारी कार्यालय, विभिन्न राजनीतिक दलका नेताका १७ वटा घर र ४ वटा व्यापारिक प्रयोजनका घरमा आगजनी तथा तोडफोड भएको छ । कांग्रेस र एमालेको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ ।
बजार, यातायात र विद्यालय खुलेसँगै चितवनको जनजीवन लयमा फर्के पनि क्षतिग्रस्त सरकारी कार्यालयहरूमा आइतबार सेवाग्राही भने देखिएनन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट बजार, यातायात र विद्यालय खोल्न तथा सम्भव भएसम्मका कार्यालयबाट सेवा सुरु गर्न निर्देशन दिएको थियो ।
‘हामी कमसेकम नागरिकता दिने तयारीका साथ बसेका छौं । नागरिकताका लागि वडाको सिफारिस हुनुपर्यो । यहाँ वडा कार्यालयमा पनि क्षति भएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी अर्यालसँग भरतपुर महानगरपालिकाका केही वडाध्यक्षहरू के–कसरी काम गर्ने भनेरै छलफलमा थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले कम्तीमा सिफारिस र सामाजिक सुरक्षाको काम नरोकिने गरेर तत्कालै सेवा सुरु गर्न वडाध्यक्षसँग अनुरोध गरे ।
चितवनमा जिल्ला प्रशासन, मालपोत, अदालतलगायत भरतपुर महानगरपालिका कार्यालय भवन, वडा कार्यालय, अन्य पालिका र व्यावसायिक प्रतिष्ठान तथा निजी घरमा आगजनी, तोडफोड र लुटपाटसमेत भयो । जिल्ला प्रशासनका अनुसार वडा कार्यालय र प्रहरी युनिटसमेत गरेर जिल्लाभर ७९ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । निजी घर र व्यावसायिक प्रतिष्ठान १७ वटामा आगजनी भएको छ । ३१ वटा सरकारी कार्यालय सामान्य अवस्थामा रहेको प्रशासन कार्यालयले जनाएको छ ।
