न्यायाधीश विभाजित हुँदा बन्धक बन्यो संवैधानिक इजलास

२७ असारयता संवैधानिक इजलास अवरुद्ध छ, करिब चार सय मुद्दा विचाराधीन छन्, प्रधानन्यायाधीशले बुधबार राखेको पूर्ण बैठकमा संवैधानिक इजलास गठन प्रक्रियाको विषय नै उठेन।

भाद्र ५, २०८२

दुर्गा दुलाल

The constitutional bench became a hostage when the judges were divided

What you should know

काठमाडौँ — प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच मतभेद कायमै रहँदा बुधबार पनि संवैधानिक इजलास गठन हुन सकेन । न्यायाधीश गोला प्रक्रियाबाट छान्ने कि वरिष्ठताका आधारमा तोक्ने भन्ने विवादमा सहमति जुट्न नसक्दा इजलास गठन हुन नसकेको हो । साप्ताहिक पेसी सूचीमा चढेका सबै मुद्दालाई बिहानै स्थगित मुद्दाको सूचीमा प्रकाशन गरिएको थियो । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार फुलकोर्ट (पूर्ण बैठक) बोलाएका थिए । बैठकमा संवैधानिक इजलास गठन प्रक्रियासम्बन्धी विवादमा ‘आइसब्रेक’ हुने अनुमान न्यायिक वृत्तले गरेको थियो ।

बैठक सुरु भएलगत्तै उनले सर्वोच्च अदालत नियमावलीमाथि छलफल, राजस्व न्यायाधिकरणसम्बन्धी कानुन संशोधन र एकीकृत गर्न बनेको विधेयकमा परामर्श दिने, काठमाडौं जिल्ला अदालतमा मुद्दा व्यवस्थापन, कार्य बोझ र जनशक्ति व्यवस्थापन र निःशुल्क कानुन सहायतासम्बन्धी ऐन संशोधनको एजेन्डा पेस गरेका थिए ।

संवैधानिक इजलास गठन प्रक्रियाका विषयमा भने बैठकमा छलफल नभएको एक न्यायाधीशले बताए । ‘प्रधानन्यायाधीशबाट प्रस्तुत गरिएका चार एजेन्डामा मात्र छलफल भयो,’ उनले भने, ‘संवैधानिक इजलास गठन प्रक्रियाको विषय कसैले पनि उठाएन ।’ संवैधानिक इजलासबारे अहिले उत्पन्न विवादमा प्रधानन्यायाधीश र न्यायाधीशहरू मौन रहने अघोषित सहमतिजस्तो देखिएको ती न्यायाधीशले बताए ।

संविधानसँग बाझिएका वा विवाद भएका विषय सुनुवाइ गर्ने संवैधानिक इजलास सर्वोच्च अदालतको विशेष इजलास हो । संविधानसभाले संविधानमा ‘संवैधानिक अदालत’ नराखेर ‘संवैधानिक इजलास’ को व्यवस्था गरेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका वरिष्ठ चार न्यायाधीश रहन्छन् ।

संविधानको धारा १३७ (३) मा ‘सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिए संवैधानिक इजलास गठन हुने उल्लेख छ । संघ, प्रदेश र स्थानीय तहसम्बन्धी, निर्वाचन र मौलिक हकसम्बन्धी संविधानसँग बाझिएका विशेष मुद्दा मात्रै यो इजलासमा दर्ता हुन्छ ।

संवैधानिक इजलासले गरेको फैसला अन्तिम हुन्छ अर्थात् पुनरावलोकनमा लाग्दैन । संवैधानिक इजलासमा दर्ताबाहेक अदालतको आदेश र प्रधानन्यायाधीशले गम्भीर संवैधानिक व्याख्याको विषय देखे पनि यसमा जान्छ । संविधानको यही व्यवस्थाका आधारमा सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालन नियामावली– २०७२ बनाएको छ । 

The constitutional bench became a hostage when the judges were divided

संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने न्यायिक अभ्यास छ । बुधबार हेर्दाहेर्दै रहेका र अंग पुगेका (फैसलाका लागि योग्य भएका) मुद्दा सुनुवाइ गरिन्छ । शुक्रबार पहिलो सुनुवाइ गर्ने अभ्यास छ । इजलास गठन प्रक्रियाको विवादका कारण २७ असारयता इजलास गठन हुन सकेको छैन । इजलास गठन नभएको बुधबार बाह्रौं पटक हो । 

संवैधानिक इजलासका लागि न्याय परिषद्ले १४ न्यायाधीशको ‘रोस्टर’ बनाएको छ । त्यसमा वरिष्ठताका आधारमा क्रमशः प्रधानन्यायाधीश राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल छन् । ‘रोस्टर’ मा मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेल छन् । यही रोस्टरमा रहेका नामहरूबाट वरिष्ठताका आधारमा प्रधानन्यायाधीशले संवैधानिक इजलास गठन गर्न पाउँछन् । 

अध्यादेशमार्फत कानुन संशोधन गरेर विभिन्न संवैधानिक आयोगमा गरिएका ५२ पदाधिकारीको नियुक्तिलाई गत १८ असारको संवैधानिक इजलासले सदर गरेपछि गठन प्रक्रियाको विवाद उत्पन्न भएको हो । संवैधानिक निकायका पदाधिकारीको नियुक्तिबारे फैसला गर्दा प्रधानन्यायाधीश राउत अल्पमतमा परेका थिए । संवैधानिक इजलासको नेतृत्व गरेका राउतसँग न्यायाधीश नहकुल सुवेदीले मात्र समान राय राखेका थिए भने मल्ल, चुडाल र शर्माले फरक मत राखेका थिए । 

१२ साउनमा भएको सर्वोच्च अदालतको कार्ययोजनासम्बन्धी वार्षिक समीक्षा बैठकमा प्रधानन्यायाधीश राउतले ‘संवैधानिक इजलास गठनमा पनि अन्य मुद्दामा झैं गोला प्रक्रिया लागू गर्ने’ विषय प्रवेश गराए । त्यसपछि सर्वोच्चभित्र धुव्रीकरण सुरु भयो । समीक्षा बैठकमा वरिष्ठतम न्यायाधीश मल्लले त्यसमा छलफल हुनै दिइनन् । दुई दिनपछि १४ साउनमा प्रधानन्यायाधीश राउतले पूर्ण बैठक (फुलकोर्ट) डाकेर प्रस्ताव अघि सारे । उनको पक्षमा ९ न्यायाधीश उभिँदा विपक्षमा १० न्यायाधीश भए । त्यसपछि पनि यसलाई टुंगोमा पुर्‍याइएको छैन । 

सर्वोच्चका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलास नबस्नुपर्ने कुनै कारण नभएको बताउँछन् । ‘निहुँ खोजेर काम नगर्ने भए जति खोजे पनि हुन्छ । कानुन छ, न्यायाधीश छन्, मुद्दा छ, इजलास नबस्ने के छ कारण ?’ उनी भन्छन्, ‘न्यायाधीश मुद्दा हेर्नै बसेको होला नि । भएको मुद्दा नहेरे के उपाय खोज्ने ?’ संविधानले नै तोकिदिएको मापदण्डमा बसेर संवैधानिक इजलास चलाउनुपर्ने उनको धारणा छ । 

पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की संवैधानिक व्यवस्था हेरेर अघि बढ्नुपर्ने बताउँछन् । ‘संवैधानिक व्यवस्थाबाहेक अन्यथा गर्न मिल्दैन होला,’ उनी भन्छन्, ‘कसरी इजलास तोक्ने भन्ने प्रधानन्यायाधीशको विवेकको अधिकार हो । न्याय परिषद्को सिफारिसमा बनेको रोस्टरबाट तोक्नु राम्रो हो ।’ सर्वोच्चका पूर्वन्यायाधीश आन्दनमोहन भट्टराईले विगतमा अभूतपूर्व संकटको अवस्थाबाट गोला प्रक्रियामा आएको स्मरण गरेर इजलास गठन गर्नुपर्ने धारणा राखे । संवैधानिक इजलास गठन प्रक्रियाको अहिलेको विवादमा आपसी सल्लाहबाट निकास निकाल्न सकिने उनले बताए । 

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशहरूले अहिलेको विवाद समाधान गर्न तीन विकल्प सुझाएका छन् । उनीहरूका अनुसार पहिलो विकल्पमा न्याय परिषद्ले सर्वोच्चमा कार्यरत सबै न्यायाधीशलाई रोस्टरमा राखेर प्रधानन्यायाधीशले छान्ने (पिक एन्ड चुज) पद्धतिबाट इजलास गठन गर्न सकिन्छ । विगतमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यही शैलीमा इजलास गठन गरेका कारण विवादित भएको थियो । त्यसपछि वरिष्ठताका आधारमा इजलास तोक्ने भनी समाधान निकालिएको पूर्वन्यायाधीशहरू बताउँछन् । 

दोस्रो विकल्प भनेको गोला प्रक्रिया लागू गर्ने निर्णय न्याय परिषद्को बैठकबाट गराउने हुन सक्छ । तेस्रो विकल्प भनेको अहिलेकै जसरी वरिष्ठता क्रमबाट इजलास तोक्ने रहेको उनीहरू बताउँछन् । 

संवैधानिक इजलासमा मुद्दाको चाङ 

संवैधानिक इजलासमा नियमित रूपमा दर्ता भएका १ सय ९८ र क्षेत्राधिकारमा दर्ता भएर आएका ३० गरी २ सय २८ मुद्दा विचाराधीन छन् । २०७४ र २०७९ को निर्वाचनसँग जोडिएका करिब १ सय ७० थान मुद्दा पनि संवैधानिक इजलासमा छन् । तीमध्ये केही गम्भीर संवैधानिक विवाद र प्रदेश तथा संघका बीचमा विवाद भएका मुद्दा छन् । 

निर्वाचन क्षेत्रअनुसार बजेट विनियोजन हुने संसद् विकास कोष खारेज गर्नुपर्ने माग गरिएको रिट पनि संवैधानिक इजलासमा विचाराधीन छ । मधेश प्रदेश सरकारले प्रहरी, वन र निजामती कर्मचारीका विषयमा हस्तक्षेप गरेको भनी दायर गरेका मुद्दा पनि छन् । नगरपालिकाहरूले निर्माण गरेका ऐन र नियमावली तथा निर्देशिका बदर माग गर्दै दायर गरिएका मुद्दालाई संवैधानिक इजलासले किनारा लगाउन बाँकी छ ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully