आज देश दुनियाँमा के-के भयो ? 

प्रमुख प्रतिपक्षी दल माओवादीको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — उपसभामुखलाई हटाउन कांग्रेस-एमालेद्वारा हस्ताक्षर संकलन, विपक्षी दलहरुले प्रतिवाद गर्ने, महिलाको डिम्ब निकाल्न र भण्डारमा रोक लगाउने सर्वोच्चको आदेश, २० वाणिज्य बैंकमध्ये ८ वटाले व्यक्तिगत निक्षेपको ब्याजदर घटाए, गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइको नयाँ प्रस्तावमा हमास सहमतदेखि टप इन्ड टी–२० क्रिकेटमा नेपालको पहिलो जितसम्मका खबर आज चर्चामा रहे । 

००००

सत्ताघटक दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाएका छन्। सत्ता गठबन्धनसँग दुई तिहाइ बहुमत नभए पनि अन्य साना दलको सहयोग लिँदै सरकारले उनलाई पदबाट हटाउन लागेको हो । विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादीको आह्वानमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो । 

००००

सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले यसको प्रभावकारी निगरानी र नियमन गर्न पनि सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश जारी गरेको हो ।  

००००

२० वाणिज्य बैंकमध्ये ८ वटाले भदौमा एक वर्ष व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एउटाले सीमान्त दरमा बढाएको छ भने ११ वटाले स्थिर राखेका छन् । साउनको तुलनामा भदौंमा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर औसतमा घटेको छ । भदौका लागि वाणिज्य बैंकहरुको साधारण बचतमा न्यूनतम औसत २.७६ प्रतिशत र मुद्दतीमा अधिकतम औसत ३.८४ प्रतिशत छ । यस्तै, भदौका लागि एक वर्षे मुद्दती निक्षेपमा औसत न्यूनतम ३.४९ प्रतिशत र अधिकतम ३.५९ प्रतिशत छ ।

००००

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा सहमति जनाएको छ । प्यालेस्टिनी समूहको एक सूत्रले उक्त सहमतिको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिस्र र कतारद्वारा राखिएको यो प्रस्ताव गत जुनमा अमेरिकी दूत स्टिभ विटककले दिएको प्रस्तावको रुपरेखामा आधारित भएको बताइएको छ । 

००००

अस्ट्रेलियामा भइरहेको टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो विजय हात पारेको छ । पहिलो ३ खेलमा पराजित नेपालले मंगलबार डार्बिनको क्यालिज एरिना पाल्मरस्टोनमा बिग बासको टोली होबर्ट हरिकन एकेडेमीलाई ६६ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८० रन बनाएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully