रवि लामिछानेले थुनामुक्त हुन गरेको माग जिल्ला अदालतद्वारा अस्वीकार

लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

श्रावण २६, २०८२

दीपेन्द्र बडुवाल, घनश्याम गौतम

Ravi Lamichhane's request to be released from prison was rejected by the district court

What you should know

बुटवल — सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त हुन गरेको माग जिल्ला अदालत रूपन्देहीले अस्वीकार गरेको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको १० नम्बर इजलासले लामिछानेको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश गरेको हो । यसअघि आफैंले दिएको निवेदनमा तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका थिए । सोमबार तेस्रो पटक तोकिएको पेशी सुनुवाइका लागि न्यायाधीश सापकोटाको इजसालमा परेको थियो । 

लामिछानेले मुलुकी कार्यविधि फौजदारी संहिता २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई सोही दफाको ७१ बमोजिम थुनामुक्त हुनका लागि आग्रह गर्दै साउन १९ गते निवेदन दिएका थिए । उनीविरुद्ध संगठित अपराध सम्बन्धी कसुर पनि छ ।

त्यही दिन अदालत प्रशासनले प्रक्रिया अघि बढाएर न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले प्रक्रिया अघि बढेको निवेदकलाई जानकारी दिने आदेश गरेका थिए । त्यसपछि साउन १९ र २० गतेका लागि पेशी तोकिएको थियो । साउन २० गते न्यायाधीश प्रल्हादकुमार योगी र साउन २१ गते न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा परेको थियो ।

दुवै पेशी लामिछानेका कानुन व्यवसायी राजेन्द्र थापाले निवेदन दिएर स्थगित गराएका थिए । न्यायाधीश योगीले माघ १३ गते लामिछानेलाई १ करोड धरौटीमा छोड्ने आदेश गरेका थिए ।

सोमबार लामिछानेको तर्फबाट नारायण कँडेल, राजेन्द्र थापा र महेन्द्र पाण्डेले बहस गरेका थिए । सरकारी पक्षबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सोमाकान्त भण्डारी, जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरु दामोदर गौतम र हिरालाल भोलनले बहस गरेका थिए ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए । लामिछाने आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको छ । लामिछाने चैत २२ गते नै काठमाडौँबाट पक्राउ परेपछि त्यसयता जिल्ला कारागार भैरहवामा छन् । 

दीपेन्द्र

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully