मुख्यमन्त्री सिंहले घटनास्थल पुगेर परिवारका सदस्य र स्थानीय नागरिक अगुवासँग भेट गरेर विस्तृत जानकारी लिएका हुन् ।
राजविराज — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर स्थानीयको मृत्यु भएको घटनामा चासो लिएका छन् ।
उनले आइतबार मृतकको घर पुगेर घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।
उनले घटनास्थल पुगेर परिवारका सदस्य र स्थानीय नागरिक अगुवासँग भेट गरेर विस्तृत जानकारी लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री सिंहले घटनाको छानबिन गरी छिट्टै सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरेका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरे । गत मंगलबार राति तस्करी रोक्न प्रहरी निरीक्षक विरेन्द्रकुमार यादवको नेतृत्वमा पुगेका प्रहरीले गोली चलाउँदा स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ३६ वर्षीय लालुप्रसाद यादवको मृत्यु भएको थियो ।
