सप्तरी गोली काण्ड : पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो ।

श्रावण २२, २०८२

विद्यानन्द राम

Saptari shooting incident: The movement was suspended after agreeing on five points

राजविराज — प्रहरीको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका लालुप्रसाद यादवको मृत्यु भएपछि स्थानीयले बुधबारदेखि थालेको आन्दोलन स्थगित भएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली दिइएको छ भने घटना छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने र समितिको प्रतिवेदनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । 

‘सर्च’ तथा बरामदीको लागि खटिएका प्रहरी प्रहरीको नेतृत्व गर्ने प्रहरी निरीक्षक विरेन्द्रकुमार यादवलाई घटनाको छानबिन हुँदासम्म जिम्मेवारीबाट अलग गर्न तालुक निकायमा अनुरोध गर्ने सहमति भएको हो । आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी शव परिवारका सदस्य/आन्दोलनरत पक्षले बुझि अन्तिम संस्कार गर्ने सहमति भएको प्रजिअ दाहालले बताए ।    

गोप्य सूचनाका आधारमा मंगलबार राति तस्करी नियन्त्रण गर्न पुगेका प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेत रहेका यादवको मृत्यु भएको थियो । घटनापछि आफन्त र स्थानीयले बुधबार दिनभर राजविराजमा प्रदर्शन गरेका थिए भने साँझ गठन भएको संघर्ष समितिले माग सम्बोधन गर्न २४ घण्टे अल्टिमेटम दिँदै थप आन्दोलन चर्काउने चेतावनी दिएको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully