सप्तरी गोली काण्ड : प्रदर्शनकारीमाथि तीन राउन्ड अश्रुग्यास प्रहार

प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरुमाथि अश्रुग्यास हानिएको हो ।

श्रावण २१, २०८२

विद्यानन्द राम

Saptari shooting incident: Three rounds of teargas were fired at the protestors

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गरिरहेका प्रदर्शनकारीमाथि बुधबार दिउँसो अश्रुग्यास प्रहार भएको छ । 

मंगलबार राति तस्करी रोक्न त्यहाँ पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो । गोली लागेर अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएपछि बुधबार बिहानैदेखि आफन्त र स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले ज्यादती गरेको भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरुमाथि अश्रुग्यास हानिएको हो । प्रहरीले अश्रुग्यास हान्दा प्रदर्शनकारी भागाभाग भएको छ भने तीन/चार जनालाई चोट लागेर घाइते भएको प्रदर्शनकारीको भनाइ छ । 

एसपी गौतमकुमार केसीले जिल्ला प्रहरी कार्यालय अगाडि बनाइएको सुरक्षा घेरा ढुंगामुढा गर्दै प्रदर्शनकारीले तोड्न खोजेपछि तीन राउन्ड अश्रुग्यास प्रहार गरेको बताए । ‘ढुंगामुढा लागेर ४/५ जना पनि प्रहरी घाइते भएका छन्,’ उनले भने ‘अहिले अवस्था नियन्त्रणमा आइसकेको छ ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully