सौर्यले प्राविधिकलाई यात्रुसरह बिमा दिलाउने भएपछि परिवारको आपत्ति

‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई विमाबापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५० हजार अमेरिकी डलर (७० लाख रुपैयाँ हाराहारी) र अन्यलाई यात्रुले पाउने २० हजार अमेरिकी डलर (करिब २८ लाख रुपैयाँ) मात्र दिइने भएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।

श्रावण २३, २०८२

सुरज कुँवर

The family objected after Sourya insured the technician as a passenger

What you should know

काठमाडौँ — काठमाडौंमा एक वर्षअघि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक कर्मचारीको ‘क्षतिपूर्ति भुक्तानी’ विभेद गरिएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।

‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई विमाबापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५० हजार अमेरिकी डलर (७० लाख रुपैयाँ हाराहारी) र अन्यलाई यात्रुले पाउने २० हजार अमेरिकी डलर (करिब २८ लाख रुपैयाँ) मात्र दिइने भएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।

सौर्यको ‘अल्फा–माइक–इको’ रजिस्ट्रेसन नम्बरको सीआरजे विमान विस्तृत मर्मत (सी–चेक) का लागि पोखरा उड्ने (टेक अफ) क्रममा ९ साउन २०८१ मा दुर्घटनामा परेको थियो । को–पाइलट सुशान्त कटुवालसहित प्यासेन्जर बोर्डमा रहेका १८ जनाको ज्यान गएको थियो । उनीहरूमा अधिकांश सौर्यका प्राविधिक, इन्जिनियर थिए । क्याप्टेन मनीषरत्न शाक्यको भने उद्धार गरिएको थियो । मर्मतका लागि आवश्यक पर्ने जनशक्ति राखेर लैजाने ‘फेरी उडान’ अनुमति दिएर जहाज उडेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका को–पाइलट कटुवाल र अपरेसन इन्जिनियर महतोको परिवारलाई ५० हजार अमेरिकी डलर उपलब्ध गराइएको छ । अन्यका हकमा टिकट खरिद गरेका यात्रुले पाउने २० हजार अमेरिकी डलर लिन सौर्यको बिमा तथा कानुनको काम गर्ने एजेन्ट कम्पनी ‘प्रधान एन्ड एसोसिएट्स’ मार्फत दबाब आएको परिवारजनको भनाइ छ । त्यसमा १० जना मृतकको परिवारले बिमा रकममा आपत्ति जनाएका छन् ।

‘जहाज मर्मत गर्ने जिम्मेवारीमा पठाइएको मेरो भाइको बिमा क्षतिपूर्ति यात्रुसरह लैजान भनिँदै छ । हामी पीडितका लागि यो अर्को पीडा हो,’ मृतक दिलिप बर्माका दाजु कमलेश बर्माले कान्तिपुरसँग भने, ‘काममा उडेको मान्छेलाई कसरी यात्रु ठान्ने ? सरकार र नियमनकारी निकाय मूकदर्शक भए । एयरलाइन्सले पनि सघाएन । हामी न्यायका लागि कहाँ जाने ? यो ठगी भएन र ?’

नेपालको उड्डयन क्षेत्रमा तीन दशकदेखि प्राविधिकका रूपमा काम गरिसकेका दिलिप सौर्य एयरलाइन्समा क्वालिटी म्यानेजर (इन्जिनियर) का रूपमा कार्यरत थिए । ८ वर्षदेखि सौर्यमा काम गर्दै आएका ५८ वर्षीय दिलिपको जिम्मेवारी जहाजको मर्मत सम्भारमा गुणस्तर ठीक भए/नभएको हेर्ने थियो । पोखरा जाने बेला उनलाई सौर्यले क्रु मेम्बरसरह ‘मेन्टिनेन्स पर्सोनल’ को भूमिकामा पठाएको थियो । तर दुर्घटनापछि ‘प्रधान एन्ड एसोसिएट्स’ ले दिलिपकी ५१ वर्षीया पत्नी प्रीतिलाल कायस्थलाई बिमा रकम अधिकतम २० हजार अमेरिकी डलर तोकिएकाले हकदाबी गर्न २८ पुस २०८१ मा बोलाएको थियो ।

प्रीति श्रीमान् गुमाउनुपरेको पीडा बोकेर कहिले बिमा प्राधिकरण, कहिले सौर्य एयरलाइन्स त कहिले प्रभु इन्स्योरेन्स धाइरहेकी छन् । ‘२० हजार डलरमात्रै बिमाबापत बुझ्न बोलाएपछि ८ माघ ०८१ मा म भाइबुहारीलाई लिएर बिमा प्राधिकरण पुगें । तर, प्राधिकरणले छानबिन समितिको प्रतिवेदन नआई केही निर्णय नलिने भनेपछि हाम्रो गुहार रोकियो,’ दिलिपका दाजु कमलेशले भने । सरकारले गठन गरेको जाँच आयोगले तीन साताअघि प्रतिवेदन सार्वजनिक गरेको छ, जसमा सौर्य एयरलाइन्सको चरम लारपबाही औंल्याइएको छ ।

सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका रामकोटका एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर उद्धव पुरीका दाजु दीपकराज पुरीको पनि उस्तै गुनासो छ । ‘सौर्यको जहाजको मर्मतको प्राविधिक नेतृत्व मेरो भाइको काँधमा थियो । तर अहिले यात्रुले पाउने बिमा रकम बुझ्न दबाब आइरहेको छ,’ स्वयम्भूमा बाइक वर्कसप सञ्चालन गर्दै आएका दीपकले भने, ‘चित्त नबुझेर हामीले बिमा प्राधिकरणमा उजुरी दिएका छौं । निर्णयको पर्खाइमा छौं ।’

उद्धव सौर्यमा ७ वर्षदेखि कार्यरत थिए । उनले भारतको बैंगलुरुबाट एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ अध्ययन गरेका थिए । सौर्यअघि उनले नेपाल वायुसेवा निगममा तीन वर्ष काम गरेका थिए । ‘सौर्य एयरलाइन्सले उडानमा संलग्न कर्मचारीको बिमा ५० हजार डलरको गरेको छ । तर हामीलाई यात्रुसरह दिने भनेपछि आफन्तजन कानुनी लडाइँमा जानुपर्ने अवस्था आयो,’ दीपकले भने ।

सौर्यको जहाज दुर्घटनामा ललितपुर हात्तीवनका सुदिजलाल जोशीको पनि मृत्यु भएको थियो । उनी ३ वर्षदेखि सौर्यमा एरोनटिकल इन्जिनियरको भूमिकामा कार्यरत थिए । एयरलाइन्सकै कमजोरीले दुर्घटना भएको प्रतिवेदन सार्वजनिक भएकाले कानुनी लडाइँमा जाने तयारीमा रहेको सुदिजका मामा महेन्द्रभक्त श्रेष्ठले बताए । ‘हामी के गरौं, कसो गरौं भन्ने दोधारमा थियौं । ढिलै भए पनि एयरलाइन्सकै मुख्य कमजोरी रहेको भन्ने प्रतिवेदन आयो । अब हामी बिमालगायतका थुप्रै अन्यायविरुद्ध सामूहिक रूपमा न्यायिक लडाइँमा उत्रिन्छौं ।’

सौर्य एयरलाइन्सका नायब प्रबन्ध निर्देशक उमेश आचार्यका अनुसार १८ मध्ये ९ जनाको परिवारले बिमा रकम बुझेका छैनन् । हालको कुनै पनि कानुनले त्यसभन्दा बढी मागदाबी सुनिश्चित नगर्ने उनको भनाइ छ । ‘उहाँहरूको २० हजार डलरभन्दा बढी मागदाबी छ,’ आचार्यले भने, ‘हाम्रो नीतिअनुसार उहाँहरूको मागदाबी योग्य छैन ।’

अन्तर्राष्ट्रिय वार्सा महासन्धिअनुसार मृतकहरू कम्पनीका प्राविधिक कर्मचारी भएको र उनीहरू यात्रु नभई काममा गएकाले ककफिट त्रु सरह बिमाको हकदार भएको आफन्तजनको भनाइ छ । ‘वार्सा सम्झौताले मर्मत सम्भार गर्नेलाई क्रुका रूपमा व्यवहार गर्नुपर्छ भन्छ भन्ने मलाई थाहा छैन,’ नायब प्रबन्ध निर्देशक आचार्यले भने, ‘तर हवाई उडानका क्रममा ड्युटीमा रहने व्यक्ति जस्तै– अपरेसन इन्जिनियरले आफूलाई उड्ने क्रु भनेर दाबी गर्न सक्छ । यस घटनामा सन्तोष महतोको परिवारले क्रुसरह बिमा पायो ।’

मृतकहरू राजाराम आचार्य, नवराज आलेमगर, यज्ञप्रसाद पौडेल, आरिफ अब्दुल करिमका परिवारजनले बिमा रकमलगायत क्षतिपूर्तिमा असन्तुष्टि जनाएको सौर्यद्वारा जारी सूचीमा देखिन्छ । यसैबीच यस दुर्घटनामा नाति, छोरी प्रिजा खतिवडा र ज्वाइँ मनुराज शर्मा गुमाएका पत्रकार प्रकाश खतिवडाले पनि बिमालगायत क्षतिपूर्ति पूरा बुझेका छैनन् । उनले यस दुर्घटनाको न्यायिक छानबिनको माग गर्दै आएका छन् ।

सौर्यको जहाज गत वर्ष साउन ९ गते टेक अफका क्रममा काठमाडौं विमानस्थलभित्र दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्यको मात्रै जीवितै उद्धार भयो । को–पाइलट सुशान्त कटुवालसहित पछाडि प्यासेन्जर बोर्डमा रहेका १८ जनाको घटनास्थलमै ज्यान गएको थियो । उक्त विमानमा परिचारिका भने थिइनन् । त्यसमा मृत्यु हुने अधिकांश सौर्यका प्राविधिक, इन्जिनियर थिए ।

सौर्य एयरलाइन्स दुर्घटनासम्बन्धी अन्य समाचारहरू

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully