What you should know
काठमाडौँ — गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ यात्रुले ज्यान गुमाए । पाइलटको भने जीवितै उद्धार गरिएको थियो । दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।
प्रतिवेदनले दुर्घटनाको मुख्य कारणमा खराब मौसम, जहाजको इन्जिन वा अरू प्राविधिक समस्या नभई पाइलटको त्रुटिलाई औंल्याएको छ । विमानस्थलबाट ९ साउन २०८१ मा पोखराका लागि उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो ।
प्रतिवेदनले नेपालमा आन्तरिक उडानमा रहेका वायुसेवा कम्पनीको उडान सुरक्षामा शंका गर्नुपर्ने थुप्रै विषयलाई पनि इंगित गरेको छ । त्यसमाथि नियमनकारी निकायमा दक्ष जनशक्तिको अभाव देखिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले सुझाएका सिफारिस पनि राम्ररी पालना भएको देखिँदैन । सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको छैन ।
सौर्य एयरलाइन्स कम्पनीको आर्थिक अवस्था पनि गम्भीर विषय रहेको यस घटनाले देखाएको छ । यस दुर्घटनाले नेपाल सरकार, नियमनकारी निकाय र सरोकारवालालाई एउटा सन्देश दिएको छ, त्यो हो– ठूला विमानस्थल पूर्वाधार, जेट विमान र हिरोगिरी देखाउने पाइलटले मात्रै उडान सुरक्षा सुनिश्चित गर्दैनन् । उडान सुरक्षा विकास गर्न कुनै पनि निकायको तल्लो तहदेखि माथिल्लो तहसम्म उडान सुरक्षालाई संस्कृतिका रूपमा विकास गर्नुपर्छ । कार्गो उडान होस् वा फेरि फ्लाइट हरेकमा अक्षरशः नियम पालना हुनैपर्छ ।
![What is in the plane crash report? [Video Explainer]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/souryaplanecrashtia31-2472024023816-1000x0-2272025121547-1000x0.jpg&w=1001&h=0)