दलहरूको मूल्यांकन निर्वाचन आयोगले हैन जनताले गर्छन् : गौतम

'आयोगले चुनाव गराउने, राजनीतिक दलहरूको दर्ता गर्ने, सूचना अद्यावधिक गर्ने र अभिलेख राख्ने हो । जनताको अधिकार कुल्चेर दलहरूलाई मूल्यांकन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन'

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

The evaluation of the parties is not done by the Election Commission but by the people: Gautam

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन आयोगको काम राजनीतिक दलहरूको मूल्यांकन गर्ने नभएको बताएकी छन् । निर्वाचन आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि ल्याएर संविधान र कानुन कुल्चिन खोजेकाे पनि गौतमको भनाइ छ । 

प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार आह्वान गरेको कांग्रेस र एमाले बाहेकका राजनीतिक दलको बैठकमा सहभागी भएपछि सांसद गौतमले निर्वाचन आयोगले नयाँ र साना दलहरूलाई अप्ठ्यारो पार्ने षडयन्त्र गरिरहेको बताइन् । 

स्वमूल्यांकन कार्यविधिका नाममा दुई राजनीतिक दलबाहेकलाई नियन्त्रण गर्न खोजेर निर्वाचन आयोगले संविधान र कानुनको उलंघन गर्न गइरहेको गौतमको भनाइ थियो । 'निर्वाचन आयोगले बनाएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२ का आडमा पार्टीहरूलाई नियन्त्रण गर्न खोजेको देखिन्छ । राजनीतिक दलहरूलाई नियन्त्रण गर्ने प्रावधान कार्यविधिमा राखिएको छ । स्वमूल्यांकन गर भन्ने र तर कार्यविधिमा भने कर्मचारीले पार्टीको मूल्यांकन गर्ने व्यवस्था राखिएको छ,' उनले भनिन्, 'कांग्रेस र एमालेका नेताहरूले मुलुकमा दुई दलीय व्यवस्था लागु गर्नुपर्छ भनेर अभिव्यक्ति दिनु र आयोगले दुई दल बाहेकलाई नियन्त्रण गर्ने कार्यविधि ल्याउनु शंकास्पद छ ।'

राजनीतिक दलसम्बन्धी ऐनले दिएको प्रत्यायोजित अधिकारको दुरुपयोग गरेर निर्वाचन आयोगले सत्तारुढ दलहरूको इसारामा नयाँ र साना तथा विपक्षी दलहरूलाई नियन्त्रण गर्न खोजेको गौतमको भनाइ थियो । 'सत्तारुढ दलहरूलाई मजबुद बनाउँदै विपक्षी, नयाँ र अन्य दलहरूलाई नियन्त्रणमा राख्ने र अप्ठ्यारो सिर्जना गर्ने गरी निर्वाचन आयोगबाट चुनौती खडा गर्न लागेको देखियो । संविधानले राजनीतिक दलहरूलाई मूल्यांकन गर्ने अधिकार जनतालाई दिएको छ, निर्वाचन आयोगलाई हैन,' उनले भनिन्, 'आयोगले चुनाव गराउने, राजनीतिक दलहरूको दर्ता गर्ने, सूचना अद्याधिक गर्ने र अभिलेख राख्ने हो । जनताको अधिकार कुल्चेर दलहरूलाई मूल्यांकन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन ।'

सत्तारुढ कांग्रेस र एमाले बाहेकका राजनीतिक दलले निर्वाचन आयोगले अघि सारेको कार्यविधिका सम्बन्धमा साझा धारणा बनाउने गौतमको भनाइ थियो । उनले कार्यविधि बनाउने ऐनले दिएको अधिकार दुरुपयोग भएको सम्बन्धमा निर्वाचन आयोगलाई संसद्ले निगरानी गर्नुपर्ने पनि बताइन् । 

निर्वाचन आयोगले अघि सारेको कार्यविधिमा दलहरूको मूल्यांकनदेखि सञ्चालनसम्म गर्ने काम, कर्तव्य र अधिकार निर्वाचन आयोगका सचिव संयोजक रहेको समितिलाई तोकिएको छ । कार्यविधिमा समितिलाई प्राप्त काम, कर्तव्य र अधिकारबारे भनिएको छ, 'राजनीतिक दलको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने, यस कार्यविधिबमोजिम दलले आफ्नो स्वमूल्यांकन गरे/नगरेको सम्बन्धमा छानबिन गर्ने वा गराउने ।'

त्यस्तै, उक्त समितिले छानबिनको आधारमा कुनै दलको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने भए आफ्नो रायसहित सम्बन्धित आयुक्त समक्ष सिफारिस गर्ने अधिकार दिइएको छ । मूल्यांकनका सम्बन्धमा कुनै दलले सहयोग माग गरेमा आवश्यक सहयोग गर्ने/गराउने भनिएको छ । मूल्यांकनका सम्बन्धमा पर्न आएको गुनासो तथा उजुरी उपर छानबिन गर्ने/गराउने व्यवस्था पनि उक्त समिमिको कर्तव्य भनिएको छ ।

कान्तिपुर

Link copied successfully