संसदीय समितिले पास गरिसकेको कुरा नियतवश परिवर्तन अक्षम्य हो : गृहमन्त्री लेखक

'कसैको मनसायपूर्वक कसैको नियतले भएको छ भने अत्यन्तै सिरियस कुरा हो, एउटा पार्लियामेन्ट्री कमिटीले पास गरिसकेको कुरा नियतवश परिवर्तन गरेको हो भने अक्षम्य कुरा नै हो, त्यसलाई त्यही ढङ्गले हेर्नुपर्छ ।'

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

It is unforgivable to deliberately change what has been passed by the parliamentary committee: Home Minister Author

What you should know

काठमाडौँ — संसदीय समितिले पारित गरेको कुरा नियतवश परिवर्तन गर्नु अक्षम्य भएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । संघीय निजामती विधेयकमा राखिएको दुई वर्षको 'कुलिङ अफ पिरियड' को व्यवस्था खण्डित हुने प्रावधान राखिएको सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समिति समक्ष गृहमन्त्री लेखकले उक्त कुरा बताएका छन् । 

'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति'ले सभामुखलाई मंगलबार प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा गृहमन्त्री लेखकले समितिसमक्ष राखेका धारणा उल्लेख छन् । 

राज्यव्यवस्था समितिले निजामती सेवा र अन्य सरकारी सेवाबाट राजीनामा वा अनिवार्य अवकाशमा गएका कर्मचारीले २ वर्षसम्म संवैधानिक, सरकारी, कूटनीतिक नियुक्ति नपाउने 'कुलिङ अफ पिरियड' को व्यवस्था राखेको थियो । उक्त व्यवस्थाविरुद्ध मुख्यसचिव, सचिवहरू लागेका थिए । समितिको प्रतिवेदन लेखनको क्रममा उक्त व्यवस्था खण्डित हुने प्रावधान पनि राखिएको थियो । त्यसरी उक्त व्यवस्था राख्नु गम्भीर रहेको गृहमन्त्री लेखकले बताएका छन् । 

गृहमन्त्री लेखकले भनेका छन्, 'यस विषयमा योचाहिँ त्रुटि भयो जसका लागि छानबिन गरिरहनु भएको छ । यो मनसायपूर्वक वा मानवीय त्रुटि हुनसक्छ अथवा मनसायपूर्वक कसैले गरेको पनि हुनसक्छ । यो ड्राफ्टिङ गर्ने जिम्मा कसको हो ? यो त्रुटिलाई दुईवटा कुरा गर्नुपर्‍यो एउटा कस्तो प्रकृतिको र प्रकारको हो भन्ने छुट्टाउनु पर्‍यो र तदनुरूप जानुपर्‍यो । कसैको मनसायपूर्वक कसैको नियतले भएको छ भने अत्यन्तै सिरियस कुरा हो । एउटा पार्लियामेन्ट्री कमिटीले पास गरिसकेको कुरा नियतवश परिवर्तन गरेको हो भने अक्षम्य कुरा नै हो । त्यसलाई त्यही ढङ्गले हेर्नुपर्छ ।'

कान्तिपुर

Link copied successfully