पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ ।
What you should know
काठमाडौँ — लामो समयपछि मधेशमा वर्षा, ६६ प्रतिशत खेतमा रोपाइँ, निर्मला पन्त प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन, बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन ल्याइँदैन : मन्त्री चौरसिया, ऐनापहरामा बस दुर्घटना : घाइते ५ जना घाइतेको उद्धार, २ जना गम्भीरदेखि नेपालका रवीन्द्र ढाँट एमएफएन बान्टमवेट च्याम्पियनसम्मका खबर आज चर्चामा रहे ।
००००
लामो समयपछिको वर्षाले सर्लाहीका दक्षिणी क्षेत्रका किसानलाई खुसी बनाएको छ । शनिबार र आइतबार पानी परेपछि यहाँका किसान धान रोप्न व्यस्त छन् । यसअघि साउनको दोस्रो हप्तासम्म पानी नपर्दा अधिकांश किसानका खेत बाँझै थियो । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार ४० हजार हेक्टरमा धान खेत हुने गरेकोमा अहिलेसम्म ६६ प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ । शनिबार र आइतबार मधेशका लगभग सबै जिल्लामा पानी परेको छ ।
००००
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन् । आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
००००
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी काननु नल्याइएको बताएका छन् । नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन् । सरकारले 'गलत' सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानुन संशोधन गर्न लागेको मन्त्री चौरसियाको दाबी छ ।
००००
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । पाँचमध्ये दुई जना घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए । गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।
००००
भारतीय प्रतिस्पर्धीलाई हराउँदै नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका छन् । शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका हुन् । रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।
