नेपालका रवीन्द्र ढाँट एमएफएन बान्टमवेट च्याम्पियन

भारतीय च्याम्पियन कोरेनको पाँच जितको शृंखलामा पूर्णविराम लगाउँदै रवीन्द्रले आफ्नो प्रोफेसनल रेकर्ड ८–१ पुर्याए।

श्रावण १८, २०८२

वसन्तप्रताप सिंह

Ravindra Dhant MFN Bantamweight Champion of Nepal

बझाङ — भारतीय प्रतिस्पर्धीलाई हराउँदै नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बनेका छन् । शनिबार राति भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियन बनेका हुन् । रवीन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।

मिक्स मार्सल आर्ट्स (एमएमए) मा आक्रामक फाइटिङ र रेस्लिङको नामले परिचित ढाँटले तेस्रो राउन्डमा कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् । ढाँटले गरेको लगातारको प्रहारपछि कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए ।

यस जितसँगै रवीन्द्रको प्रोफेसनल रेकर्ड ८–१ पुगेको छ । भारतीय च्याम्पियन रहेका कोरेनको लगातार पाँच पटकको जितलाई रवीन्द्रले पूर्णविराम लगाएका हुन् । शक्तिशाली रेस्लिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रको शान्त संयम र कुशल रणनीतिका अगाडि टिक्न सकेनन् ।

रवीन्द्रको जितपछि रंगशाला उत्साहले भरिएको थियो । पिजरमाथि नेपाली झन्डा फहराइएका थिए । बझाङको बित्थडचिर गाउँपालिकाका रविन्द्रको सफलतामा उनका समर्थकहरूले सामाजिक सञ्जालमा खुसियाली व्यक्त गरेका छन् । उनीलाई प्रधानमन्त्री केपी ओलीले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । गायिका रचना रिमालसहित विभिन्न क्षेत्रका सेलिब्रिटीहरूले उनको खेलको प्रशंसा गर्दै बधाई दिएका छन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully