गाडीको अगाडिको भाग दवेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास हुँदै, गाडीमा अन्य यात्रु रहे/नरहेको यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
गोरखा — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । पाँचमध्ये दुई जना घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए ।
गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।
गाडीको अगाडिको भाग जमिनमा दबेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको उनले बताए । गाडीमा अन्य यात्रु सवार रहे/नरहेकोबारे यकिन भइनसकेको पनि सुवेदीको भनाई छ । ‘क्रेनको सहायताका वस निकाल्ने प्रयास गर्दै छाौ, गाडी भित्र अन्य यात्रु रहे/नरहेको यकिन भइसकेको छैन,’ उनले भने ।
गोरखाबाट नारायणघाटतर्फ जाँदै गरेको बा २ ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४ बजेतिर ऐनापहरामा दुर्घटना भएको थियो । बस सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।
![Bus accident in Ainapahara: 5 injured rescued, 2 seriously [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/bus-pic-0382025013047-1000x0.jpg&w=1001&h=0)